logo
२०८० चैत्र १६ शुक्रवार



नेपाल-भारत मैत्रीपूर्ण फुटबलको दोस्रो खेलमा नेपाल पराजित

फुटबल |
खेलकुद |


नेपाल-भारत मैत्रीपूर्ण फुटबलको दोस्रो खेलमा नेपाल पराजित
तस्बिर : एनफा


गोरखापत्र अनलाइन
कठमाडौं, भदौ २० गते । नेपाल -भारतबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले २-१ को हार व्यहोरोको छ । यस अघि भदा १ै७ गते भएको पहिलो खेलमा नेपाल र भारत १-१ को बराबरीमा रहेका थियो ।

राससका अनुसार भारतका लागि फारुख चौधरी र कप्तान सुनिल क्षेत्रीले गोल गर्नुभयो । नेपालका लागि सान्त्वना गोल तेज तामाङले गर्नुभयो । पहिलो हाफमा प्रदर्शन गरेको खेललाई दोस्रो हाफमा निरन्तरा दिन नसक्दा नेपाल पराजित हुन पुगेको हो । नेपाल र भारत दुवैले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । दुवै टोलीका तर्फबाट पटकपटक गोलको प्रयास गरे पनि सफल भने हुन सकेन ।    
    
दोस्रो हाफमा मैदान प्रवेश गर्नुभएका फारुख चौधरीले खेलको ६२औँ मिनेटमा भारतका लागि पहिलो गोल गर्नुभएको थियो । यस्तै खेलको ८०औँ मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले आफ्नो टोलीका लागि दोस्रो गोल गर्नुभयो । उहाँ बिनाअवरोध सहजै गोल गर्न सफल हुनुभयो । भारतले दुई गोल गरेपछि नेपालले आक्रामक खेल खेल्न पुगेको थियो । खेलको ८७औँ मिनेटमा नेपालका लागि तेज तामाङले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्नुभयो । उहाँले झण्डै २० यार्ड टाढाबाट गोल गर्नुभएको थियो ।    
    
नेपाली टोलीले दोस्रो हाफमा पनि गोल गर्ने उत्कृष्ट मौका पाए पनि त्यसको सदुपयोग गर्न भने सकेन । यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले एक÷एक गोलको बराबरी खेलेका थिए । नेपालका लागि अन्जन विष्टले गोल गर्नुभएको थियो भने भारतका लागि अनिरुद्ध थापाले गोल गर्न सफल हुनुभएको थियो । आज खेलको ७४औँ मिनेटमा भारतीय टोलीका प्रशिक्षक इगिर स्टिमिकले पहेँलो कार्ड पाउनुभएको थियो । भारतविरुद्धको दोस्रो खेलमा नेपालका राजन गुरुङ र गोलकिपर विशाल श्रेष्ठले डेब्यु गर्नुभएको थियो ।    
    
खेलको म्यान अफ दि म्याच नेपालका तर्फबाट तेज तामाङ तथा भारतका तर्फबाट अनिरुद्ध थापा घोषित हुनुभयो । दुवैले जनही रु २५ हजारको चेक र ट्रफी प्राप्त गर्नुभयो । यस्तै प्लेयर अफ दी सिरिज भारतका रहिम अली घोषित हुनुभयो । उहाँले रु एक लाखको चेक र ट्रफी पाउनुभयो । उहाँहरूलाई गृहमन्त्री बालकृष्ण खाण, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले चेक र ट्रफी वितरण गर्नुभयो ।    
    
आजको खेलसँगै नेपाल र भारतबीच २१ पटक फुटबल मैदानमा भिडन्त भएको छ । भारत १४ खेलमा विजयी हुँदा नेपालले दुई खेल मात्र जित्न सकेको छ । दुवै टोलीले पाँच पटक बराबरी खेलेका छन् । विश्व फुटबल महासङ्घ (फिफा) को बरियतामा नेपालभन्दा भारत ६३ स्थान माथि छ । भारत १०५औँ स्थानमा तथा नेपाल १६८औँ स्थानमा रहेको छ ।    
    
अन्तिम समयमा आएर दर्शकलाई मैदानमा प्रवेशको अनुमति दिइएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार काठमाडौँ जिल्ला प्रशासन कार्यालय र कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले खेल हेर्न अनुमति दिएको हो । खेलमा पाँच हजार १०० दर्शकले मैदान प्रवेशको अनमुति पाएका थिए । भातीय टोली नेपालसित खेल्न ६ वर्षपछि नेपाल आएको हो । नेपालले भारतीय टोलीलाई ८ वर्षयता हराउन सकेको छैन । भारतले नेपालको गोलपोष्टमा हालसम्म ३५ गोल गरेको छ भने नेपालले भारतको पोष्टमा ११ गोल मात्र गर्न सकेको छ ।    
    
एन्फाका अनुसार भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जाने छ । नेपाली टोली यही भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ । साफ च्याम्पियनसिप आगामी असोज असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदै छ ।    
    
कप्तान चेम्जोङको कीर्तिमान     
    
भारतविरुद्धको आजको खेलसँगै नेपाली टोलीका कप्तान किरणकुमार चेम्जोङले राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाउनुभएको छ ।    
    
सन् २००८ मा नेपाली राष्ट्रिय टोलीमा डेब्यु गर्नुभएका उहाँले पहिलो खेल कम्बोडियामा भएको एएफसी च्यालेन्ज कपमा मकाउविरुद्ध खेल्नु भएको थियो । उचाइ ६ फिट २ इन्च भएका उहाँ १८ वर्षको उमेरमा नै राष्ट्रिय टोलीमा डेब्यू गर्नुभएको थियो । भारतविरुद्धको आजको खेलसँगै राष्ट्रिय टोलीबाट चेम्जोङले खेलेको खेलको सङ्ख्या ७४ पुगेको छ ।    
    
यसअघि विराज महर्जनको नाममा राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेलेको कीर्तिमान थियो । महर्जनले ७३ खेल खेल्दै खेलबाट सन्यास लिनुभएको थियो । बिहीबार भारतविरुद्धको पहिलो खेल खेल्दै चेम्जोङले महर्जनसित बराबरी गर्नुभएको थियो । उहाँले सन् २०१८ यता नेपाली टोलीको कप्तानी गर्दै आउनुभएको छ । उहाँको नेतृत्वमा नेपालले एएफसी सोलिडारिटी कप र थ्री नेसन्स कपको उपधि जितिसकेको छ । चेम्जोङ दक्षिण एसियाकै उत्कृष्ट गोलकिपरका रूपमा चिनिनुहुन्छ ।    
    
एमाले अध्यक्ष ओली रंगशालामा    
    
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीचको फुटबल खेल अवलोकन गर्न दशरथ रंगशाला पुग्नुभएको थियो । मैत्रीपूर्ण फुटबलको अवलोकन गर्न उहाँ खेल शुरु हुनु अगावै रंगशाला प्रवेश गर्नुभएको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?