logo
२०८० चैत्र १६ शुक्रवार



सुनसरी–मोरङ औद्योगिक करिडोरमा औद्योगिक सर्वेक्षण सुरु

अर्थ |


सुनसरी–मोरङ औद्योगिक करिडोरमा औद्योगिक सर्वेक्षण सुरु


नवराज कट्टेल

विराटनगर, असोज १२ गते । उद्योग सङ्गठन मोरङले सुनसरी–मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्याङ्क सङ्कलन गर्न थालेको छ । तथ्य र तथ्याङ्कमा आधारित नीतिगत बहस र पैरवी सञ्चालन गर्न सबै औद्योगिक प्रतिष्ठानको औद्योगिक तथ्याङ्क सङ्कलन गरी ‘डाटाबेस’ तयार गर्ने लक्ष्यसाथ औद्योगिक सर्वेक्षण–२०७८ सुरु गरेको हो ।
सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले पछिल्लो समयको यकिन तथ्याङ्कसहितको औद्योगिक वस्तुस्थिति समेट्ने योजनासहित सर्वेक्षण सुरु गरिएको बताउनुभयो । एक पटक यस्तो ‘डाटाबेस’ तयार भएपछि नियमित रूपमा अद्यावधिक गरिने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
“औद्योगिक क्षेत्रको वस्तुगत पक्ष र आत्मगत पक्ष समेटिएको यकिन तथ्याङ्क तयार गर्ने लक्ष्य राखेका छौँ,” अध्यक्ष प्याकुरेलले भन्नुभयो, “विश्वसनीय तथ्याङ्क तयार गरिनेछ । उद्योग, उद्योगभित्रको जनशक्ति, श्रम र रोजगार, औद्योगिक वातावरण र मजदुरको अवस्थाको समष्टिगत प्रतिवेदन तयार पारिनेछ । ”
सङ्गठनले सञ्चालन गरेको औद्योगिक सर्वेक्षणले सुनसरी र मोरङ गरी सङ्गठनका सदस्य औद्योगिक प्रतिष्ठानको सबै र बाँकी अन्य उद्योगको समेत तथ्याङ्क सङ्कलन गरिने कार्यक्रम रहेको सङ्ठनका महानिर्देशक चूडामणि भट्टराईले जानकारी दिनुभयो । उद्योगका विविध आयाम समेटिएका करिब १०० वटा प्रश्न लिएर पाँच जना गणक तथ्याङ्क सङ्कलनका लागि सबै उद्योग प्रतिष्ठान पुग्नेछन् ।
सङ्गठनले तथ्याङ्कको गुणस्तरीयतालाई ध्यानमा राखी गणकहरूका लागि दुई दिनको तालिमसमेत सञ्चालन गरेको थियो । महानिर्देशक भट्टराईका अनुसार गणकहरूले मोबाइल एपबाट तथ्याङ्क सङ्कलन गर्नेछन् । यसरी सङ्कलन गरिएको तथ्याङ्कको गुणस्तरीयता अनलाइनबाटै अनुगमन गर्न सकिनेछ ।
फ्याक्ट्स नेपाल नामक परामर्शदाता कम्पनीसँगको सहकार्यमा सञ्चालन गरिएको सर्वेक्षणको तथ्याङ्क सङ्कलनको काम असोजभित्रमा सक्ने र मङ्सिरको पहिलो सातासम्ममा सर्वेक्षण प्रतिवेदन तयार हुने जनाइएको छ ।
सङ्गठनले तथ्याङ्क सङ्कलनका लागि खटिई आउने सङ्गठनका प्रतिनिधिहरूलाई आफ्नो उद्योग–व्यवसायसँग सम्बन्धित यथार्थपरक सूचना एवं तथ्याङ्क उपलब्ध गराई सङ्गठनको औद्योगिक तथ्याङ्क र डाटाबेस तयार गर्ने यो अभियानमा साथ सहयोग गर्न सङ्गठनका सदस्य उद्योग प्रतिष्ठान एवं सरोकारवाला सबैमा अपिल गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?