logo
२०८० चैत्र १६ शुक्रवार



इंग्ल्याण्ड युरोकपको सेमिफाइनलमा पुग्यो

फुटबल |
खेलकुद |


इंग्ल्याण्ड युरोकपको सेमिफाइनलमा पुग्यो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, असार २० गते । इंग्ल्याण्ड युरोकप फुटबल २०२० को सेमीफाइनलमा पुगेको छ । इंग्ल्याण्डले अन्तिम १६ मा जर्मनीमाथि २–० को जित हात पारेर क्वार्टरफाइनलमा युक्रेन विरुद्धको भेट तय गरेको थियो ।
रोममा गए राति अबेर सम्पन्न खेलमा इंग्ल्याण्डले यूक्रेनमाथि सहज जित हात पार्दै सेमिफाइनलमा डेनमार्क बिरुद्धको भेट तय गरेको हो । समूह चरणमा लय पाउन संघर्षरत कप्तान हयारी केन उत्कृष्ट लयमा देखिनुभएको छ । जर्मनी विरुद्धको खेलमा गोल गरेर उच्च आत्मबल पाउनुभएका केनले युक्रेनको गोल पोष्टमा दुई गोल गर्नुभयो । चौथो मिनेटमा रहिम स्टर्लिङगको पासलाई उहाँले गोलमा परिणत गर्दै इंग्ल्याण्डलाई सुरुवाती अग्रता दिलाउनुभयो ।
सन् २०१८ को विश्वकप फुटबलको सेमिफाइनलसम्म पुगेको युक्रेनले इंग्ल्याण्ड विरुद्ध उत्कृष्ट प्रदर्शन दिन सकेन । हयारी मेग्वरले ल्युक शाको फ्रि किकलाई हेडरमार्फत् गोल गर्दा इंग्ल्याण्डले अग्रतालाई दोब्बर पार्यो । उहाँले ४६ औं मिनेटमा गोल गर्नुभयो । चार मिनेट नबित्दै ल्युक शाको क्रसलाई कप्तान हयारी केनले छ गजबाहिरबाट गर्नुभएको प्रहार गोलमा परिणत भयो ।
सब्स्टिच्युट जोर्डन हेन्डरसनले ६० औं मिनेटमा गोल थप्दा इंग्ल्याण्डले खेलमा ४–० को अग्रता लियो । हेण्डरसनले इंग्ल्याण्डका लागि ६२ औं खेलमा पहिलो पटक गोल गर्नुभयो । उहाँले मेसन माउन्टको कर्नरलाई गोलको दिशा दिनुभयो ।
इंग्ल्याण्डले यरोकप फुटबल २०२० मा कुनै गोल नखाएर लगातार पाँचौं खेलमा जित हात पार्यो । इंग्ल्याण्डले अब फाइनलमा स्थान सुरक्षित गर्न वेम्ब्लीमा आगामी बुधबार डेनमार्कको सामना गर्नेछ ।
युरोकप फुटबल र विश्वकप फुटबलको सेमिफाइनलसम्म पुर्याउने गैरेथ साउथगेट इंग्ल्याण्डका दोस्रो प्रशिक्षक हुनुभएको छ । यसअघि अल्फ राम्सेको प्रशिक्षणमा रहेको इंग्ल्याण्ड फुटबल टोलीले सन् १९६६ र १९६८ मा युरोकप र विश्वकप फुटबलको सेमिफाइनलसम्म पुगेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?