logo
२०८० चैत्र १६ शुक्रवार



अस्पतालमै शिशु र आमाको मृत्यु : परिवारले शव उठाउन मानेनन्

समाज |


अस्पतालमै शिशु र आमाको मृत्यु : परिवारले शव उठाउन मानेनन्
मृतक सलिना कार्कीको शव । तस्बिर : राजन रावत


राजन रावत

हुम्ला समाचारदाता
हुम्ला माघ ८ गते । तीन दिन अगाडि अस्पतालको प्रसूति गृहमा शल्यक्रिया गरिएकी महिला र नवजात शिशुको मृत्यु भएको छ । शल्यक्रिया गरेको एक दिनमा नवजात शिशु तथा अस्पतालमै उपचाररत आमाको तीन दिनपछि मृत्यु भएको हो । स्वास्थ्य सेवा कार्यालय अन्र्तगतको प्रसूति गृहकी इन्चार्ज वरिष्ठ अनमी सरिता बोहराले नवजात शिशु र आमाको दुई दिनको अन्तरमा मृत्यु भएको जानकारी दिनुभयो ।

सिमकोट गाउँपालिका–५ की सलिना सार्कीको शल्यक्रियापछि मृत्यु भएको हो । मृतकका ससुरा धनसिंह सार्कीले मृतक सार्कीलाई सुत्केरी व्यथाले च्यापेर घरमा बच्चा जन्माउन नसकेपछि जिल्ला अस्पताल हुम्लामा ल्याएको बताउनुभयो ।

शल्यक्रिया गरेको दुई दिनसम्म सार्कीको स्वास्थ्यमा उल्लेखनीय सुधार भए पनि शुक्रबार साँझ अचानक समस्या देखिएको थियो । जिल्ला अस्पताल प्रशासनले उपचारका लागि गरिएको प्रयास असफल भएको बताएको छ । उद्धारका लागि हेलिकप्टर बोलाए पनि तत्काल हेलिकप्टर पुग्न नसकेको अस्पतालले जनाएको छ ।

चन्दनाथ नगरपालिका– ८ कोटिला गाउँमा रहेका माइती पक्षले आफ्नो उपस्थिति बिना शव नउठाउन आग्रह गरेपछि अस्पतालमै राखिएको छ । प्रहरी नायव उपरीक्षक हरेम्ब शर्माले प्रहरीले माइती पक्षलाई बोलाएर शव उठाउने तयारी भएको बताउनुभयो ।

माइती पक्षले आफ्नो छोरीको मृत्यु भएको विषयमा बुझेर मात्र शव उठाउन दिने जनाएका छन् । हुम्लामा अस्पतालको प्रसूति गृहमा शल्यक्रियाबाट बच्चा जन्माएकी सुत्केरीको पहिलो पटक मृत्यु भएको हो।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?