logo
२०८० चैत्र १६ शुक्रवार

  दृश्य समाचार  



औषधि लिमिटेडद्वारा दैनिक तीन लाख सिटामोल उत्पादन, अभाव नहुने

अर्थ |
स्वास्थ्य |


औषधि लिमिटेडद्वारा दैनिक तीन लाख  सिटामोल उत्पादन, अभाव नहुने


सिर्जना खत्री, दृश्यमा मनाेजरत्न शाही/केशब गुरूङ

काठमाडौँ, माघ ११ गते । नेपालमा पछिल्लो केही दिनयता कोरोना भाइरसको तेस्रो लहरको संक्रमण तीब्र गतिमा फैलिएसँगै बजारमा पारा सिटामोल अभाव देखिएको छ । औषधि पसलमा सजिलै उपलब्ध हुने पारा सिटामोल केही सातादेखि बजारमा अभाव भएको हाे । कोरोना भाइरस संक्रमणको एउटा लक्षण ज्वरो आउनु हो । सिटामोल फार्मेसी पसलमा चहार्दा पनि नपाइएको गुनासो उपभोक्ताको छ । पुस महिनायता कोरोना संक्रमितको संख्या एक्कासी वृद्धि भएपछि सिटामोलको अभाव भएको हाे ।

सिटामोल अभाव भएको गुनासो आएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले गत बुधबार चासो राख्नुभएको थियो । उहाँले सिटामोल अभाव हुन नदिन आवश्यक पहल गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने सिटामोल अभाव नभएको दाबी गरेको छ । मन्त्रालयले एक करोड चक्की भन्दा बढी सिटामोल सरकारसँग स्टकमा रहेको बताएकाे छ । पथलैया भण्डारण केन्द्रबाट सबै प्रदेशमा पाँच सय एमजीका पारा सिटामोल पठाइएको मन्त्रालयकाे दाबी छ ।
औषधि व्यवस्था विभाग, नेपाल औषधि उद्योग लिमिटेड र निजी उत्पादक कम्पनीले बिहीबारदेखि उपत्यकासहितका बजारमा सहज रूपमा सिटामोल उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । तर, बजारमा भने अझै पारा सिटामोल सहजै नपाइएको उपभोक्ताको गुनासो छ ।

सरकारी स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले उद्योगको क्षमताले भ्याएसम्म पारा सिटामोल उत्पादन गरेर बजारमा पठाएको बताएकाे छ । लिमिटेडका प्रबन्ध निर्देशक मोहम्मद सफिउल्ला पहिलाकै पहिलाकै अनुपातमा लिमिटेडले पारा सिटामोल उत्पादन गरेर बजार पठाएको दाबी गर्नुहुन्छ।

उहाँका अनुसार औषधि बनाउन चाहिने कच्चा पदार्थको अभावले दुई हप्ता पारा सिटामोलको उत्पादन रोकिएको थियो । तर, ३० लाख ट्याब्लेट सिटामोल उत्पादन हुने कच्चा पदार्थ आइसकेकाे छ । कच्चा पदार्थ आएसँगै फेरि उत्पादन सुरू भएकाे छ । शनिबारबाटै पुरानै अनुपातमा सिटामोल बजारमा पठाउन थालिसकेको उहाँको भनाइ छ । औषधि लिमिटेडसँग प्रतिदिन तीन लाखभन्दा बढी ट्याब्लेट सिटामोल उत्पादन गर्ने क्षमता छ ।


औषधि लिमिटेडका प्रबन्ध निर्देशक सफिउल्लाहसँग बजारमा किन सिटामोल अभाव भयो ? नेपाल औषधि लिमिटेडले हरेक दिन कति मात्रामा सिटामोल उत्पादन गर्छ ? बजार मागको कति प्रतिशत सिटामोल लिमिटेडको उत्पादनले धानेको छ ? लगायतका प्रश्न सोधेका छौँ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?