logo
२०८१ बैशाख ८ शनिवार



अस्पताल भर्ना भएका तीनजनामा कोरोना भाइरस पाइएन

स्वास्थ्य |


अस्पताल भर्ना भएका तीनजनामा कोरोना भाइरस पाइएन


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २ गते । कोरोना भाइरसको संक्रमण रहेको आशंकामा भर्ना भएका तीन जना नेपालीमा भाइरसको संक्रमण नरहेको पुष्टि भएको छ । बुधबार भर्ना भएका तीनैजनाको स्वास्थ्य परीक्षण प्रतिवेदन नकारात्मक आएपछि तीनैजना घर फर्किएका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेले स्वास्थ्य परीक्षणमा नकारात्मक आएपछि तीनैजना बिहिबार नै घर फर्केको जानकारी दिनुभयो । चीनबाट फर्केका तीनैजनामा कोरोना भाइरसको संक्रमण रहेको आशंकामा अस्पताल भर्ना गरिएको थियो ।
निर्देशक डा. पाण्डेले नेपालमा कोरोना भाइरसको संक्रमण रहेको आशंकामा हालसम्म १८ जनाको स्वास्थ्य परीक्षण गरिएको खुलाउनुभयो । एकजना चिनियाँ नागरिकको स्वास्थ्य प्रतिवेदनमा भाइरसको संक्रमण रहेको पुष्टि भएपनि १७ जनाको प्रतिवेदन नकारात्मक आएको अस्पतालले जनाएको छ । ट्रपिकल अस्पतालको आइसोलेशन वार्ड अहिले शुन्य अवस्थामा छन् । निर्देशक डा. पाण्डेले अस्पतालको आइसोलेशन वार्डमा कोरोना भाइरसको संक्रमणको आशंका वा संक्रमित ब्यक्ति एकजना पनि नरहेको बताउनुभयो ।
संक्रमित निको भएपछि ‘डिस्चार्ज’
भाइरसको संक्रमण सकारात्मक देखिएको चिनियाँ नागरिक समेत निको भएर डिस्चार्ज भइसकेको शुक्रराज ट्रपिकल अस्पतालले जनाएको छ । अस्पतालमा ‘थ्रोट स्वाब’को नमूना दिएर घर फर्केका चिनियाँ नागरिकको स्वास्थ्य प्रतिवेदनमा कोरोनाको संक्रमण रहेको पुष्टि भएपछि उहाँलाई अस्पतालले आइसोलेशन वार्डमा राखेको थियो । अस्पताल बसाईको दुई सातापछि पुनः स्वास्थ्य परीक्षण गर्दा संक्रमण नरहेको फेला परेपछि उहाँलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम ‘डिस्चार्ज’ गरिएको डा. पाण्डेले प्रष्ट्याउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?