logo
२०८१ बैशाख ७ शुक्रवार



गुम्बा गाउँ सामान्य अवस्थामा, काेराेना संक्रमण छैन

स्वास्थ्य |


गुम्बा गाउँ सामान्य अवस्थामा, काेराेना संक्रमण छैन


केशवराज पौडेल

काठमाडौं, फागुन ११ गते ।  सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ गुम्बा गाउँमा माघको अन्तिम सातामा फैलिएको संक्रमण मौसमी फ्लू मात्रै भएको पुष्टि भएको छ । माघको अन्तिम साता कोराना भाइरससँग मिल्दोजुल्दा बिरामी भेटिएपछि त्यस क्षेत्रमा त्रास फैलिएको थियो । अहिले सबै सामान्य अवस्थामा आइ पुग्नु भएको गाउँपालिकाले जनाएको छ ।

कोराना भाइरससँग मिल्दोजुल्दो भएको भन्दै जुगल गाउँपालिकाले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेपछि सो विषय चर्चामा आएको थियो । त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राविधिक टोलीलाई खटाएको थियो । १० जनाको रगत र खकारको संकलन गरेर त्यहाँबाट आएको टोलीले परिक्षण गरेसँगै त्यहाँ मौसमी फ्लू भएको र सबै जना निको भएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले गोरखापत्र अनलाइनलाई जानकारी दिनु भएको छ । उहाँले सबैलाइ सामान्य मौसमी रुघाखोकी भएको ल्याव रिर्पाेट आएको श्रेष्ठले भन्नुभयो ।

जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले फ्लूको संक्रमण एकैपटक देखिएपछि माथिल्लो निकायलाई जानकारी गराइएको सो संक्रमण मौसमी फ्लू भएको पुष्टि भएको बताउनुभयो । ‘हामीलाइ एकैपटक धेरै जनामा समस्या देखिएपछि माथिल्लो निकायमा जानकारी गराऔं, अहिले सबैको उपचार भयो’ उहाँले खुसी व्यक्त गर्दैभन्नुभयो ।

संक्रमण फैलिएको क्षेत्र उच्च भागमा समेत घना बस्ती भएको र व्यक्तिगत सफाइमा ध्यान नदिने क्षेत्र भएकाले सबै निकायले चासो दिएको थियो । त्यो भेगमा माघ/फागुनमा हरेक बर्ष यस्तै खालको फ्लूजन्य संक्रमण फैलिने गरेको पाइएको थियो ।

सो क्षेत्रमा फ्लू फैलिएपछि बलेफी गाउँपालिकाबाट डा. पिताम्बर खनालको टोलीले एक सातासम्म गुम्बा गाउँमा बसेर उपचार गराएको थियो । उपचारपछि आवश्यक रहेको औषधी समेत वितरण गरेपछि भाइरल रोकिएको स्थानीय शिक्षिका सम्झना तामाङले बताउनुभयो । उहाँले समयमै गाउँपालिका र नेपाल सरकारले तत्परता देखाएको कारणले समयमै उपचार भएको शिक्षिका तामाङले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

गाउँमा सबैलाई मौसमी रुघाखोकी र ज्वरो आएको बताउनु भएको छ, रिर्पाेट सबैको त्यही आएको भनेर स्वास्थ्यचौकीबाट जानकारी आएको शिक्षिका तामाङले जानकारी दिनुभयो । मौसमी रुघाखोकी र ज्वरो फैलिएपछि त्यस क्षेत्रमा दुई दिन विद्यालय समेत बन्द गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?