logo
२०८१ बैशाख ११ मंगलवार



कोरोना भाइरस संक्रमण : विश्वब्यापी स्वास्थ्य संकटकालको घोषणा

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


कोरोना भाइरस संक्रमण : विश्वब्यापी स्वास्थ्य संकटकालको घोषणा


गोरखापत्र अनलाइन
काठमाडौं, माघ १७ गते । विश्व स्वास्थ्य संगठनले चीनमा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई लिएर विश्वब्यापी स्वास्थ्य संकटकालको घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमणले २१३ जनाको मृत्यु र करीब दश हजार जना संक्रमित भएका छन् ।
विश्व स्वास्थ्य संगठनको आपतकाल समितिको सुझाबमा डब्ल्यु एच ओका महानिर्देशक डा. टेड्रस अदनोम गेब्रेससले विश्वब्यापी स्वास्थ्य संकटकालको घोषणा गर्नुभएको हो । कोरोना भाइरसको संक्रमण चीनको मुख्यभूमी बाहिरका २२ राष्ट्रमा फेला परेको छ । पछिल्लोपटक भारत, इटाली र फिलिपिन्समा समेत भाइरस संक्रमणका बिरामी फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।
संक्रमण फैल्ने त्रासमा चीनमा मात्रै करीब छ करोड ब्यक्ति एक सातादेखि शहर बाहिर निस्किन सकेका छैनन् । चिनियाँ स्वास्थ्य आयोगका अनुसार बुधबारसम्म वुहान शहरमा नौ हजार ६९२ जना संक्रमित फेला परेका छन् । मङ्गलबार एक हजार ९८२ जना संक्रमित रहेकोमा बुधबार उक्त संख्या नाटकीय रुपमा वृद्धि भई नौ हजार ६९२ पुगेको आयोगले जनाएको छ ।

डब्ल्यु एच ओका महानिर्देशक डा. टेड्रसले चीनमा के भइरहेको भन्दा पनि स्वास्थ्य क्षेत्रमा कमजोर पूर्वाधार रहेका राष्ट्रमा छिटो संक्रमण फैल्न सक्ने जोखिमले गर्दा संकटकाल घोषणा गरिएको बताउनुभयो । विश्व स्वास्थ्य संगठनले भने १८ राष्ट्र कोरोना भाइरसको ९८ जना संक्रमित फेला परेको प्रष्ट्याएको छ । उहाँले चिनियाँ सरकारले संक्रमण रोक्न गरिरहेको प्रयासको प्रशंसा गर्नुभएको छ ।
विश्व स्वास्थ्य संगठनले यसअघि पाँचपटक स्वास्थ्य संकटकालको घोषणा गरेको छ । सन् २००९ मा डब्ल्यु एच ओले स्वाइन फ्लुको संकटकालको घोषणा गरेको थियो । एच वान एन वान भाइरसले विश्वका करीब दुई लाख सर्वसाधारणको मृत्यु भएको थियो ।
२०१४ मा पोलियो, २०१६ मा जिका र २०१४ तथा २०१९ मा इबोला भाइरसको संक्रमणपछि डब्ल्यु एच ओले संकटकालको घोषणा गरेको थियो ।
अमेरिकाद्वारा चीन भ्रमणमा रोक
यसैबीच अमेरिकाले चीन भ्रमणमा ननिस्कन आफ्ना नागरिकलाई सचेत गराएको छ । अमेरिकाको स्टेट डिपार्टमेन्टले ‘लेभेल फोर’को चेतावनी दिदै भ्रमणमा रोक लगाएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?