logo
२०८० चैत्र १६ शुक्रवार



कोरोनाबाट पहिलो मृतकका शिशुसहित परिवार डिस्चार्ज

स्वास्थ्य |


कोरोनाबाट पहिलो मृतकका शिशुसहित परिवार डिस्चार्ज


मधुसुधन तिमल्सिना
काभ्रे, जेठ ९ गते । कोरोना भाइरसको सङक्रमणबाट नेपालमा पहिलो मृत्यु भएकी महिलाको परिवार डिस्चार्ज भएका छन् । धुलिखेल सामुदायिक अस्पतालमा उपचारत उनीहरूको अवस्था सामान्य रहेपछि अस्पतालले शुक्रबार डिस्चार्ज गरेको जनाएको छ ।
धुलिखेल अस्पतालका प्रशासकीय अधिकृत डा. रमेश माकजूले मृतकको बच्चा, श्रीमान र सासूलाई डिस्चार्ज गरिएको जानकारी दिनुभयो । नवजात शिशुमा जण्डिस र राता बिमिरा उठेको भएपनि बाल रोग विशेषज्ञबाट उपचार गराएपछि निको भएको माकजूले जानकारी दिनुभयो ।
कोरोनाका कारण मृत्यु भएपछि उनीहरूको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको थियो । पछि पुनः बालकको स्वाब परीक्षण गरिएको र त्यसमा पनि रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको धुलिखेल अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा थप एक हप्ता सिन्धुपलाञ्चोक जिल्लाको क्वारेन्टाइनमा राख्नुपर्ने र पुनः आरडीटी परीक्षण गर्नुपर्ने सुझाव दिइएको छ । आरडीटी परीक्षणमा पोजेटिभ देखिए मात्र पीसीआर गरिने अस्पतालले जनाएको छ ।
सिन्धुपलाञ्चोक जिल्लाको बाहृबिसे नगरपालिकाकी महिलाको उपचारका क्रममा जेठ १ गते राति साढे नौ बजे मृत्यु भएको थियो । सुत्केरी महिलाको मृत्युपश्चात कोरोना परीक्षण गर्दा उनीमा कोरोना भाइरसको पोजेटिभ देखिएको थियो । मृत्युपछि परिवारलाई आसोलेसन वार्डमा राखेर उपचार गराएको थियो भने मृतकको उपचारमा संलग्न चिकित्सक, नर्स, पारामेडिकलगायत गार्डलाई समेत क्वारेन्टिनमा राखिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?