logo
२०८१ बैशाख ८ शनिवार



डेङ्गुको भय बढ्दै   

स्वास्थ्य |


डेङ्गुको भय बढ्दै   


गाईघाट, भदौ ४ गते । उदयपुर जिल्लाको कटारी नगरपालिकासहित कटारी बजारमा पनि डेङ्गुको भय बढेको छ । एक हप्ताभित्र मात्र कटारी क्षेत्रमा डेङ्गुबाट २९ जनाभन्दा बढी प्रभावित भई बिरामी परेका छन् भने अन्य डेङ्गुबाट प्रभावित बिरामीसमेत अहिले उपचारको लागि कटारी अस्पतालमा आउने क्रम बढ्दै गएको बताइएको छ ।    
    
 अस्पतालका प्रमुख डा पवन साहकाअनुसार १५ श्ययाको कटारी अस्पतालमा अहिले डेङ्गुका बिरामीले अस्पतालका श्यया भरिभराउ भएपछि बाँकी डेङ्गुका बिरामीलाई भूईंमा राखेर उपचार गर्न बाध्य हुन परेको छ । डा साह भन्नुहुन्छ, “अहिलेसम्म २९ डेङ्गुका बिरामीको उपचार गरिरहेका छौँ, केही उपचारपछि घर फर्केका छन् ।”    
    
 अस्पताल आएका तीन बिरामीको अवस्था गम्भीर भएकाले एक जनालाई धरानस्थित बिपी मेमोरियल अस्पताल, एकको विराटनगर र अर्का बिरामीलाई काठमाडौँ पठाउन सिफारीस गरिएको डा साह बताउनुहुन्छ । कटारी बजारमा अहिले डेङ्गुको व्यापक प्रभाव देखिएपछि नगरपालिकाले व्यापक नगर सरसफाइ अभियान तथा लामखुट्टे हटाउने अभियान शुरु गरेको नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो ।    
    
 उहाँका अनुसार डेङ्गुबाट बच्न नगरपालिकाले कटारी बजार र गाउँघरमा सडक खाल्डा, नालाको व्यापक सरसफाइ अभियान थालिएको छ । लामखुट्टे हटाउन ‘स्प्रे’ छर्कने कामदेखि लामखुट्टे मार्ने ग्यास बाल्ने कार्यसमेत गरिएको छ ।    
    
 स्थानीय सञ्चारमाध्यबाट र नगरपालिकाले माइकबाटसमेत आह्वान गरेर लामखुट्टेबाट सतर्क हुन नगरवासीलाई आग्रह गरिएको छ । प्रदेश नं– १ अन्तर्गतको स्वास्थ्य मन्त्रालयको प्राविधिक टोलीले डेङ्गुको अनुगमन गरेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । डेढ महीनाअघि कटारीमा दुई जनामा देखा परेको यो रोग अहिले फैलिँदै गएपछि उच्च सतर्कता अपनाउन थालिएको छ ।    
    
 जिल्लाको त्रियुगा नगरपालिका, चौदण्डीको हडिया, सुन्दपुर, बसाहा, बेल्टार र बेलका नगरपालिकाको पुरनदह, भागलपुर, तपेश्वरी, रामपुरसहितका स्थानमासमेत अहिले केही मानिसमा डेङ्गु सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । कटारीसहित अन्यत्रसमेत गरी ४५ भन्दा बढी मानिस डेङ्गुबाट प्रभावित भएको पनि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश खकुरेलले जानकारी दिनुभयो । (रासस)   

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?