logo
२०८१ बैशाख १२ बुधवार



जाडोमा न्यानो मात्र होइन फेसन पनि

मनोरञ्जन |


जाडोमा न्यानो मात्र होइन फेसन पनि


यलु जोशी

काठमाडौँ, पुस २० गते । एक समय थियो, जुन बेला जाडो मौसममा शरीरलाई न्यानो पार्न जस्तोसुकै लुगा पनि लगाइन्थ्यो । तर अहिले भने मानिसको रोजाइ, सोचाइ, चाहना र समयमा परिवर्तन आएको छ । विशेषगरी युवापुस्तालाई जाडोमा न्यानो कपडा भएर मात्र पुग्दैन । हेर्दा सुन्दर र आकर्षक देखिन पनि उनीहरूको प्राथमिकतामा पर्ने गर्छ । चिसोबाट जोगिनुका साथै साथीभाइमाझ होस् वा कार्यालयमा आफूलाई स्टाइलिस लुक दिन युवापुस्ता चासोको विषय नै हुन्छ । जाडोमा पनि फेसनेबल भएर हिँड्न रुचाउने फेसनपारखीका लागि अहिले धेरै उपाय रहेका फेसन डिजाइनरहरू बताउँछन् ।
‘मलाई त जाडोमा पनि चिटिक्क भएर हिँड्न मन लाग्छ,’ न्युरोडमा जाडोको सपिङ गर्दै भेटिएकी सनसा पोखरेलले भन्नहुन्छ, ‘‘न्यानो पनि होस् र स्टाइलिस पनि देखियोस् भनेर फेसनेबल पहिरनको खोजीमा आएकी हुँ ।’’ पोखरेलजस्तै मौसमअनुसार फेसनमा चाख राख्ने धेरै युवती तथा युवक राजधानीका विभिन्न ब्यापारी केन्द्रमा भेटिन्छन् ।
बानेश्वर गरिमा बुटिककी सञ्चालक तथा फेसन डिजाइनर शान्ति प्रसाईं आफूले लगाएको पहिरन अनुसारको रङ मिलाएर टोपी, मफलर र पञ्जा लगाउँदा उनीहरू झनै आकर्षक देखिने भनाइ छ ।
‘‘जाडोमा हाइनेकबाहिर पन्चु वा डिजाइनर जम्पर लगाउँदा पनि राम्रो देखिन्छ । यसले मोटो र भद्दा शरीर भएकाको शरीर ढाकेर ‘स्टाइलिस लुक’ दिन सहयोग पु¥याउँछ,’’ उहाँले बताउनुभयो ।
गर्मीयामभन्दा जाडो महिनामा कपडाको व्यापार राम्रो हने कपडा व्यापारी धिरज श्रेष्ठ बताउनुहुन्छ । नेपाल उल हाउस भोटाहिटीका प्रोप्राइटर ज्ञानेन्द्ररत्न तुलाधर युवापुस्तामा पन्चुको फेसन निकै लोकप्रिय बन्दै गएको बताउनहुन्छ । पन्चु लगाउन थालेका छन् । सल ओड्न झन्झट मान्नेहरूका लागि पन्चु एकदमै राम्रो विकल्प हो ।
जाडो मौसममा परम्परागत लुगाहरूको पनि फेसन निकै बढेको फेसन डिजाइनर आस्तिक शेरचन बताउनुहुन्छ ।
जाडो मौसममा कस्तो भित्री वस्त्र लगाउने भन्ने चिन्ता सबैलाई हुन्छ । यस्ता कपडा लगाउनु भनेको जाडोबाट जोगिनु मात्र होइन, फेसनमा रमाउनु पनि हो । भित्री कपडा न्यानो र कसिलो भयो भने बाहिरबाट उकुसमुकुस हुने गरी बाक्लो स्विटर वा ज्याकेटहरू लगाइरहनु पर्दैन । हल्का र छरितो कपडा बाहिरबाट लगाउँदा हिँडडुल गर्न सहज हुन्छ ।
नेपाली बजारमा धेरै किसिमका भित्री पहिरन उपलब्ध छन् । जाडो मौसम सुरु हुनासाथ यस्ता कपडाको माग बढ्छ । थर्मल (थर्मकोट), मोजा, हाइनेक, लेगिङ्स जस्ता पहिरन जाडोमा धेरै बिक्री हुन्छन् ।
