logo
२०८१ बैशाख ७ शुक्रवार



मुक्तक

शनिवार |


मुक्तक


प्रकाश घायल

नजरमा फुल्ने फूलको थुङ्गा सजाउँदै छु
ढुङ्गालाई मूर्ति मनलाई ढुङ्गा बनाउँदै छु
ठूला सपना देख्नु छैन चित्त बुझ्छ थोरैमा
आजकाल आँसु भेलमा डुङ्गा चलाउँदै छु ।
(१)
कहाँ शान्ति मिल्छ र मोहन, मीरा रोएपछि
मनभरि सन्तापको आँसुले पसिना धोएपछि
जसले जे जे भने पनि साक्षी किनाराको सदर
निष्ठापूर्वक गर्नु काम सपथमा गीता छोएपछि ।
(२)
उठ्नै नसक्ने गरी जमिनमा पछारेर गयौ
कलेजी छेउमा सिस्नो, काँडा सारेर गयौ
मन मुटुमै घरघडेरी र सम्पत्ति दिँदा पनि
मलाई एक्लै बिलखबन्दमा पारेर गयौ ।
(३)
बाहिर मिजासिला देखिन्छन्, भित्र गोटी चाल्नेहरू
झन् आगोले पोल्छ भन्छन्, आगोमै हात हाल्नेहरू
आदर्शका प्रवचन दिन्छन्, नैतिकताको कुरा गर्छन्
घर बनाउने सल्लाह दिँदैछन् भएको घर बाल्नेहरू ।
(४)
समस्या परेको बेला आफ्नैले अड्को थाप्छन्
यथार्थ बतायो भने झन्झन् पो झर्को मान्छन्
बाह्र वर्षमा खोला पनि फर्कन्छ भन्थे होइन रहेछ
सम्भावना नदेखेसी विदेश जाने लर्को लाग्छन् ।
(५) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?