logo
२०८१ बैशाख ८ शनिवार



स्वास्थ्यचौकीको भवन निर्माण   

स्वास्थ्य |


स्वास्थ्यचौकीको भवन निर्माण   



म्याग्दी, असोज २० गते । दश वर्षसम्म एउटा कोठाबाट सञ्चालन भएको अन्नपूर्ण गाउँपालिका–६ घारको स्वास्थ्यचौकीको सुविधा सम्पन्न भवन निर्माण भएको छ ।    
    
शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीले रु एक करोड ५६ लाख लागतमा मा भूकम्प प्रतिरोधी क्षमताको दुई तले भवन निर्माण गरेको हो । भवन निर्माणपछि सेवा प्रवाहमा सहज भएको स्वास्थ्यचौकीका प्रमुख रिसव पाण्डले बताउनुभयो । भवन अभावमा गाउँ संरक्षण व्यवस्थापन समितिको भवनको एउटा कोठाबाट स्वास्थ्यचौकी सञ्चालन गरिएको थियो । साँघुरो कोठामा बिरामीको स्वास्थ्य परीक्षणदेखि औषधि भण्डारण, प्रशासनिक, प्रसूति सेवा प्रभावकारी हुन सकेको थिएन ।    
    
नयाँ भवनमा प्रशासनिक, खोप, गर्भ जाँच, क्षयरोग, परिवार नियोजन, डेसिङ, स्वास्थ्य परीक्षण, नाम दर्ता, औषधि भण्डारण, औजार निर्मलीकरण, प्रसूति, औषधि वितरणलगायत ११ वटा कोठा छन् । १५ जनासम्म बिरामीलाई उपचार गर्न मिल्ने पूर्वाधार तयार भएको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताउनुभयो । सभाहल र दुई परिवार कर्मचारीको आवासका लागि तीन÷तीन वटा कोठा पनि छन् । स्वास्थ्यचौकीको भवन निर्माणका लागि स्थानीयवासीले जग्गाको व्यवस्था गरेका थिए । भवन निर्माणका लागि रुपा बरुवालले एक रोपनी र स्थानीय गोविन्द खड्काले आठ आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो ।    
    
 रु आठ लाख जुटाएर दुई रोपनीभन्दा बढी जग्गा खरीद गरी स्वास्थ्यचौकीलाई उपलब्ध गराइएको स्थानीय ठगराज बरुवालले बताउनुभयो । घारको निमरुख भन्ने ठाउँमा स्थानीयले उपलब्ध गराएको चार रोपनी एक आना क्षेत्रफल जग्गामा नयाँ भवन निर्माण भएको हो । २०७४ पुसमा शुरु भएको भवन निर्माण गत असारमा सकिएर हस्तान्तरण भएको थियो । असोज १ गतेदेखि नयाँ भवनबाट सेवा प्रवाह शुरु गरिएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?