logo
२०८० चैत्र १६ शुक्रवार



स्याङ्जाका पाँच सङ्क्रमित भारतबाट आएका थिए

प्रदेश |


स्याङ्जाका पाँच सङ्क्रमित भारतबाट आएका थिए


अर्जुन काफ्ले
स्याङ्जा, जेठ २० गते । विश्वभर कोरोनाका भाइरसको महामारी फैलिरहँदा स्याङ्जामा पाँच जना कोरोना सङ्क्रमित थपिएका छन् ।  चापाकोट नगरपालिका घर भई नगरपालिकाकै क्वारेन्टाइनमा बस्दैआएका २२, २६, ३२ र ४० वर्षका पुरुषमा कोरोना सङ्क्रमण भेटिएको हो ।

यस्तै, बिरुवा गाउँपालिकाका २० वर्षीय पुरुषमा पनि सङ्क्रमण देखिएको हो । भारतबाट आएका पाँच जनामा सङ्क्रमण भेटिएसँगै स्याङ्जामा सङ्क्रमितको सङ्ख्या १२ पुगेको जिल्ला स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले बताउनुभयो ।

यसअघि वालिङका पाँच जनामा र गल्याङका २ जनामा कोरोना सङ्क्रमण भेटिएको थियो । चापाकोट र बिरुवामा सङ्क्रमित भेटिएकाहरू भारतका विभिन्न ठाउँबाट सुनौली आएर सुनौलीबाट तीन वटा गाडीमा आएका थिए ।

एक जिपमा आएका छ जनामध्ये चापाकोटको एक जनामा सङ्क्रमण भेटिएको हो भने एक बसमा आएका २८ जनामा बिरुवाको एक जनाको सङ्क्रमण भेटिएको हो ।
बिरुवाको सङ्क्रमितसँगै पाँच पालिकाका भारतमा बस्दैआएका नागरिक आएका थिए । यस्तै, जिल्लाका चार पालिकाका एक बसमा ४१ जना आएकोमा चापाकोटका तीन जना सङ्क्रमित भेटिएका शर्माले जानाकारी दिनुभयो ।

सङ्क्रमित पाँचै जनालाई कालिका कोरोना आइसालेसन अस्पतालमा राखिएको शर्माले जानकारी दिनुभयो ।
भारतबाट आउनेमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै कालिका सामुदायिक अस्पताललाई आइसोलेसन अस्पताल बनाएको प्रजिअ गङ्गाप्रसाद क्षेत्रीले बताउनुभयो ।
४६ बेडको आइसोलेसन अस्पताल बनाएको बताउँदै क्षेत्रीले क्वारेन्टाइनमा रहेको सङ्क्रमितलाई अस्पतालमा ल्याउने बताउनुभयो ।
श्रोत र साधनले पुगेसम्म कालिकामा उपचार गर्ने बताउँदै क्षेत्रीले भेन्टिलेटरमा राख्नुपर्ने सबैलाई पोखरा लगिने बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?