logo
२०८१ बैशाख १३ बिहीवार



मच्छिन्द्रलाई हराउँदै एपिएफ फाइनलमा

फुटबल |
खेलकुद |


मच्छिन्द्रलाई हराउँदै एपिएफ फाइनलमा


पोखरा, माघ १२ गते । विभागीय टोली नेपाल एपिएफ क्लब पोखरामा जारी २०औँ संस्करणको आहा रारा गोल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा एपिएफले १० खेलाडीमा सीमित मच्छिन्द्र क्लबलाई ३–१ गोलले हरायो ।

एपिएफलाई जिताउन सनिश श्रेष्ठ, प्रदीप लामा र नविन लामाले गोल गर्नुभयो । मछिन्द्रका ओमोलाजा करिमले सान्त्वना गोल फर्काउनुभयो । २५औँ मिनेटमा सनिशले मणि लामाको पासमा गोल गर्दै एपिएफको उत्साह जगाउनुभयो । तर, ४०औँ मिनेटमा मच्छिन्द्रका ओमोलाजाले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो ।

६८औँ मिनेटमा प्रदीपले गोल गर्दै एपिएफलाई पुनः अग्रता दिलाउनुभयो । उहाँले नविन लामाको पासमा गोल गर्नुभएको थियो । मच्छिन्द्र ७१औँ मिनेटमा १० खेलाडीमा समेटियो । करिम दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि मच्छिन्द्रले थप दबाब झेलेको थियो । त्यसपछि इन्जुरी समयमा नविनले गोल गर्दै एपिएफलाई फाइनलमा पु¥याउनुभयो ।

उपाधिका लागि एपिएफले मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । मनाङ र आर्मीबीचको सेमिफाइनल खेल बिहीबार हुनेछ । सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?