logo
२०८० चैत्र १६ शुक्रवार



पर्यटन प्रवर्द्धनका लागि ‘बिवाक’: खुम्बु क्षेत्रका पर्यटक भित्रिने आशा

पर्यटन |


पर्यटन प्रवर्द्धनका लागि ‘बिवाक’: खुम्बु क्षेत्रका पर्यटक भित्रिने आशा


कैलाश लामा

चरिकोट दोलखा, माघ ५ गते । भ्रमण वर्षलाई लक्ष्यित गर्दै दोलखाको प्रख्यात रोल्वालिङ उपत्यकामा पदयात्रीहरुलाई बसोबासको लागि पहिलोपटक बिवाक (आश्रय स्थल) निर्माण गरिएको छ ।

स्वदेशी तथा विदेशी पर्यटकहरुको चहलपहल रहने गरेको गौरीशंकर गाउँपालिकाको वडा नम्बर–९ रोल्वालिङ उपत्यका स्थित टासिलाप्चामा हालै ‘डेभिड लामा बिवाक’ निर्माण गरिएको हो ।
अस्ट्रियाका नागरिक जोसेफ आइनवालकरको आर्थिक सहयोगमा पाँच हजार २८० मिटरको उचाई अवस्थित उक्त क्षेत्रमा बिवाक निर्माण गरिएको पर्वतारोही स्थानीय फुर्बा ठिले शेर्पाले जानकारी दिनुभयो ।

गौरीशंकर –९ नाँ गाउँका शेर्पाले बिवक निर्माणसंगै च्छो–रोल्पा हिमताल, दूध कुण्ड, गौरीशंकर हिमाल, यलुङरी, रम्दुङ र फरछ्यामु पिक गरि २१ भन्दा बढि आरोहण गर्न सकिने पिकहरु अवस्थित रोल्वालिङ क्षेत्रमा पर्यटन विकास हुनेमा आशावादी रहेको बताउनुभयो । चार पटकसम्म सगरमाथा आरोहण गरिसकेका उहाँले भन्नुभयो ‘यो बिवाकको स्थापनाले रोल्वालिङ क्षेत्रमा पर्यटनको विकाससंगै आम मान्छेको जीवनस्तर समेत उक्सिने अपेक्षा लिएका छौ।’

टासीलाप्चादेखि पारीको खुम्बु क्षेत्रले पर्यटन व्यवसायमा उल्लेखनीय फड्को मारिरहँदा वारीको रोल्वालिङलाई पनि सोही हाराहारीमा लैजाने उदेश्यले अस्ट्रियाका जोसेफले बिवाक निर्माण गरिदिएका थिए ।

रोल्वालिङ क्षेत्रबाट ‘टासीलाप्चा पास’ पार गरेर दुई दिन खुम्बु क्षेत्र पुगिन्छ । पहिलेपहिले पर्यटक र स्थानीय यही ‘पास’ पार गरेर ओहोरदोहोर गर्थे । तर पछि सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बु क्षेत्रको लागि काठमाडौँबाट सिधा हवाई सुविधा जोडियो । टासीलाप्चा क्षेत्रबाट खुम्बु जानलाई जोखिम रह्यो । बिचमा होटलहरु नहुने हुँदा पुरै क्याम्पिङ गरेर जानु पथ्र्यो । त्यो महँगो मात्र होइन, जोखिमयुक्त पनि थियो । त्यसैले रोल्वालिङको बाटो प्रयोग गर्न छाडिएको अर्का पर्वतारोही स्थानीय पेम्बा गेल्जी शेर्पा बताउनुहुन्छ ।

उहाँले पर्वतारोही फुर्वा तेन्जिङ शेर्पा र जोसेफको पहलमा युवा आरोही स्वर्गिय डेभिड लामाको सम्झनामा निर्माण गरिएको ‘डेभिड लामा बिवाक’ ले पुनः रोल्वालिङ उपत्यका हुँदै खुम्बु क्षेत्रसम्मको पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो ।

करिब एक लाख युरो डलर लागतमा निर्माण गरिएको बिवाक सुविधा सम्पन्न र आकर्षक छ । निर्माण गर्न भन्दा पनि विदेशबाट पानी जहाजमा सामाग्री ल्याउन र टासीलाप्चासम्म हेलिकप्टरबाट पु¥याउदा लागत बढेको थियो ।

चट्टानमाथि राखिएको यो आश्रय स्थलमा बास बसेर पदयात्रीहरू खुम्बु क्षेत्र जान र खुम्बु क्षेत्रबाट आएर त्यहाँ बास बस्न सक्छन् । यसले पदयात्रीलाई सुरक्षित बनाउनुका साथै खर्च घटाउने विश्वास गरिएको छ ।

राजधानी काठमाडौंबाट १५ दिनको यात्रा तय गरे रोल्वालिङ क्षेत्रको भ्रमण गर्दै खुम्बु क्षेत्र पुगेमा यात्रा स्मरणीय रहन्छ । काठमाडौंबाट सडक यातायातबाट जगत तथा गोंगरमा पहिलो बास, सिमीगाउँ तथा सुरमुचेमा दोस्रो बास, क्याल्चे तथा ढोङखाङमा तेस्रो बास, वेदिङमा तेस्रो बाँस र नाँ गाउँमा चौथो बाँस बसेपछि च्छो–रोल्पा, दूध कुण्ड, तासी लाप्चा लगाएत विभिन्न पिकमा आरोहण गरि ‘टासिलाप्चा पास’ पार गरि खुम्बु क्षेत्रको सगरमाथासम्म पुग्न सकिने पेम्बा गेल्जी बताउनुहुन्छ ।

हालै निर्माण गरिएको सुविधाजन ४० किलोमिटर दुरीको च्छोरोल्पा पदमार्ग हुँदै रोल्वालिङ उपत्यका भ्रमणका लागि स्वदेशी तथा विदेशी पर्यटक रोल्वालिङ उपत्यका आउने गरेका छन् । चैत, बैशाख, जेठ र असोज, कात्तिक, मंसिर गरि जम्मा ६ महिना पर्यटकको चहलपहल हुने यस क्षेत्रमा उक्त अधिमा सात सय भन्दा बढी पर्यटक आउने गरेको होटल व्यवसायीहरु बताउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?