logo
२०८० चैत्र १६ शुक्रवार



नेपाली श्रमिकको ‘एकता र उपलब्धि’को उत्सव

विचार/दृष्टिकोण |


नेपाली श्रमिकको ‘एकता र उपलब्धि’को उत्सव


 केपी शर्मा ओली


स्वदेश तथा विदेशमा रहनुभएका श्रमजीवी दिदीबहिनी तथा दाजुभाइ,
मे दिवस २०२० को अवसरमा हार्दिक शुभकामना ।
बितेका १ सय ३१ वर्षदेखि औपचारिक रूपमा, मे १ का दिन, संसार भरिका श्रमिकले अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै आएका छन् । यो दिन, काम गर्नेमाथि काम लगाउनेबाट भएको ज्यादती अन्त्य गर्न ट्रेड युनियनले सुरु गरेको आन्दोलनको स्मरणमा मनाउन थालिएको हो । श्रमिकको ‘काम, मनोरञ्जन र आराम’ बीच सन्तुलन कायम गर्ने माग स्थापित गरिएको दिनका रूपमा यस दिवसलाई स्मरण गर्ने गरिन्छ । नेपालको श्रम आन्दोलनले यस दिवसलाई श्रमिकको ‘सम्मानित, समृद्ध र सिर्जनशील’ जीवनका लागि भएका सबै आन्दोलनको स्मरणमा मनाउँदै आएको छ ।
पछिल्ला केही वर्ष यता, हामीले यस दिवसलाई नेपाली श्रमिकको ‘एकता र उपलब्धि’को उत्सवका रूपमा पनि मनाउँदै अएका छौँ । हरेक वर्ष ‘श्रमको संसार’मा भएका उपलब्धिको चर्चा गर्ने र गर्न बाँकी काम पूरा गर्ने अठोट गर्ने दिनका रूपमा पनि मे १ लाई लिँदै आएका छौँ ।
यस वर्षको मे दिवस हामी भिन्न रूपमा मनाउँदै छौँ । कोरोना भाइरसको महामारीका कारण हाम्रो श्रमको संसार अहिले लकडाउनमा छ । मैले पहिले पनि भनेको छु, अहिले यतिबेला विश्वभरिका कोरोना प्रभावित २१० मुलुकमा जस्तै हाम्रो देशको पनि उत्पादन प्रणालीको कडी टुटेको छ । हाम्रा सिर्जनशील हात यतिखेर लकडाउनमा छन् । हाम्रो श्रमको प्रतीक्षामा रहेका उत्पादनका साधन पनि लकडाउनमा छन् ।
अहिलेको लकडाउन विश्वव्यापी हो र यो बाध्यकारी रहेको छ । कोरोना भाइरसका कारणले यसलाई स्वीकार्न‘परेको बाध्यता हाम्रा अगाडि छ । यसले निर्माण, रोजगारी र उत्पादनमा पारेको प्रतिकूल प्रभावको अवस्थाले श्रमजीवी वर्गको बुझाइ जस्तै श्रम र उत्पादनको सम्बन्ध एवं त्यसको महìवलाई सबै वर्गले गम्भीर भएर बुभ्mने नयाँ परिस्थिति पनि निर्माण भएको छ । श्रम आधारभूत कुरा हो र जीवन प्रमुख कुरा हो । श्रम बिनाको पुँजी र प्रविधि पनि अर्थहीन हुन्छ भन्ने आजको यथार्थले स्पष्ट पारेको छ ।
उद्योग–व्यवसाय बन्द हुँदा आम्दानी घटेका स्वदेशमा कार्यरत सबै प्रकृतिका श्रमिकको कष्टकर जीवनप्रति म अत्यन्तै दुःखी छु । एक दशकको हिंसात्मक द्वन्द्वका कारण गाउँको रोजगारी खोसिँदा सहर÷बजार पसेका तर सहर÷बजारले रोजगारी दिन नसक्दा परदेश भासिएका लाखौँ नेपाली युवा श्रमिक विभिन्न मुलुकमा कार्यरत छन् । धेरै युवा विदेशिने यी र अन्य विभिन्न बाध्यकारी परिस्थिति तथा प्रवृत्ति पनि छन् । अहिले कोरोना भाइरसको महामारीका कारण ‘न कार्यरत मुलुकमा रम्न सकिने, न त स्वदेश फर्किन सकिने’ चेपुवामा श्रमिक परिरहेका छन् । यसबाट सिर्जना भएको पीडाप्रति म जानकार तथा संवेदनशील छु । यस अप्ठ्यारो घडीमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक ऐक्यबद्धता जाहेर गर्दछु ।