बजारमा उपलब्ध थर्मल जाडो मौसममा धेरै बिक्री हुने पहिरन हो । बजारमा पाइने जक्की, डलर, अमुल, रोबर आदि ब्रान्डका यस्ता पहिरन लगाउन सजिला तथा न्याना हुन्छन् । महिलाहरूका लागि रातो, गुलाबी र प्याजीका साथै पुरुषहरूका लागि खैरो, कालो र सेतो रङ बढी बिक्री हुन्छ ।
हुन त बाहिरै लगाउन मिल्ने हाइनेकहरू पनि बजारमा उपलब्ध छन् । यद्यपि भित्र लगाउन मिल्ने र न्याना हाइनेक पनि जाडो मौसममा सबैको रोजाइमा पर्छन् । चीन तथा भारतबाट आयात गरिएका हाइनेक सस्ता र न्याना हुन्छन् । फुटपाथमा पनि राम्रा हाइनेकहरू पाइन्छन् ।
जाडो महिनामा स्टाइलिस लुक्स तथा न्यानो प्राप्त गर्न महिलाहरू पन्चु लगाउँछन् । दक्षिण अमेरिकाको पेरुबाट संसारभर फैलिएको पन्चु विशेष गरी सिल्क, ऊन, पस्मिना तथा कश्मीरी ऊनबाट तयार पारिन्छ । बजारमा अहिले ऊनको पन्चुको बाहुल्यता छ ।
आउटर जाडो र गर्मी दुवै मौसममा रुचाइने पहिरन हो । गर्मीमा सुती, नेट तथा जर्जेटजस्ता फ्याब्रिकबाट बनेका हल्का आउटर रुचाइन्छ भने जाडोमा ऊन तथा सिल्कका बाक्ला र न्याना आउटर प्रचलनमा देखिन्छन् । तीन चार वर्षयता फेसनमा देखिएको आउटर विभिन्न रङ तथा डिजाइनमा उपलब्ध छन् ।
बजारमा महिला तथा पुरुषहरूका लागि विभिन्न स्टाइलका ज्याकेट उपलब्ध छन् । यस्ता ज्याकेट लङ लेन्थ, क्याटर लेन्थ, बेस्ट लेन्थ, डेनिम स्टाइल, बम्बर स्टाइल तथा ओभरकोट स्टाइलमा उपलब्ध छन् । ज्याकेट डाउन, भेल्भेट, सुती, फर, फिल्सजस्ता फ्याब्रिकबाट तयार पारिएका हुन्छन् ।
लङ लेन्थ, क्वाटर लेन्थ, सर्ट लेन्थजस्ता विभिन्न साइजमा उपलब्ध यस्ता कोटमध्ये अहिले कोरियन स्टाइलको कोट बढी प्रचलित छ । विवाहको अवसरका लागि यस्ता कोटको माग बढी देखिन्छ ।
जाडो महिनामा महिलाहरूको पहिलो रोजाइ बुट नै भएको देखिन्छ । एङ्कललेन्थ, क्वाटरलेन्थ तथा लङलेन्थमा उपलब्ध यस्ता बुट फर, भेल्भेट, सावर तथा माइक्रो सिन्थेटिक्सबाट बनेका यस्ता बुट विशेषगरी टिनएजर तथा कामकाजी महिलाहरूबीच बढी लोकप्रिय छ ।
परम्परागत रूपमा तयार पारिएको फेसेनेबल कोट सबैको रोजाइमा परेको छ, जाडो या गर्मी दुवै मौसममा मिल्ने ढाकाको कोट भोजभतेरदेखि कार्यालयका लािग पनि उपयोगी हुन्छ ।

जाडोको पहिरनमा सम्झनुपर्ने कुरा
न्यानोका लागि र स्मार्ट लुकका लागि गोलो गला भएको स्वेटर लगाउन सक्नुहुन्छ । कुनै पनि लाइट कलरको स्वेटरका साथमा नीलो रङको जिन्सले तपाईंको लुक्सलाई अझ आकर्षक देखाउँछ । यसका साथमा गलामा मफलर पनि लगाइयो भने त झन् सुनमा सुगन्ध भइहाल्यो । जाडो महिनामा खैरो, कालो, गाढा निलो, बैजनी आदि रङका कपडा लगाउनुपर्छ । यसले पनि फेसनेबल देखाउनेछ ।
जाडोमा भेडाको ऊन सबैभन्दा प्रभावकारी हुन्छ । यसले चिसोबाट बचाउँछ । साथै भेडाको ऊनको कपडाले आकर्षक लुक पनि दिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?