logo
२०८१ बैशाख ८ शनिवार



मायाले क्यान्सर पीडितको आयु लम्बिन सक्ने- पीडितकाे अनुभव

स्वास्थ्य |


मायाले क्यान्सर पीडितको आयु लम्बिन सक्ने- पीडितकाे अनुभव


होमराज रानाभाट

नवलपरासी कात्तिक १३ गते । पेशाले उहाँ संचारकर्मी, कावासोतीमा रहेको रेडियो मध्यविन्दुमा संचारकर्मीको भूमिकामा पाँच वर्षदेखि, पूर्वी नवलपरासी कावासोती नगरपालिका ४ की उहाँ हुनुहुन्छ – राधा बस्याल ।

उहाँ अहिले क्यान्सर (अर्वुदरोग)बाट मुक्त हुँदै दोश्रो जीवन जिईरहनुहुन्छ । समाजमा क्यान्सरको चेतना फैलाउँदै अहिले दशहजार बढीलाई यससम्बन्धी शिक्षा समेत दिईसकेको उहाँसँग अनुभव छ ।

संचारकर्मीका रुपमा काम गर्दै जाँदा उहाँ विवाह बन्धनमा पनि बाँधिनुभयो, तर उहाँको जीवन विवाहपछि सुःखद हुन्छ भन्ने कल्पना गर्नुभएकी राधाले श्रीमानबाट बारम्बार मानसिक र शारीरिक यातनाका कारण बिहे भएको एक वर्षमा नै उहाँ स्तन क्यान्सरबाट थलिनुभयो ।

क्यान्सर लागेपछि मरिन्छ भन्ने आम मानिसमा रहेको भावनाको बेवास्ता गर्दै उहाँ उपचारमा जुटेपछि माइतिले करिब एक करोड खर्च गरेर सफल भएको राधा बस्याल बताउनुहुन्छ ।

‘‘क्यान्सर जटिल र धेरै खर्च लाग्ने रोग रहे पनि बुबाले हिम्मत हार्नु भएन र म यो संसारमा आज बाँच्न पाएको छु । श्रीमान्बाट सहयोगको साटो शारीरिक र मानसिक याताना सहन नसकेर आत्महत्या गरुँ कि जस्तो पनि लाग्थ्यो तर हिम्मत हारिन । आज क्यान्सरलाई जितेर क्यान्सर सचेतना अभियानमा जुटकी छु ।’’ राधा भन्नुहुन्छ ।

पत्रकारिता सँगसँगै उहाँले अहिले राधा क्यान्सर सचेतना फाउण्डेशन संस्था खोलेर क्यान्सर विरुद्धको सचेतनामा दिनरात लाग्नुभएको पत्रकार महासंघका जिल्ला सचिव प्रेमप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

क्यान्सर सचेतना फाउण्डेशनमा राधालाई अहिले पनि जिल्लाका संचारकर्मीहरु श्रीराम सिग्देल, वीरेन्द्र पराजुली, प्रेम न्यौपाने, कमला राना, खगराज सापकोटा, कल्पना कुँवर, मीना कँडेल, दीपक शर्मा, धनु भूषाल, रेमु थापा, ज्ञानु पंगेनीलगायतका एकदर्जन बढी संचारकर्मीहरुले सहयोग गरिरहेका छन् ।

राधा क्यान्सर सचेतना फाउण्डेसनले समाजमा क्यान्सरको बारेमा सचेतनाका कार्यक्रम संचालन गर्नाले महिलाहरुमा रोग लुकाउनु हुन्न भन्ने भावनाको विकास भएको कावासोती नगरपालिकाका वडा नं ५ का वडाध्यक्ष हरि बाँस्तोला बताउनुहुन्छ ।

क्यान्सर रोगलाई कसरी निराकरण गर्न सकिन्छ त्यसतर्फ कार्ययोजना नै बनाउने र क्यान्सर पीडितहरुका लागि केहि हदसम्म भए पनि सहजताको वातावरण बनाउने नगरपालिकाले जनाएको छ ।

हरेक ठाउँमा हुने सचेतनाका कार्यक्रममा उहाँले क्यान्सर हुँदा भोगेको र बुझेको एक वर्षे अनुभव साटासाटा गर्नुहुन्छ । अध्यक्ष बस्यालका अनुसार परिवारबाट पाउने साहस र मायाले क्यान्सर पीडितको आयु लम्बिन सक्ने भएकाले सबैले पीडितलाई माया, हौसला पु¥याउनु पर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?