logo
२०७६ फाल्गुन १४ बुधवार

जयपुरमा ‘समुदाय मनोविज्ञान’ सम्मेलन : समाजमा मानसिक सुस्वास्थ्यको अवस्था कमजोर हुँदै   

स्वास्थ्य |
विदेश |


2020-02-01-7994



नारायण ढुङ्गाना

जयपुर (भारत), माघ १८ गते । समाजमा नसोचेका घटना घटिरहेका छन् । नजिकका आफन्तबाट किशोरी सुरक्षित छैनन् । परिवारभित्रै हत्या–हिंसाका घटना भइरहेका छन् । आत्महत्याको दर बढ्दो छ । पारिवारिक बेमेलदेखि समाजविरोधी क्रियाकलाप बढिरहेको छ । समाजमा मनोसामाजिक अवस्था खस्कँदा यस्ता समस्या बढ्छन् । मनोविद् समाजमा मानसिक सुस्वास्थ्य कमजोर भएकै कारणले यस्ता नसोचेका घटना भइरहेको बताउँछन् । विश्वव्यापी समस्या नेपालमा पनि देखिएको छ ।    
    
 त्यसैले विश्वमा ‘समुदाय मनोविज्ञान’को अवस्था र चुनौतीको विषयमा छलफल गर्न भारतको जयपुरमा ‘समुदाय मनोविज्ञान’ सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा शुरु भएको छ । सम्मेलनमा सहभागी विभिन्न देशका विज्ञ तथा मनोविद्ले समेत समाजमा मानसिक स्वास्थ्य कमजोर हुँदै गएको निष्कर्ष निकालेका छन् ।    
    
 भारतीय समुदाय मनोविज्ञान सङ्घ, सेन्ट बेलफ्रिड क्याम्पस र संस्कृति क्याम्पसको संयुक्त आयोजनामा भएको उक्त सम्मेलनमा नेपालसहित, भारत, श्रीलङ्का, इथियोपिया, जापान, अमेरिकालगायत देशका विज्ञको सहभागिता छ ।    
    
 समाज स्वस्थ भयो भने व्यक्ति स्वस्थ हन्छ । व्यक्ति स्वस्थ भयो भने मुलुक स्वस्थ हुन्छ तर समुदाय मनोविज्ञानमा ध्यान नपुग्दा समाजमा मानसिक अस्वस्थ्यता बढ्दै गएको विज्ञ बताउँछन् । सहभागी विज्ञले विश्वव्यापी ज्ञानलाई स्थानीयकरण गरेर लागू गर्नुपर्नेमा टड्कारो आवश्यकता औँल्याएका छन् ।    
    
 भारतीय समुदाय मनोविज्ञान सङ्घका महासचिव रामजी लाल विश्वमा भइरहेको सामुदायिक मनोविज्ञानको अवस्थाका बारेमा छलफल गरी समुदायका लागि मनोविज्ञान कति जरुरी छ भन्ने विषय प्रष्ट्याउन सम्मेलनको आयोजना गरिएको बताउनुभयो । मनोविज्ञानको एउटा व्यवहारिक विधा ‘समुदाय मनोविज्ञान’ हो । यसले बहुआयामिक क्षेत्र समेटेको हुन्छ । समाजशात्र, मानवशात्र, संस्कृति र मनोविज्ञानसँग जोडिएको उक्त विषयले व्यक्तिको व्यक्तित्व विकासमा कस्तो प्रकारको असर पर्दछ भन्नेबारेमा अध्ययन गर्छ । व्यक्ति, समाज र संस्कृतिले व्यक्तिको समग्र व्यवहार र व्यक्तित्व विकासमा प्रभाव पार्छ । व्यक्तिले त्यहीअनुसार सकारात्मक र नकारात्मक व्यवहार प्रदर्शन गर्दछ ।    
    
 भारतका शिक्षाविद् डा नीरज के पवन भन्नुहुन्छ, “समाजमा कुनै पनि द्वन्द्व निम्तिन्छ भने त्यसलाई मनोविज्ञानले समाधान गर्न सहयोग गर्छ, त्यसैले समाजको मनोविज्ञान बुझ्नुपर्छ ।” मनोविज्ञानलाई किताबबाट बाहिर निकालेर जनव्यवहारमा लागू गर्न सके साँच्चै सार्थक हुनेमा उहाँको जोड छ ।    
    
 विश्वमा अहिले पनि क्लिनिकल साइकोलोजी प्राथमिकतामा छ । सामाजिक विषयलाई प्राथमिकतता दिएको उदाहरण विश्वका कुनै देशमा पनि छैन । तर, डा पवन उक्त धारणा मान्न तयार हुनुहुन्न । उहाँ समुदायको मनोविज्ञान कस्तो छ भनेर बुझ्न सकियो भने मात्रै व्यक्तिको मनोविज्ञान बुझ्न सकिन्छ भन्नुहुन्छ ।    
    
 समाजबाटै व्यक्ति बनेको हुन्छ । त्यसैले एक व्यक्तिको उपचार गरेर समस्या समाधान नहुने तर्क मनोविद्को छ । १९औँ शताब्दीमा समाजशात्री दुर्खिमको तर्कमा सहमति जनाउँदै उहाँले समाजलाई बुझ्नुपर्ने धारणा राख्नुहुन्छ । “समस्या व्यक्तिमा हुँदैन, समाजसँग जोडिएर आउँछ, ऊ समाजबाटै प्रभावित हुन्छ, व्यक्तिको मनोवैज्ञानिक समस्या समाजबाटै निस्कने हो, क्लिनिकल साइकोलोजीजस्तो होइन”, उहाँले थप्नुभयो ।    
    
