logo
२०८० चैत्र १५ बिहीवार



'बार्सिलोनाका एक युग'

फुटबल |
खेलकुद |


'बार्सिलोनाका एक युग'
तस्विर-सान्टिएगो गार्सेज


इश्वरचन्द्र झा
काठमाडौं, साउन २३ गते । लियोनल मेस्सी समकालीन विश्व फुटबलका एक महान हस्ती हुनुहुन्छ । आफ्नो फुटबल जीवनका अधिकांश समय क्लब फुटबलमा बार्सिलोनामा बिताउनुभएका मेस्सी २१ वर्षे यात्रा टुंग्याउनुभएको छ ।
उहाँको आगामी यात्रालाई विभिन्न प्रकारको आँकलन भइरहेको छ । पेरिस सैन्ट जर्माइन(पीएसजी)ले मेस्सीसँग सम्झौता गर्न तत्परता देखाएको छ । पीएसजीको उक्त प्रयास सफल हुने÷नहुने अझै यकीन छैन् । अन्य फुटबल क्लब समेत मेस्सीलाई आबद्ध गराउन इच्छुक छन् । तर क्लब फुटबलमा मेस्सीले बनाउनुभएको कीर्तिमान र छोड्नुभएको पद चिन्ह युवा पुस्ताका लागि अनुकरणीय हुनेछ ।
१३ वर्षको किशोर उमेरमा लियोनल मेस्सी बार्सिलोनाको प्रख्यात ‘ला मेसिया’ एकेड्मीमा आबद्ध हुनुभयो । आबद्ध भएको चार वर्षपछि उहाँ १६ वर्षको उमेरमा सिनियर टोलिका लागि ‘डेब्यु’ गर्नुभयो । उहाँले गत् जुलाई महिनासम्म ७७८ खेलमा बार्सिलोनाको प्रतिनिधित्व गर्नुभयो । ६७२ गोल गर्नुभयो । जसमा च्याम्पियन्स लिगको १२० गोल पनि सामेल छ । क्रिष्टियानो रोनाल्डोपछि च्याम्पियन्स लिगमा उहाँ सर्बाधिक गोलकत्र्ता हुनुहुन्छ । ला लिगामा उहाँले ४७४ गोल गर्नुभएको छ । यूरोपको ‘गोल्डेन शू’ पुरस्कार छ पटक जितेर मेस्सीले कीर्तिमान बनाउनुभएको छ ।
मेस्सीको क्लब फुटबल जीवनसँग जोडिएका सैकडौं महत्वपूर्ण क्षण छन् । जसमध्ये केही यसप्रकार छन् ।
पहिलो हयाट्रिक
मेस्सीले फुटबल जीवनको आफ्नो पहिलो हयाट्रिक सन् २००७ को मार्च १० मा पुरा गर्नुभयो । क्लब फुटबलको एक सबैभन्दा ठूलो खेलमा रियल मड्रिड बिरुद्ध उहाँले आफ्नो पहिलो हयाट्रिक पुरा गर्नुभयो । ३–२ ले पछाडि परेको अवस्थामा बार्सिलोनाका लागि उहाँले अन्तिम मिनेटमा गोल गर्दै खेल ३–३ मा पुर्याउनुभयो ।
क्लब फुटबलमा उहाँले हालसम्म यूइएफए च्याम्पियन्स लिगमा हालसम्म आठ पटक हयाट्रिक गोल गर्नुभएको छ । स्पेनिस ला लिगामा ३६, कोपा डेल रेमा तीन पटक, सुपर कपमा एक र अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाको प्रतिनिधित्व गरी उहाँले छ हयाट्रिक गोलसहित फुटबल जीवनमा हालसम्म ५४ हयाट्रिक गोल गर्नुभएको छ ।
सर्वोत्कृष्ट गोल