दिदीबहिनी तथा दाजुभाइ,
विगत दुई वर्षदेखि हाम्रो अर्थतन्त्रले तीव्र विकासको लय समातेको थियो । सरकारको संयोजनमा उद्यमी तथा श्रमिक दुवै पक्षबीच उच्च समझदारी कायम रहेको थियो । त्यही समझदारीका कारण श्रमिकको न्यूनतम पारिश्रमिक, इतिहासमै उच्च अर्थात् ३९ प्रतिशतले वृद्धि भएको थियो । नियमित जस्तो औद्योगिक द्वन्द्वको पीडा झेलिरहेको नेपाली श्रमको दुनियाँमा ‘हडताल र तालाबन्दी’ सबैले बिर्सिसकेको नमिठो सपना जस्तो भइसकेको थियो । हाम्रो आर्थिक वृद्धि दोहोरो अङ्कको लक्ष्य हासिल गर्नेतर्फ लम्किएको थियो । सरकारले श्रम क्षेत्रमा पहिलो वर्षको तुलनामा दोस्रो वर्ष झण्डै दोब्बर बजेट वृद्धि गरेको थियो । दक्ष जनशक्ति निर्माण, रोजगारी सिर्जना, सामाजिक सुरक्षा र सुरक्षित तथा सुलभ वैदेशिक रोजगारीका चार लक्ष्यमा आधारित विभिन्न कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत सञ्चालनमा आएका थिए ।
यी दुई वर्षको अवधिमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत २२ लाख श्रमदिन बराबरको रोजगारी सिर्जना गरिएको थियो । श्रमिकको पारिश्रमिक बैङ्क मार्फत भुक्तानी गर्ने र काम गर्दाको समयमा वा सेवा निवृत्त भएपछिको जीवन सुरक्षित गर्न योगदानमा आधारित सामाजिक सुरक्षाको सुरुवात गरियो । एक वर्षमा कम्तीमा एक सय दिन बराबरको रोजगारीको प्रत्याभूति अर्थात् ग्यारेन्टी गरियो । विभिन्न मुलुकसँंग श्रम सम्झौता गर्ने र प्रविधिमा आधारित सरल श्रम सम्बन्धी सेवा थालियो । बेरोजगार लक्षित सीप विकास र उद्यमशील प्रवद्र्धन कार्यक्रम सञ्चालन गरियो । उच्च शिक्षा हासिल गरेका युवाका लागि शैक्षिक प्रमाणपत्र धितोमा राखेर पाँच प्रतिशत ब्याज अनुदानमा सात लाखसम्म ऋण उपलब्ध गराउन थालिएको थियो ।
यस मे दिवसको सँघारमा आज हामी, कोरोना महामारीका विरुद्धको युद्धमा होमिएका छौँ । तत्कालका लागि हाम्रो प्रयास यस महामारीले सिर्जना गरेको समस्या सामना गर्नेतर्फ केन्द्रित छ । यतिखेर सरकार, कोरोना सङ्क्रमणको रोकथाम, पहिचान, परीक्षण र उपचारमा लागिपरेको छ । यसमा कमी नआओस् भनेर नै महामारी विरुद्धको यस युद्धको अग्र मोर्चामा रहनुभएका सबैका लागि २५ लाख रुपियाँ रकम बराबरको बीमा गरिएको छ । व्यक्तिगत सुरक्षा उपकरणको व्यवस्थाका साथै उनीहरूको भत्तामा शतप्रतिशतसम्म थप गरिएको छ । लकडाउनको अवधिको पारिश्रमिक कायम गर्न र महिला स्वास्थ्य स्वयंसेवीलाई एकमुष्ठ एक हजार पाँच सय रुपियाँ थप भत्ताको व्यवस्था गरिएको छ ।
सामाजिक सुरक्षा कोषमा आबद्ध सम्पूर्ण श्रमिकको आयमा कमी नआओस् भनेर नै प्रत्येक श्रमिकको योगदान बराबरको रकम सरकारले नै कोषमा जम्मा गरिदिएको छ । सामाजिक सुरक्षा कोषमा योगदान गर्दा लाग्ने दोहोरो करको व्यवस्था हटाइएको छ ।
