logo
२०८१ बैशाख ८ शनिवार

  भारतमा कोभिड १९ परीक्षण किट अन्तिम परीक्षण हुँदै 



एक हप्तामा दुईलाख किट उत्पादन गर्न सकिने, मूल्य निकै सस्तो पर्ने

स्वास्थ्य |


एक हप्तामा दुईलाख किट उत्पादन गर्न सकिने, मूल्य निकै सस्तो पर्ने


इश्वरचन्द्र झा
काठमाडौं, चैत्त १८ गते । थोरै व्यक्तिमा कोरोना संक्रमणको परीक्षण गरिएको भन्दै भारतको आलोचना गरिदैछ । भारतमा प्रत्येक दश लाख व्यक्तिमध्ये मात्र ६.८ जनामा कोरोना भाइरसको परीक्षण गरिदैछ । तर एकजना भाइरस विज्ञ महिलाले आफू सुत्केरी हुनुभन्दा केही घण्टा अघि मात्रै कोरोना संक्रमण परीक्षण गर्ने उपयोगि किट बनाएर चर्चा बटुल्नुभएको छ ।
भारतमा निर्मित उक्त किट परीक्षणका लागि गत बिहीबार नै बजारमा उपलब्ध भइसकेको छ । जसले भारतमा परीक्षण दर मात्रै बढाउने नभई थोरै मूल्यमा सुलभ रुपमा उपलब्ध हुने सुनिश्चित गरेको छ ।
भारतको पुणेस्थित माइल्याब डिस्कोभरिले किट बनाउने र बेच्ने पूर्ण अनुमति पाएको छ । उसले पहिलो चरणमा एकसय ५० किट बनाएर परीक्षण प्रयोगका लागि पुणे, मुम्बई, नयाँ दिल्ली, गोवा र बैंग्लौरमा पठाइसकेको छ ।
दोस्रो चरणमा निर्माण गरिने परीक्षण किट आज भारतको मुख्य शहरमा पठाइदैछ । माइल्याबका निर्देशक डा. गौतम वान्खडेले बीबीसीसँगको कुराकानीमा बढ्दो संख्या किट उत्पादन गर्न आफ्ना कर्मचारी दिनरात काम गरिरहेको बताउनुभयो ।
माइल्याब डिस्कोभरि मोलिक्युलर डायग्नोष्टिक कम्पनी हुन । उक्त कम्पनीले यसअघि एच आइ भी र हेपाटाइटिस बी र सी जस्ता किट बनाइसकेको छ । आवश्यकता भए कम्पनीले एक साताभित्र एकदेखि दुई लाखसम्म किट आपूर्ति गर्न सक्ने दाबी गरेको छ ।
माइल्याबले बजारमा ल्याएको प्रत्येक किटले कम्तिमा एक सय नमूना परीक्षण गर्नेछ । र मुल्य एक हजार दुई सय निर्धारण गरिएको छ । भारतले परीक्षण किटका लागि विदेशबाट प्रति किट चार हजार पाँच सय रुपियाँ तिरेर आयात गरिरहेको छ ।
सुत्केरी हुनुअघि भाइरस विज्ञले किट दिइन
आयातित किटले निदान वा परिणाम दिन कम्तिमा सातदेखि आठ घण्टा लगाउँदैछ । हाम्रो किटले साढे दुई घण्टाभित्र निदान दिने भाइरस विज्ञ मिनल दाख्वे भोसले बताउनुहुन्छ । कोरोना भाइरस परीक्षण किटको डिजाइन गर्ने समूहको नेतृत्व गर्नुभएकि भोसलेले अन्त तीनदेखि चार महिना लाग्दै आएकोमा हामीले छ साताभित्र उक्त किट तयार गरेको खुलाउनुभयो ।
किट निर्माण अन्तिम चरणमा पुग्दा उहाँ आफैं पनि सुत्केरी हुने तरखरमा पुग्दा वैज्ञानिकहरु आत्तिन पुगेको थियो । तर किट तयार भइसकेपछि मात्रै उहाँले गत् साता छोरीको जन्म दिनुभयो । गर्भमा समस्या देखिएपछि फेब्रुअरीमा अस्पताल भर्ना भई डिस्चार्ज भएपछि किट निर्माणमा जुटेको उहाँले बताउनुभयो । “संकटको अवस्थामा तयार गर्नुपर्ने भएकोले हतार थियो, देशका लागि सेवा गर्ने अवसर समेत भएकोले मैले चुनौतीको रुपमा स्वीकार गरी काममा जुुटे”– भोसलेले बताउनुभयो ।
मार्च १८ मा उहाँले भारतको नेशनल इन्स्टिच्युट अफ भाइरोलोजीमा मूल्याङ्कनको लागि किट बुझाउनुभयो । र सोही साँझ नै उहाँले अस्पताल भर्ना हुनु एक घण्टा अघि भारतीय एफडीए र औषधि नियन्त्रण प्राधिकरणमा व्यवसायिक अनुमतिको लागि प्रस्ताव बुझाउनुभयो । १९ मार्चमा उहाँले छोरीको जन्म दिनुभयो ।
डा. वान्खडेले प्रतिष्ठा बाजीमा हुँदा मिनल भोसलेले अगुवाइ गरेको समूहले समयमै नतिजा दिएको बताउनुभयो । मूल्याङ्कनको लागि जमा गर्नुअघि समूहले सही नतिजाबारे पटक पटक परीक्षण गरेर निचोडमा पुग्नुपर्ने थियो । भोसले भन्नुहुन्छ, “एउटै नमूनामा तपाई दश पटक निर्मित किटबाट परीक्षण गरेपनि नतिजा उही आउँछ ।”
भारतमा पछिल्लो तीन दिन यता कोभिड–१९ संक्रमितको संख्या बढ्दैछ । मंगलबारसम्म उक्त संख्या करिब एक हजार दुई पचास पुगेको छ । ३२ जनाको मृत्यु भएको छ ।
अपेक्षाकृत कम जनसंख्या रहेको दक्षिण कोरियामा ६५० वटा कोभिड–१९ को परीक्षण प्रयोगशाला रहेको छ । करिब एक अर्ब ३० करोड जनसंख्या भएको भारतमा भने ११८ वटा सरकारी र ५० वटा नीजि परीक्षण प्रयोगशाला छ ।
(बीबीसीका लागि नयाँ दिल्लीबाट गीता पाण्डेले तयार गर्नुभएको रिपोर्टको सम्पादित अंश)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?