logo
२०८१ बैशाख ७ शुक्रवार



विदेशबाट आएका ४१ हजारलाई क्वारेन्टाइनमा रहन निर्देशन

स्वास्थ्य |
पढ्नै पर्ने |
फिचर |


विदेशबाट आएका ४१ हजारलाई क्वारेन्टाइनमा रहन निर्देशन


सरोज ढुंगेल
काठमाडौं, चैत १७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेशबाट हालसम्म आएका ४१ हजार एक सय ४० जना क्वारेन्टाइनमा रहन निर्देशन दिएको जनाएको छ । विभिन्न देशबाट आएकाहरुलाई सातवटै प्रदेश र स्थानीय तहमा बनाइएन क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले भन्नुभयो, ‘‘विदेशबाट आएकामध्ये हालसम्म ४१ हजार एक सय ४० जनाको नाम अद्यावधिक गरिएको छ र सबैलाई क्वारेन्टाइनमा रहन निर्देशन दिइएको छ ।’’
प्रवक्ता देवकोटाले विदेशबाट आएकाको ट्रेसिङलाई तीव्र बनाएका छौँ, अद्यावधिक गरिएका जो कोहीलाई पनि लक्षण देखिएमा परीक्षण गर्न सकिने बताउनुभयो ।
उहाँले काठमाडौं उपत्यकामा ४ र प्रदेशमा ९३ जना बिरामी आइसोलेसनमा रहेको जानकारी दिनुभयो । हालसम्म प्रदेशमा २ सय जनाको नमुना सङ्कलन भएको जानकारी दिनुभयो । परीक्षणको दायरा बढाएको भन्दै हालसम्म ९ सय ९३ जनाको नमुना परीक्षण भएको बताउनुभयो । उहाँका अनुसार थप ७६ जनाको नमुना संकलन भएको छ ।
बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा नमूना परीक्षण सुरु गरिएको तीन दिन १९ जनाको परीक्षण भएको छ । प्रत्येक प्रदेशमा १ हजार सेट पीपीई, १० हजार मास्क र २० हजार पञ्जा पठाइएको छ ।
प्रवक्ता देवकोटाका अनुसार प्रत्येक अस्पतालमा कम्तीमा सय सेट पीपीई रहेको छ । यसैगरी, स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लहाकार डा. खेम कार्कीले कोरोना नियन्त्रणका लागि काम भइरहेकाले त्रसित नहुन आग्रह गर्नुभयो ।
थापाको निधन कोरोनाबाट होइन
बुटवलको कोरोना विशेष अस्थायी आइसोलेसन अस्पतालमा मृत्यु भएका बाबुराम थापाको मृत्यु कोरोना सङ्क्रमणबाट नभएको पुष्टि गरेको छ । प्रवक्ता देवकोटाले थापाको मृत्यु कोरोनाका कारण नभएको जानकारी दिनुभयो । थापाको आइतबार मृत्यु भएको थियो । चैत ६ गते दुबईबाट काठमाडौं आउनुभएका थापा भोलिपल्ट आफ्नो डेरा सैनामैना पुग्नुभएको थियो ।
नेपाल आएको केही दिनमा उच्च ज्वरो आउनुका साथै खोकी लागेपछि मेडिकलबाट औषधि ल्याई खाए पनि निको नभएपछि सैनामैनाका वडा अध्यक्ष र केही छिमेकीहरुको सहयोगमा मुर्गियास्थित पर्राेहा स्वास्थ्यचौकी पु¥याइएको थियो ।
कोरोनाको सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वास्थ्यचौकीले बुटवल जान सुझाएपछि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । थापालाई अस्पताल पु¥याइँदा उच्च ज्वरो, खोकी र श्वासप्रश्वासको समस्यासहित गम्भीर अवस्थामा पुगिसकेको अस्पतालले विज्ञप्ति निकालेर जानकारी दिएको थियो ।
यस्तै, कोरोना सङ्क्रमितको परिवार र आफन्तमा कोरोना सङ्क्रमण नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । प्रवक्ता देवकोटाले सङ्क्रमित चारजनाको परिवार तथा आफन्तको हालसम्म गरिएको नमूना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?