 मनोविद्का अनुसार मानिस स्वार्थी हुन्छ । विश्वमै मै ठूलो भन्ने मनोविज्ञान मानिसमा हुन्छ । कोही पनि मानिस सार्वजनिक आलोचना स्वीकार गर्दैन । मानिस अहम्कारी, इमोशनल, अरुलाई गलत देखाउने, क्रुर मनोविज्ञानको हुन्छ । मनोविद्का अनुसार समाजले त्यस्ता मान्छेलाई आलोचना र दुव्र्यवहार गर्नु हुँदैन । उसको ठाउँमा आफू भएर हेर्नुपर्छ, आलोचना गरेर कोही सच्चिनेवाला छैन । उसलाई विचार राख्न छाड्नुपर्छ ।    
    
 मनोविज्ञानका विज्ञ प्राध्यापक एनके सक्सेना मानसिक स्वास्थ्यमा सुधार ल्याई गुणस्तरीय जीवन जिउन र मनोसामाजिक समस्या रोक्न सामुदायिक मनोविज्ञानको अवधारणा आएको बताउनुहुन्छ । उहाँ समाजिक मनोविज्ञानलाई बुझ्न सकेन भने परिणाम सार्थक नहुनेमा जिकिर गर्नुहुन्छ । अर्का मनोविद् प्राध्यापक एसपी सहनी सामाजिक मनोविज्ञानलाई संसारले बुझ्न नसकेको भन्दै दुखेसो गर्नुहुन्छ ।    
    
 उहाँका अनुसार भारतले छुट्याएरको कूल स्वास्थ्य क्षेत्रको बजेटको ०.०६ प्रतिशत मात्रै यो क्षेत्रमा लगानी छ । विश्वको धनी भनिएको देशले समेत ६.८९ प्रतिशतभन्दा बढी रकम छुट्याएको छैन । “यसका लागि पहिले त चेतना आउनुप¥यो, शिक्षामा लगानी गर्नुप¥यो, नयाँ योजनाका साथ सामुदायिक सुरक्षाका कार्यक्रम आउनुप¥यो, अनि समुदायमा मनोविज्ञानको प्रशिक्षण चलाउनुप¥यो, तब मात्रै समुदायका व्यक्तिको अवस्थामा सुधार आउँछ”, सहनी भन्नुहुन्छ ।    
    
 सामुदायिक मनोविज्ञानको अवधारणा सन् १९६५ मा अमेरिकाको बोष्टर्न सम्मेलनबाट शुरु भएको हो । भारतीय समुदाय मनोविज्ञान सङ्घ भारतका अध्यक्ष प्राध्यापक एभिएस मद्नावात समुदायका हरेक गतिविधिले मानिसको मनोविज्ञानमा भूमिका खेल्ने बताउनुभयो ।    
    
 सार्वजनिक तथ्याङ्कअनुसार विश्वमा फैलिएका रोगमध्ये १२ प्रतिशत मानसिक समस्याबाट प्रभावित छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक चारमध्ये एक जनामा कुनै न कुनै प्रकारको मानसिक समस्या छ । विश्वमा करिब २० प्रतिशत मानसिक समस्याबाट प्रभावित मानिस छन् । भारतमा १५ करोड मानसिकलाई मानसिक स्वास्थ्य उपचारको आवश्यकता छ । भारतको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणका अनुसार समस्या भएकामध्ये तीन करोडले मात्रै उपचार पाइरहेका छन् ।    
    
 नेपालमा झण्डै ७० लाख मानिसमा कुनै न कुन प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको अनुमान छ । विश्वमा १० देखि २० प्रतिशत बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य समस्याबाट प्रभावित छन् । चौध वर्षको उमेरमा नै समस्या देखिन थालिसकेको हुन्छ । त्यसैले रोक्नका लागि समुदाय मनोवैज्ञानिकको भूमिका महत्वपूर्ण हुन्छ भन्नुहुन्छ नेपालका मनोविद् डा नरेन्द्रसिंह ठगुन्ना ।    
    
 डा ठगुन्ना भन्नुहुन्छ, “जति पनि मानसिक समस्या छन्, त्यसका लागि जिम्मेवार कारणको रुपमा व्यक्ति समाज र संस्कृतिमा तालमेल नभएर व्यक्ति र समुदायबीच द्वन्द्व सिर्जना भई मानसिक स्वास्थ्यमा नाकारात्मक प्रभाव पर्छ, त्यसैले समुदाय मनोविज्ञान बुझेर समुदाय सुहाउँदो स्थानीयस्तरमा मान्य हुने उपचारका विधि अपनाउनुपर्छ ।”    
    
 उहाँले सम्मेलनमा आज दक्षिण एशियामा आत्महत्या रोकथामका लागि समुदाय र सांस्कृतिक मनोविज्ञानको भूमिकाको विषयमा कार्यपत्रसमेत प्रस्तुत गर्दै हुनुहुन्छ । समुदाय मनोविज्ञानको क्षेत्रमा विश्वका विभिन्न देशले काम गर्दै आए पनि नेपालमा भने खासै काम भएको छैन । बदलिँदो परिस्थितिअनुसार समस्या समाधानका लागि राज्यस्तरबाटै यसमा काम गर्नुपर्ने आवश्यकता । श्रीलङ्काका मनोविद् डा समितिले शिक्षण संस्थानमा परामर्शको भूमिका महत्वपूर्ण हुने बताउँदै त्यसतर्फ ध्यान पुग्न नसकेको औँल्याउनुभयो । सम्मेलनमा विभिन्न देशका विज्ञले समुदाय मनोविज्ञानका विविध विषयमा २० बढी कार्यपत्रमाथि छलफल गर्दै छन् ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?