logo
२०८० चैत्र १५ बिहीवार



युएईमा कामदार पठाउने विषयमा छलफल

अर्थ |


युएईमा कामदार पठाउने विषयमा छलफल


गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ११ गते । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र यूएईका मानव संशाधन मन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारबीच बुधबार भेटवार्ता भएको छ ।
भेटमा मन्त्री श्रेष्ठले युएईमा कार्यरत नेपाली श्रमिकको हकहित र सामाजिक सुरक्षाका विषयमा युएईका मानव संशाधन मन्त्री अवारसँग छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

सो क्रममा नेपाल–युएई द्विपक्षीय बैठक आयोजना गर्ने, युएई जाने नेपाली कामदार लक्षित सीपमूूलक तालिम सञ्चालन गर्ने, इन्जिनियर, चिकित्सक, नर्सलगायत दक्ष र प्राविधिक कामदार युएई पठाउने, सामाजिक सुरक्षा योजना विस्तार गर्नेलगायतका विषयमा छलफल भएको थियो ।
आबुधाबी डायलगको छैटौँ मन्त्रीस्तरीय बैठकमा सहभागी नेपाली टोलीले आबुधाबीमा अन्य कूटनीतिक भेटघाटसमेत गरेको छ । नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा भोग्दै आएका समस्या समाधानमा केन्द्रित रहेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले कतार, साउदी अरेबिया र मलेसियाका समकक्षीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभयो ।
कतारसँगको सचिवस्तरीय बैठकमा द्विपक्षीय श्रम सम्झौता, नोभेम्बर ८ र ९ मा हुने संयुक्त बैठकको तयारीका साथै नेपाली श्रमिक लक्षित तालिम केन्द्र स्थापनाको विषयमा छलफल भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?