logo
२०८१ बैशाख ७ शुक्रवार



पूर्वी नवलपरासीमा डेङ्गु विरामीको सङ्ख्यामा वृद्धि

स्वास्थ्य |


पूर्वी नवलपरासीमा डेङ्गु विरामीको सङ्ख्यामा वृद्धि


नवलपरासी समाचारदाता
कावासोती भदौ ३१ गते । पछिल्लो समयमा पूर्वी नवलपरासीमा डेङ्गुका विरामीको सङ्ख्यामा वृद्धि भएको छ । पूर्वी नवलपरासीमा मात्रै १०५ जना डेङ्गुका रोगी भेटिएको जिल्ला स्वास्थ्य कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

पूर्व पश्चिम महेन्द्र राजमार्गसँग जोडिएका जिल्लाका बजार क्षेत्र र आसपासका बस्तीहरुमा डेङ्गुको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय पूर्वी नवलपरासीका प्रमुख ख्याम केसीले बताउनुभयो ।

केसीका अनुसार गैँडाकोट नगरपालिकामा सबैभन्दा बढि डेङ्गुको संक्रमण देखिएको छ । पछिल्लो तथ्याङ्क अनुसार गैँडाकोट नगरपालिकामा मात्रै ७२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

त्यसैगरी, देवचुली नगरपालिकामा १५ जना, कावासोती नगरपालिकामा १७ जना र मध्यबिन्दु नगरपालिकामा एक जनामा डेङ्गुको संक्रमण देखिएको छ । जिल्लाको पहाडी क्षेत्रका स्थानीय तहमा भने अहिले सम्म कसैमा पनि डेङ्गुको संक्रमण नदेखिएको केसीले बताउनुभयो ।

डेङ्गुका संक्रमितहरुको अहिले मध्यबिन्दु जिल्ला अस्पताल, स्थानीय अस्पताल र चितवनका विभिन्न अस्पतालहरुमा उपचार भैरहेको प्रमुख केसीले बताउनुभयो । त्यस्तै डेङ्गुका विरामीहरुको परीक्षणका लागि कावासोती नगरपालिकाले मध्यबिन्दु जिल्ला अस्पताललाई एकसय थान किट उपलब्ध गराएको छ ।

डेँगुका विरामीको परीक्षणका लागि किट अभाव नहोस भन्ने उद्देश्यले उक्त किट उपलब्ध गराईएको कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनिया थारुले बताउनुभयो ।

जिल्लामा डेङ्गुका विरामीको संख्या बढ्न थालेपछि यहाँका नगरपालिका र गाउँपालिकाहरुले विभिन्न सामुदायिक संघसंस्था सँगको सहकार्यमा लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियानलाई समेत तीव्रता दिएका गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले बताउनुभयो ।

पछिल्लो समयमा जिल्लामा दिनहुँजसो बजार क्षेत्र लक्षित विभिन्न अभियानहरु समेत सञ्चालन भईरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?