logo
२०८१ बैशाख ८ शनिवार



प्रत्येक दुई वर्षमा विश्वकप फुटबल गर्ने प्रस्ताबमा यूरोपेली संघको असहमति

फुटबल |
खेलकुद |


प्रत्येक दुई वर्षमा विश्वकप फुटबल गर्ने प्रस्ताबमा यूरोपेली संघको असहमति
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २२ गते । यूरोपेली फुटबल संघ(यूइएफए)ले प्रत्येक दुई वर्षमा फुटबल विश्वकप आयोजना गर्ने प्रस्तावमा असहमति जनाएको छ । यूइएफएका अध्यक्ष अलेक्जेण्डर सेफेरिनले प्रत्येक दुई वर्षमा आयोजना गर्दा विश्वकप फुटबल तुहिने प्रतिक्रिया दिनुभएको हो ।
फुटबलको सर्बोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा)ले प्रत्येक दुई वर्षमा विश्वकप आयोजना गर्नेबारे सम्भाब्यता अध्ययन गर्दैछ । जसमा महिला र पुरुष दुबै टोलिको विश्वकपको अध्ययन हुँदैछ । सऊदी अरेबिया फुटबल एशोसिएशनले गत् मई महिनामा उक्त प्रस्ताब फिफा समक्ष राखेको थियो । अध्ययन र परामर्श प्रकृयाको काम आर्सनलका पूर्ब प्रशिक्षक आसर्नेन वेङ्गरले गर्नुभएको छ । उहाँले गत् मई महिनामा फिफा विश्वकप र यूरो कप फुटबल प्रत्येक दुई वर्षमा हुनुपर्ने आशय राख्नुभएको थियो ।
सेफेरिनले भन्नुभयो, “विश्वकप फुटबलको गहना र मूल्य भनेकै दुलर्भता हो ।” यूरोपेली क्लब एशोसिएशनको जेनेभामा आयोजित साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, “प्रत्येक दुई वर्षको आयोजनाले बढी अनियमितता, थोरै बैधता प्रदान गर्नेछ, दुर्भाग्यवश विश्वकप फुटबल तुहिन जान्छ ।”
पुरुष विश्वकप सन् १९३० मा सुरु भए यता प्रत्येक चार वर्षमा हुँदै आएको छ । सन् १९४२ र सन् १९४६ मा दोस्रो विश्वयुद्धको कारण सम्भब भएन । महिलातर्फको विश्वकप फुटबल समेत सन् १९९१ मा सुरु भए यता प्रत्येक चार वर्षमा हुँदै आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?