विद्युत्को उपभोगमा सहुलियतको व्यवस्था गरी सुलभ मोलमा इन्डक्सन चुल्होको व्यवस्थासमेत गरिएको छ । दैनिक गर्ने कामबाट जीवन धानिरहेका व्यक्तिलाई भोकै पर्न नदिन नेपालमा ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने सरकारको नीति अन्तर्गत स्थानीय तह, प्रदेश तथा केन्द्रीय प्रशासनको संयोजनमा राहतको व्यवस्था गरिएको छ ।
श्रमजीवी दाजुभाइ तथा दिदीबहिनी,
म ठान्दछु, श्रमजीवी वर्ग भनेको दुःख गर्न सक्ने तर सुखको सपना देख्ने वर्ग हो । परिवर्तनको संबाहक हो र सबै आत्तिएको बेला ढाडस दिन सक्ने अनि आफैँ अघि सरेर समस्याको सामना गर्न सक्ने वर्ग श्रमजीवी वर्ग हो । कोरोना भाइरसको महामारीका विरुद्ध अग्रपङ्क्तिमा रहेर जुधिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइ लगायतका सेवामा क्रियाशील श्रमजीवी यसका उदाहरण हुन् । जसको अथक परिश्रमले कोरोना भाइरस विरुद्धको लडाइँमा विश्व स्तरमा उल्लेख गर्न लायक सफलता हाम्रो मुलुकले प्राप्त गरेको छ । हालसम्म यो महामारी समुदाय स्तरमा फैलिनबाट रोकिनु र कुनै पनि मानवीय क्षति नभएको गर्विलो रेकर्ड कायम रहनु सन्तोषको विषय हो । आफैँलाई जोखिममा पारी अरूको जीवन रक्षामा संलग्न उहाँहरू सबैको म उच्च प्रशंसा गर्न चाहन्छु ।
मलाई थाहा छ, अवधिको हिसाबले यसवर्ष श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न‘पर्ने वर्ष हो तर तपाईं हामी सबैलाई थाहा छ, अहिले परिस्थितिले हामीलाई साथ दिइरहेको छैन । ८.५ प्रतिशतको आर्थिक वृद्धिको उच्च आकाङ्क्षाका साथ अघि बढेका हामीहरू ३ प्रतिशत वा त्यसभन्दा कमको आर्थिक वृद्धिमा खुम्चिनु पो पर्ने हो कि भन्ने अवस्थाले गम्भीर बनेका छौँ । मैले पहिले पनि भनिसकेको छु, हाम्रो जीडीपीको झण्डै ४ प्रतिशत यस महामारीका कारण क्षति भइसकेको छ ।
विश्व स्तरमा तुलनात्मक रूपमा हेर्ने हो भने रोजगारी र अर्थतन्त्रको अहिलेको अवस्था अघिल्लो शताब्दीको महामन्दीमा जस्तै वा त्यो भन्दा पनि भयावह हुने आकलन गर्न थालिएको छ । सन् १९३० को दशकमा भएको महामन्दीमा काम गर्ने उमेर समूहका, कुनै औद्योगिक मुलुकमा २३ प्रतिशत र कतिपयमा ३३ प्रतिशतसम्म बेरोजगार भएका थिए । यस महामारी पछिको पहिलो चार महिनामा नै २०औँ शताब्दीको त्यस दशकको भन्दा ज्यादा श्रमजीवी बेरोजगार भइसकेका छन् । महामन्दीको त्यस समयमा, सिङ्गो एक दशकमा कुल गार्हस्थ्य उत्पादनमा जति सङ्कुचन आएको थियो, यस महामारीको पहिलो चार महिनामा ती विकसित अर्थतन्त्रमा, त्यसको झण्डै ३ गुणा बढी सङ्कुचन आएको छ ।
तर घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै राख्दैन । रुखोसुखो भरणपोषणको जोगावट गर्छ र व्यवहार चलाउँछ । तपाईंहरूको यस प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारले पनि उपलब्ध स्रोत र साधनले भ्याएसम्म सुविधाको जोगावट गर्छ ।
कसरी ?
