logo
२०८१ बैशाख ८ शनिवार



सघन उपचार कक्ष निर्माण गर्न बजेट निकासा

स्वास्थ्य |


सघन उपचार कक्ष निर्माण गर्न बजेट निकासा



अमरराज नहकी
तनहुँ, जेठ १९ गते । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा दमौली अस्पतालमा सघन उपचार (आइसियु) कक्षको निर्माण सुरु भएको छ । प्रदेश सरकारबाट एक करोड ६९ लाख रुपैयाँ बजेट निकासा भएकाले सोमबारबाट कक्ष निर्माण कार्य सुरु गरिएको दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले गोरखापत्रलाई जानकारी दिनुभयो ।

कोरोना भाइरस (कोविड–१९) सङ्क्रमित बिरामीको आपतकालीन उपचारका लागि सघन उपचार कक्ष निर्माण गर्न लागिएको हो । तनहुँमा पहिलो पटक आइतबार एक व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) को सङक्रमण देखिएको छ । भारतबाट आई क्वारेन्टाइन बसेका रिसिङ गाउँपालिकाका २८ वर्षीय एक पुरुषमा कोरोना सङ्क्रमण देखिएको थियो ।

जेठ १० गते आई व्यास नगरपालिका –१, विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टाइनमा बसेका ती व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । दमौली अस्पतालमा सघन कक्ष नहुँदा बिरामीलाई उपचारको लागि तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा रहेको आइसोलेसन कक्षमा राखी उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?