logo
२०८० चैत्र १५ बिहीवार



एमाले महाधिवेशन एक दिन लम्बिँदा करिब एक करोड खर्च बढ्यो

राष्ट्रिय |
प्रदेश |


एमाले महाधिवेशन एक दिन लम्बिँदा करिब एक करोड खर्च बढ्यो


शालिग्राम नेपाल
सौराहा, (चितवन), मङ्सिर १३ गते । नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशन लम्बिएपछि थप एक दिन खान र बस्नको व्यवस्था मिलाइएको छ । पार्टीले दिएको जानकारीअनुसार एक दिनको लम्ब्याइले करिब एक करोड रुपियाँ खर्च हुने आँकलन गरिएको छ ।

तोकिएको समयमा महाधिवेशन सम्पन्न नभएपछि थप व्यवस्था मिलाइएको आवास व्यवस्थापन समितिका संयोजक कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो । “सर्वसम्वत गर्ने प्रयास गरेकाले समय लम्बिएको छ यसबाट थप ७० लाख रुपियाँ खर्च वृद्धि भएको छ” उहाँले भन्नुभयो ।

महाधिवेशनमा २२ सय ७५ प्रतिनिधि, अतिथि र स्वयंसेवक गरी ३५ सय जनाको लागि होटलका बेड बुकिङ गरिएको छ । त्यसमा प्रतिनिधि बसेको होटलले तीन छाक खानाको व्यवस्था गर्ने सम्झौता भएको थियो । खाना र बेडका लागि एमालेले होटल व्यवसायीसँग एक करोड ९० लाख रुपियाँमा सम्झौता गरेको थियो ।

मङ्सिर १२ गते सकिने भनिएको महाधिवेशन बन्दसत्र सहमतिको प्रयासका कारण लम्बिएको छ । अध्यक्षलगायत केही पदमा चुनाव हुने निश्चित भएको छ । निर्वाचनका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गरिसके पनि मतदान सुरु राती ९ बजेपछि मात्र हुने कार्यतालिका छ ।

बन्दसत्र लम्बिएपछि एमालेले थप एक दिन खाना खुवाउन व्यवसायीहरुलाई आग्रह गरेको छ । सोमबार दिउँसो र बेलुकाको खाना, मङ्गलबार बिहानको ब्रेकफास्ट र बेडको व्यवस्था गर्नेगरी अर्काे सम्झौता भएको क्षेत्रीय होटल व्यवसायी सङ्घ सौराहाका अध्यक्ष दिपक भट्टराईले जानकारी दिनुभयो ।

थप एक दिन खाना र बेडको लागि करिब ७० लाख रुपियाँमा सम्झौता भएको उहाँले बताउनुभयो । मङ्गलबार बिहानको खाजा खाएर जाने गरी सम्झौता भएको उहाँको भनाइ छ । बन्दसत्र लम्बिएपछि टाढा घर भएका प्रतिनिधिहरु भने फर्किसकेका छन् । महाधिवेशन लम्बिदा व्यवस्थापनलगायतका विषयमा एक करोड रुपियाँभन्दा माथि खर्च बढ्ने अनुमान एमालेले गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?