अबका हाम्रा सबै प्रयास स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हुनेछन् । भूकम्प पछिको यस दशकलाई हामीले पुनर्निर्माणको दशक भने झैँ, अबको हाम्रो पहिलो लक्ष्य कोरोनाबाट हाम्रो समाजलाई मुक्त बनाउनुहुनेछ । यसभन्दा अघिल्ला सम्बोधनमा पनि मैले चर्चा गरेको थिएँ, यस महामारीले जनस्वास्थ्यको क्षेत्रमा हाम्रो हविगत उदाङ्गो पारिदिएको छ । जसरी २०औँ शताब्दीको महामन्दीले पुँजीवादी प्रणालीको चरित्र नै फेर्नेगरी अर्थ व्यवस्थामा कल्याणकारी आयाम थप्न विकसित मुलुकलाई बाध्य पा¥यो, यस महामारीले हामीलाई स्वास्थ्य संरचनामा थप लगानी गर्न प्रेरित गरेको छ । हाम्रो संविधानले ग्यारेन्टी गरे झैँ स्वस्थ नागरिक निर्माण गर्न स्वास्थ्य बीमा सहितको जनस्वास्थ्यमा र सीपयुक्त नागरिक निर्माण गर्न शिक्षामा लगानी वृद्धि गरिनेछ । ‘आजका लागि स्वास्थ्य, भोलिका लागि शिक्षा’ अबको हाम्रो दिशा हुनेछ । यस महामारीको प्रभावले आत्मनिर्भर अर्थतन्त्रको महìवलाई पनि अझ बढी स्पष्ट पारेको छ । अबका हाम्रा कदम निश्चय नै त्यस दिशातर्फ सुदृढ ढङ्गले उन्मुख हुनेछन् ।
कोरोना महामारी विरुद्धको लडाइँमा एक हुँदै श्रमिकको रोजगारी, आय र सामाजिक सुरक्षा सुनिश्चित गर्ने दिशातर्फ हाम्रो सम्पूर्ण प्रयास केन्द्रित हुनेछ । सबैभन्दा पहिले टुटेको उत्पादन सम्बन्धको कडीलाई जोड्ने र अवरुद्ध उत्पादन प्रणाली सुचारु गरिनेछ ।
राहत सुविधा अल्पकालीन उपाय मात्रै हो । सबैलाई काम, हाम्रो पहिलो लक्ष्य हुनेछ । श्रमसँग जोडिएका व्यक्तिलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गरिनेछ । काममा जो छन्, उनीहरूका लागि न्यूनतम पारिश्रमिक सुनिश्चित गरिनेछ । काममा संलग्न कसैको पनि आम्दानी रोकिने वा खोसिने स्थिति आउन दिइनेछैन । सङ्घ, प्रदेश र स्थानीय तहमा, श्रम–प्रधान प्रविधि परिचालनको प्रबन्ध गरिनेछ । श्रम र प्रविधिको संयोजन तथा ज्यालासहित जनसहभागिताको विकास मोडेल अवलम्बन गरिनेछ ।
वैदेशिक रोजगारीबाट फर्किएका नागरिकलाई उनीहरूले हासिल गरेको दक्षता अनुरूपको स्वरोजगारी सिर्जना गर्न सरल कर्जा र प्रविधि हस्तान्तरणको प्रबन्ध गरिनेछ । स्वदेशमा रहेका वा विदेशमा रोजगारीमा जान नपाएका व्यक्तिलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा जोडिनेछ । विभिन्न मन्त्रालय, निकाय र सार्वजनिक संस्था मार्फत सिर्जना भएका कामका अवसर नेपालीलाई नै सुनिश्चित गर्ने व्यवस्था मिलाइने छ ।
यस सन्दर्भमा हाम्रा श्रमिकमा रहेको सीपको खाडलका कारण हुनसक्ने श्रमिकको अभावलाई सम्बोधन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र श्रम तथा सीप तालिम सम्बन्धी सबै निकायका कार्यक्रम एकीकृत रूपमा परिचालन गरिनेछ । सीपको अन्तर सम्याउन आवश्यक परेमा सबै पालिका तहमा छोटो अवधिका घुम्ती तालिम शिविरसमेत सञ्चालनमा ल्याइनेछ ।
हाम्रो युवा जनसङ्ख्याको जनसाङ्ख्यिक लाभलाई अधिकाधिक सदुपयोग गरिनेछ । त्यस्तो युवा जनशक्ति, जुन उत्पादक जनशक्ति हुनेछ । त्यस्तो उत्पादक जनशक्ति, जुन सीपयुक्त र पुँजी सहितको प्रविधियुक्त हुनेछ । त्यस्तो युवाशक्ति, जुन अन्वेषण र व्यावसायिक ज्ञानयुक्त हुनेछ ।