मेस्सीले १४ वर्ष अघि कोपा डेल रेको सेमीफाइनलमा गर्नुभएको गोल अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट स्ट्राइक रहेको मानिन्छ । मेस्सीले अप्रिल १८, २००७ मा गेटाफे बिरुद्ध गर्नुभएको गोललाई फुटबलका महान हस्ती डिएगो म्याराडोनाले सन् १९८६ मा इंग्ल्याण्ड बिरुद्ध विश्वकपमा गर्नुभएको गोल जत्तिकै उत्कृष्ट मानिन्छ । मेस्सीले पाँच जना डिफेन्डरलाई छिचोल्दै गोलकिपरसम्म पुगेर गर्नुभएको प्रहार गोलमा परिणत भएको थियो । उहाँले फुटबल मैदानको आधा हिस्सा एक्लैले तय गर्दै पुरा गर्नुभएको थियो । उक्त खेलमा बार्सिलोनाले ५–२ ले जित निकाल्यो ।
च्याम्पियन्स लिग फाइनलको गोल
एउटा यस्तो समय आएको थियो जतिबेला प्रशंसकले इंग्ल्याण्ड क्लब बिरुद्ध यूरोपमा मेस्सीले गोल गर्न सक्लान त भन्ने प्रश्न उठेको थियो । सन् २००९ को फाइनल अघि उहाँले च्याम्पियन्स लिगको दश खेलमा गोलविहीन बन्नु परेको थियो । तर जाभीको क्रसलाई उहाँले हेडरमार्फत् गोलको दिशा दिदै च्याम्पियन्स लिगको फाइनलमा आफ्नो पहिलो गोल पुरा गर्दै बार्सिलोनालाई उपाधि दिलाउनुभयो ।
सन् २००९ को मई २७ मा सम्पन्न फाइनल खेल समकालीन फुटबलका दुई महत्वपूर्ण हस्ती बिरुद्धको खेलको रुपमा ब्याख्या गरिएको थियो । जहाँ मेस्सीले बार्सिलोनाको र क्रिष्टियानो रोनाल्डोले म्यान्चेष्टर यूनाइटेडको प्रतिनिधित्व गर्नुभएको थियो । पहिलो पटक मेस्सी र रोनाल्डोलाई तुलना गरिएको फुटबल खेल थियो ।
आर्सनलको पोष्टमा चार गोल
च्याम्पियन्स लिगको क्वार्टरफाइनल थियो । सन् २०१० को अप्रिल ६ । मेस्सीले आर्सनलको पोष्टमा चार गोल गर्नुभयो । फुटबल जीवनमा मेस्सीले चार गोल गर्नुभएको यो पहिलो अबसर थियो ।
एक वर्षमा ९१ गोल
सन् २०१२ मा मेस्सीले ९१ गोल गर्नुभएको छ । उहाँले बार्सिलोनाका लागि ७९ र अर्जेन्टिनाका लागि १२ गोल गर्नुभयो । ६९ खेलमा उहाँले ९१ गोल पुरा गर्नुभयो । मेस्सीले चौथो पटक बलून डे ओरको उपाधि दिलाउन उक्त वर्ष उहाँले गर्नुभएको गोल संख्या पर्याप्त रहयो । २०१२ मै उहाँले पहिलो पटक कोपा डेल रे जित्नुभयो ।
ला लिगामा सर्बाधिक गोल
नोभेम्बर २२, २०१४ मा अर्को कीर्तिमान भङग । सेभिया बिरुद्ध बार्सिलोनाले ५–१ को जित निकाल्दा मेस्सीले हयाट्रिक गोल गर्नुभयो । मेस्सीले टेल्मो जर्राको ला लिगामा २५१ गोलको कीर्तिमान भङ्ग गर्नुभयो । फ्रि किकमा दोस्रो गोल गरी कीर्तिमान भङ्ग गर्नुभएको मेस्सीले तेस्रो गोल थप्दै हयाट्रिक पुरा गर्नुभयो ।
मेस्सी हाल ला लिगामा ४७४ गोल गर्नुभएको छ । पुरानो कीर्तिमानभन्दा उहाँले २०० बढी गोल गर्नुभएको छ । रोनाल्डोभन्दा उहाँ ला लिगामा १५० गोलले अगाडि हुनुहुन्छ । रियल मड्रिडबाट युभेन्ट्स प्रस्थान गर्नुअघि रोनाल्डोले ला लिगामा ३११ गोल गर्नुभएको छ ।
बार्सिलोनाका लागि ५०० औं गोल
