logo
२०८१ बैशाख ८ शनिवार



बाग्लुङका संक्रमितको सम्पर्कमा रहेका १४ जनामा संक्रमण पाइएन

स्वास्थ्य |
मुख्य समाचार |


बाग्लुङका संक्रमितको सम्पर्कमा रहेका १४ जनामा संक्रमण पाइएन


चन्द्रप्रकाश शर्मा
पोखरा, चैत २३ गते । गण्डकी प्रदेशको बागलुङमा दुई जना कोरोना भाइरस कोभिड १९ का संक्रमित भेटिएपछि गरिएको कन्ट्रयाक ट्रेसिङ गरी पठाइएको १४ जनाको स्वाब परीक्षमा सबैमा संक्रमण नभएको पाइएको छ । संक्रमित व्यक्तिबाट थप संक्रमण फैलिन नदिन संक्रमित व्यक्तिको सम्पर्कमा रहेकाको स्वाब परीक्षण गरिएकाे र त्यसमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
चैत ४ गते कतार एयरवेजको विमानबाट बेल्जियमबाट आएकी एक युवती र एक महिलालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि उनीहरुसँगको सम्पर्कमा रहेका व्यक्तिहको स्वाब परीक्षण गरिएको थियो । बागलुङ नगरपालिका वडा नं. ४ कुडुलेकी युवतीको घर परिवार र सम्पर्कमा आएका १० जनाको स्वाब काठमाडौं पठाइएको र बागलुङ नगरपालिका वडा नं. ३ गौडाकोटकी महिलाको परिवारका चार जनाको स्वाब गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयकाे ल्याबमा नयाँ जडित मेसिनबाट परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशन बिनोदविन्दु शर्माले बताउनुभयो ।
उहाँले गण्डकी प्रदेशमा अहिले दुईबटा स्वाब परीक्षण मेसिन रहेको र प्राप्त नमूनाहरू दुईवटा मेसिनमा दोहो¥याएर परीक्षण गर्दा पनि दुबैमा नेगेटिभ आएको उहाँले बताउनुभयो । निर्देशनालयको ल्याबमा परीक्षण भएका केही नमुना क्रस चेकका लागि काठमाडौं केन्द्रीय स्वास्थ्य प्रयोगशालमा पठाइएको र ती रिपोर्ट सही आएको हुँदा यहाँबाट गरिएको परीक्षण रिपोर्ट फरक नपर्ने उहाँले बताउनुभयो ।
कोरोना भाइरसबाट संक्रमित दुवै जना विदेशबाट आएको र उनीहरुबाट अन्यमा कोरोना भाइरसको संक्रमण भएको नदेखिएको निर्देशनालयको भनाई छ । कोरोना भाइरस संक्रमित दुवैजना बेल्जियमबाट कतार हुँदै काठमाडौ, काठमाडौंबाट पोखरा र पोखराबाट बागलुङसम्म एकसाथ आएका थिए । उनीहरुलाई लिएका काठमाडौंबाट बागलुङसम्म आएका एक पुरुषको रिपोर्टपनि नेगेटिभ आएको थियो ।
केही दिन अगाडिसम्म स्वाब संकलन गरी काठमाडौं पठाउँनु पर्नेमा गण्डकी प्रदेशमै प्रयोगशाला सञ्चालनमा आएपछि स्वाब परीक्षणमा सहज भएको निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिनुभयो । अहिलेसम्म गण्डकी प्रदेशबाट ७५ जनाको स्वाब परीक्षण सम्पन्न भएको छ ति मध्य २८ जनाको गण्डकी प्रदेशमै स्थापना भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । २८ जनामा पनि १८ बटा नमुना क्रस चेकका लागि काठमाडौं पठाइएको थियो ।
बागलुङमा दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको र उनीहरुलाई धौलागिरि अञ्चल अस्पताल बागलुङमा राखेर उपचार गर्नुपर्ने भएकाले त्यसका लागि आवश्यक भेन्टिलेटर तथा आवश्यक अन्य सामग्रीहरु पठाइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । केही दिन अगाडि एक थान भेन्टिलेटर पठाइएकोमा त्यो अपुरो भएकोले पुनः अर्को भेन्टिलेटर अस्पतालमा पठाइएको छ ।
कोरोना भाइरसबाट संक्रमितको स्वास प्रश्वासमा केही समस्या भए भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भएको र अस्पतालमा त्यो सुविधा नभएकाले केही अन्यौलता भए पनि प्रदेश सरकारबाट भेन्टिलेटर प्राप्त भएको र संघीय सरकारबाट आइसियु व्यवस्थापन हुने जानकारी प्राप्त भएकाले केही सहज हुने धौलागिरि अञ्चल अस्पताल बागलुङका अस्पताल विकास समिति सदस्य शालिकराम शर्माले जानकारी दिनुभयो ।
कोरोना भाइरस संक्रमणको रोकथामसँगै संक्रमित भेटिएपछि गर्नुपर्ने सबै काम तयारी अवस्थामा रहेको जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताउनुभयो । नेपालको छैठौ कोरोना भाइरस संक्रमित महिलालाई अस्पताल ल्याउने समयमा एम्बुलेन्स चालक भागेपछि आफ्नै गाडीमा कोरोना संक्रमितलाई अस्पतालसम्म ल्याउनुभएका गुरौले स्वास्थ्य क्षेत्रमा खटिएका कर्मचारीहरुलाई सुरक्षित रुपमा उपचार गर्ने व्यवस्थापन सहित काम भइरहेको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?