कृषिको आधुनिकीकरण र व्यवसायीकरण मार्फत उत्पादन र रोजगारी वृद्धि गरिनेछ । जमिन नहुने श्रमिकका लागि भूमि बैङ्कलाई कार्यान्वयनमा ल्याई त्यसैको माध्यमद्वारा भूमिको व्यवस्था गरिनेछ । बैङ्कबाट सुलभ कर्जाको बन्दोबस्त गर्ने र सरकारद्वारा सीप तालिमको प्रत्याभूति गरी समन्वयात्मक ढङ्गबाट काम अघि बढाइने छ ।
विगतका जनआन्दोलन र द्वन्द्वकालका युवा तथा अरू घाइते अझै पनि उपचारविहीन अवस्थामा रहिरहेका छन् । तिनको उपचारका लागि सरकारले पटकपटक गरेका आह्वान र प्रयासको सन्देश उचित रूपमा सम्प्रेषण हुन सकेन । म आह्वान गर्दछु, सम्पूर्ण घाइते प्रशासनको सम्पर्कमा आउनुहोस् । अब आफ्नो शरीरमा गोली र छर्रा बोकेर नबस्नुहोस्, उपचारको प्रबन्ध सरकारले गर्छ । यस प्रयासबाट सबै घाइते पूर्ण निको भई श्रम बजारमा कार्यरत हुन सक्नेछन् ।
दिदीबहिनी तथा दाजुभाइ,
नेपाली समाजको परिवर्तन र अहिलेको स्थायित्व एवं विकासको परिस्थिति आफैँ निर्माण भएको होइन । सही विचार र गन्तव्यमा आधारित बलिदानपूर्ण सङ्घर्ष र सचेत प्रयासबाट मात्रै यस परिस्थितिको निर्माण भएको हो । आज नेपालका केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ । एकातिर सम्पूर्ण नेपाली जनता र सिङ्गै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका त्यस्ता प्रयास गरिनु दुःखद कुरा हो । आफ्ना स–साना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यो परिस्थिति बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन । त्यस्ता प्रयास सफल हुन दिइनेछैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहन्छु ।
नेपालको राजनीतिक आन्दोलनले ट्रेड युनियन आन्दोलनलाई वैचारिक नेतृत्व गरिरहेको छ । नेपाली ट्रेड युनियन आन्दोलनले राजनीतिक आन्दोलनलाई धेरै कुरा सिकाएको छ –अप्ठ्यारोमा नहड्बडाउने, अनिकालमा मिलेर बीउ जोगाउने, सहकालमा भएका नाफाको न्यायोचित वितरणमा सामाजिक संवाद गर्ने अनि विविधताबीच एकता कायम गरी अघि बढ्ने ।
ट्रेड युनियनले हामीलाई सिकाएको छ– आपसी एकता र युनियन बनाउने भनेको भ¥याङको खुट्किलो थपे जस्तै हो । तल्लो खुट्किलो बलियो भए मात्रै माथि पुगिन्छ । त्यसैले तल हेरौँ, माथि मात्रै होइन ।
त्यसैले म भन्न चाहन्छु, आजको अप्ठ्यारो घडीमा मिलेर अघि बढ्नुपर्छ, युनियन जस्तै । हामीले आफ्ना आकाङ्क्षाको आकाशतिर माथिमाथि मात्र होइन, जनता भएतिर तल पनि हेर्न‘पर्छ, युनियनले भने जस्तै ।
कमी कमजोरी भए सच्याउनुपर्छ तर अराजक होइन– अनुशासित हुनुपर्छ । समयको ख्याल गर्न‘पर्छ । आफैँलाई घात गर्ने होइन– इमानदार बन्नुपर्छ, युनियनले भने जस्तै ।
यस प्रसङ्गमा नेपालका मान्यता प्राप्त सबै ट्रेड युनियनले निर्माण गरेको उनीहरूको साझा संस्था– जेटीयूसीसीलाई म स्मरण गर्न चाहन्छु र यसको छाताभित्र समेटिएका सबै ट्रेड युनियन, तिनमा आबद्ध श्रमिक र सम्पूर्ण श्रमजीवी जनसमुदायलाई यस वर्षको मे दिवसका अवसरमा म हार्दिक शुभकामना व्यक्त गर्दछु ।
(सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले मे दिवसको उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देशको पूर्ण पाठ)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?