कहिलेकाहिं खेलाडीले गर्ने गोल सम्झिनयोग्य हुन जान्छ । र यो गोल त्यस्तै सम्झनायोग्यमध्येका एक हो । सन् २०१७ को अप्रिल २३ मा मेस्सीले अतिरिक्त समयमा रियल मड्रिड बिरुद्ध गर्नुभएको गोलले अल क्लासिकोमा बार्सिलोना शीर्ष स्थानमा उक्लिन सफल बनायो । यद्दपी रियल मड्रिडले पछि बार्सिलोनालाई उछिन्यो । रियलमाथि ३–२ को जित हात पार्दा मेस्सीले बार्सिलोनाका लागि ५०० औं गोल पुरा गर्नुभयो ।
छैठौं बलून डी ओर उपाधि
२ डिसेम्बर, २०१९ मा मेस्सीले छैठौं पटक बलून डी ओरको उपाधि जित्नुभयो । उपाधिले बलून डी ओर पाँच पटक जित्नुभएका रोनाल्डोभन्दा मेस्सीलाई अगाडि पुर्यायो । २०१९ मा मेस्सीले बार्सिलोना र अर्जेन्टिनाका लागि ५४ गोल गर्नुभएको छ ।
पेलेको कीर्तिमान भङ्ग
गत् वर्ष बार्सिलोना त्याग्ने मनशाय बनाउनुभएका मेस्सीले त्यसपछि पनि आफूलाई क्लबमा फिट राख्नुपर्ने भयो । र बार्सिलोनाका लागि ६४४ औं गोल उहाँले गत् वर्ष नै पुरा गर्नुभयो । कुनै एक क्लबका लागि सर्बाधिक गोलकत्र्ताको पेलेको कीर्तिमान उहाँले भङ्ग गर्नुभयो । पेलेले सान्टोसका लागि ६४३ गोल गर्नुभएको छ । बार्सिलोनाका लागि मेस्सीले हालसम्म ६७२ गोल गर्नुभएको छ ।
मेस्सीको ट्रफी
बलून डे अर –६
ला लिगा–१०
च्याम्पियन्स लिग–४
कोपा डेल रे –७
यूइएफए सुपर कप–३
क्लब विश्वकप –३
मेस्सीको स्थानान्तरण समयरेखा
२५ अगष्ट २०२० – बार्सिलोनालाई फ्याक्स पठाउँदै तात्काल मुक्त गर्न आग्रह
४ सेप्टेम्बर २०२०– बार्सिलोनामै रहने भनाई, ७० करोड यूरो तिर्न अन्य क्लबका लागि असम्भब
२७ अक्टोबर २०२०– बार्सिलोनाका अध्यक्ष जोसेप मारियाको राजिनामा
२८ डिसेम्बर २०२० – मेस्सीद्वारा अमेरिकामा खेल्ने इच्छा ब्यक्त
३१ जनवरी २०२१ – स्पेनिस पत्रिका अल मुन्डोद्वारा मेस्सीको सम्झौता सार्वजनिक गरिएपछि क्लबद्वारा कानूनी उपचारमा जाने धम्की
१६ मई २०२१ – ब्यवस्थापक रोनाल्ड कोमनद्वारा मेस्सीले क्लबका लागि अन्तिम खेल अझै खेल्न बाँकी रहेको प्रतिक्रिया(सेल्टा भिगोसँग २–१ ले पराजित)
२२ मई २०२१ – पेरिस सैन्ट जर्माइनप(पीएसजी)ले मेस्सीको अनुबन्धनबारे नजिकबाट नियालिरहेको भनाई
२८ मई २०२१ – बार्सिलोनाका अध्यक्ष जोआन लर्पोटाले नयाँ सम्झौता नभएपनि सकारात्मक छलफल भइरहेको प्रतिक्रिया
१ जुलाई २०२१– मेस्सीको बार्सिलोनाको सम्झौता समाप्त
१५ जुलाई २०२१ – बार्सिलोनामा सन् २०२६ सम्म रहन मेस्सी सहमत
५ अगष्ट २०२१ – मेस्सी क्लब परित्याग गर्ने बार्सिलोनाको घोषणा

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?