logo
२०८१ बैशाख १३ बिहीवार



अमेरिकामा पाँच घण्टामा दश हजार संक्रमित, विश्वभरि २३ हजारको मृत्यु

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


अमेरिकामा पाँच घण्टामा दश हजार संक्रमित, विश्वभरि २३ हजारको मृत्यु
तस्विर - सिन्हवा


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १४ गते । संयुक्त राज्य अमेरिका कोभिड–१९ को सबैभन्दा बढी संक्रमित राष्ट्र बनेको छ । पाँच घण्टामा दश हजारभन्दा बढी बिरामी कोभिड–१९ संक्रमितको पुष्टि भएपछि अमेरिकामा चीनभन्दा बढी संक्रमित भएका हुन् ।
अमेरिकाको जोन हप्कीन्स विश्वविद्यालयको ‘सिस्टम फर साइन्स एण्ड इन्जिनियरिङ्ग’ले अमेरिकामा कोभिड–१९ संक्रमितको संख्या ८२ हजार ४०४ पुगेको जनाएको छ । अमेरिकाको न्युर्योक कोभिड–१९ संक्रमणको केन्द्र बिन्दु बनेको छ । सिन्हवाका अनुसार न्युर्योकमा मात्रै ३७ हजार ८०२ संक्रमितको पुष्टि भएको छ । न्युजर्सी र क्यालिफोर्नियामा छ हजार ८७६ र तीन हजार ८०२ जना संक्रमित भएका छन् ।
कोभिड–१९ को संक्रमणले अमेरिकामा एक हजार १७८ जनाको मृत्यु भएको छ । न्युर्योक शहरमा मात्रै २८१ बिरामीको मृत्यु भएको हो । वाशिंगटन राज्यको किंग्स काउन्टीमा एकसय बिरामीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।
जोन हप्कीन्स विश्वविद्यालयका अनुसार चीनको मुख्य भूमीसहित हङकङ, मकाओ र ताइवानमा गरी कोभिड–१९ को ८२ हजार ३४ जना संक्रमितको पुष्टि भएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बुधबारसम्म मुख्यभूमीमा ८१ हजार २८५ र हङकङमा ४१० तथा ३० जना मकाऊ र २३५ जना ताइवानमा कोभिड–१९ को संक्रमित भएको जनाएको छ ।
जोन हप्कीन्स विश्वविद्यालयका अनुसार विश्वभरिमा कोभिड–१९ संक्रमितको संख्या पाँच लाख २६ हजार ४४ पुग्दा मृतकको संख्या २३ हजार ७०९ रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?