logo
२०८१ बैशाख ६ बिहीवार



कोशी अस्पतालका २७ काे बिदाइ, भुल्के सङ्क्रमण करिब निस्तेज

स्वास्थ्य |
प्रदेश |


कोशी अस्पतालका २७ काे  बिदाइ, भुल्के सङ्क्रमण करिब निस्तेज


नवराज कट्टेल
विराटनगर, जेठ २२ गते । कोशी अस्पताल विराटनगरअन्तर्गत कोभिड–१९ उपचार केन्द्रबाट बिहीबार २७ जना कोरोना भाइरसमुक्त भएसँगै उदयपुरको भुल्के सङ्क्रमणको अन्त्य भएको छ ।
गत वैशाख ५ गते उदयपुरको त्रियुगा–३, भुल्केमा भेटिएका १२ जना सङ्क्रमितमध्ये बाँकी रहेका एक जनाको डिस्चार्ज भएसँगै भुल्के सङ्क्रमणको निदान भएको हो ।

विराटनगर–१७ घर भई भुल्केस्थित मस्जिदमा रहेको अवस्थामा जमाती समूहका ५७ वर्षीय कासिम मियाँले ४८ दिनपछि कोरोना भाइरसलाई परास्त गर्नुभएको हो । उहाँको डिस्चार्जसँगै भुल्के सङ्क्रमणको अन्त्य भएको प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।

डिस्चार्ज भएका २७ जनामध्ये उदयपुरका तीन जना रहेका छन् । भुल्केका यसअघि २७ जनाले कोरोना परास्त गरिसक्नुभएको छ । अस्पतालमा एक महिलासहित दुई जना अझै उपचाररत रहे पनि जेठ ९ गतेपछि भुल्के क्षेत्रमा नयाँ सङ्क्रमित नभेटिएको हो ।

मन्त्री घिमिरेले कोरोना सङ्क्रमणको उद्गम थलो मानिएको भुल्केलाई काेराेनामुक्त बनाउन सफल बनाउनुका पछाडि कन्ट्याक्ट ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्ट प्रणाली रहेकाे बताउनुभयो । उहाँले अहिले नै सङ्क्रमितलाई घरमा छोड्न सक्ने अवस्था नरहेकोले प्रदेश १ सरकारले १२ सय शय्याको आइसोलेसन अस्पताल तयार पारिरहेको बताउनुभयो । पूर्वाञ्चल विश्वविद्यालयको गोठ गाउँस्थित मेडिकल कलेजलाई समेत बिहीबारदेखि सञ्चालनमा ल्याइएको मन्त्री घिमिरेले बताउनुभयो ।

कोभिड–१९ उपचार केन्द्रबाट झापाका सात, मोरङका एक महिलासहित छ जना, सुनसरीका चार जना, धनकुटाका २ महिलासहित चार जना, खोटाङका एक जना र सप्तरीका २ जना डिस्चार्ज भएका हुन् । पछिल्लो लगातारको दोस्रो रिपोर्टमा कोरोना भाइरस नेगेटिभ देखिएपछि उहाँहरूलाई डिस्चार्ज गरिएको अस्पताल व्यवस्थापन प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिनभयो ।
कोभिड–१९ उपचार केन्द्रमा उदयपुरका एक, झापाका ८, सोलु एक, सङ्खुवासभाका २ र मोरङका तीन जना गरी १५ जना उपचाररत रहेका छन् । बिहीबार मात्रै प्रदेश १ मा १६ जनामा कोरोना भाइरस पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २०१ पुगेको मन्त्री घिमिरेले जानकारी दिनुभयो ।

डिस्चार्ज हुनेहरूमा उदयपुरका कविरा खातुन, सविर अली र राकेश नेपाली, झापा केचनकवलका तैयव आलम, नर आलम, सनवर मियाँ, सनवाज मियाँ, फिरोज मियाँ, इम्तिया आलम र मुस्ताफिक आलम रहनुभएको छ । यसैगरी, मोरङका रतुवामाईका जफर मियाँ, ममताज आलम, पथरीका रमेश कार्की, विराटनगरका रिन्कु सहनी, आनन्दकुमार मेहता र कासिम मियाँ रहनु भएको छ ।
सुनसरी गढी गाउँपालिकाका गोविन्द चौधरी, इटहरी–२ का निमाङ राई, इनरुवा–२ का बिमल रेग्मी र धरानका अरबिन श्रेष्ठ हुनुहुन्छ ।

यसैगरी सप्तरीका रमन कुमार साह र रमदुल्ला मिया, धनकुटाका गणेश बुढाथोकी, बद्री गुरुङ, निशा थापा मगर र शीला लिम्बू रहनुभएको छ । खोटाङका दीपेन्द्र राई पनि कोरोनालाई परास्त गरी डिस्चार्ज हुनुभएको छ ।
डिस्चार्जपछि स्वास्थ्यकर्मीसमेत रहनुभएकी धनकुटाकी शीला लिम्बुले अस्पतालमा रहँदा सुरक्षित रहेको महसुस गरेको बताउनुभयो । उहाँले आफू स्वास्थ्यकर्मी रहेका कारण उपचारमा समेत संलग्नता जनाउन पाउनु सौभाग्य भएको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?