logo
२०८० चैत्र १६ शुक्रवार



स्विट्जरल्याण्डकाे रोमाञ्चक जित

फुटबल |
खेलकुद |


स्विट्जरल्याण्डकाे रोमाञ्चक जित


कोपेनहेगन, असार १६ गते । स्विट्जरल्याण्डका गोलरक्षक यान सोमर नायक बनेपछि स्विट्जरल्याण्डले नाटकीय खेलमा विश्वविजेता फ्रान्सलाई टाइब्रेकरमा ५–४ ले हराएर युरो २०२० को क्वाटरफाइनलमा स्थान बनाएको छ । यी दुई टिमबीचको निर्धारित समयको खेल नाटकीय रूपमा ३–३ ले बराबरीमा सकिएको थियो ।
चालू प्रतियोगितामा अतिरिक्त समयमा गएको यो तेस्रो खेल भए पनि टाइब्रेकरसम्म पुगेको पहिलो खेल भएको छ । युरो कपको समूह चरण बीचमै छोडेर आफ्नो दोस्रो छोरी जन्म दिएकी श्रीमतीलाई भेट्न जर्मनी पुगेकी गोलरक्षक सोमरले पेनाल्टी सुटआउटमा किलियन एमबापेको पेनाल्टी रोकेर फ्रान्सलाई युरो कपबाट बिदा गर्नुभयो । टाइब्रेकरमा सुरुका नौ पेनाल्टी सफल भएपछि सोमरले एमबापेलाई निराश पार्नुभएको हो ।
स्विजरल्यान्ड जितसँगै ६७ वर्षमा पहिलो पटक प्रमुख प्रतियोगिताको अन्तिम आठमा पुगेको छ । सन् १९५४ मा विश्वकपको आयोजना गरेपछि स्विजरल्यान्ड यसअघि प्रमुख प्रतियोगिताको क्वाटरफाइनलमा पुग्न सकेको थिएन । यसअघिका तीन प्रमुख प्रतियोतिगामा समूह चरण पार गरेपछि स्विजरल्यान्डको यात्रा अन्तिम १६ मा नै सकिएको थियो ।
युरो २०१६ मा स्विजरल्यान्ड टाइब्रेकरमा नै ५–४ ले पोल्यान्डसँग हारेको थियो । त्यसैले स्विजरल्यान्डका कप्तान ग्रानिट जाकाले भन्नुभयो– हामीले आज राति इतिहास बनायौँ, त्यसैले हामी सबै निकै गौरवान्वित छौँ । स्विजरल्यान्डले अर्को चरणमा स्पेनविरुद्ध खेल्ने छ । खेलको १५औँ मिनेटमा ह्यारिस सेफेरोभिचको गोलबाट स्विजरल्यान्डले अग्रता बनाएको थियो ।
त्यसपछि स्विजरल्यान्डले उत्तराद्र्धको सुरुवातमा अग्रता दोब्बर पार्न पेनाल्टी प्रहारको अवसर पायो तर फ्रान्सका कप्तान तथा गोलरक्षक ह्युगो लोरिसले रिकार्डो गोन्जालोजको पेनाल्टीलाई रोकेर आफ्नो टिमलाई खेलमा कायम राख्नुभयो । सो घटनाको दुई मिनेटपछि नै खेलको ५७औँ मिनेटमा एमबापेको पासमा करिम बेन्जामाले चलाखीपूर्ण ढङ्गले गोल गरेर खेल बराबर पार्नुभयो ।
खेलको ५९औँ मिनेटमा बेन्जामाले नै एन्टोनियो ग्रिज्म्यानको क्रसमा गोलपोस्ट नजिकबाट हेड गरी फ्रान्सलाई पहिलो पटक अगाडि पार्नुभयो । खेलको ७५औँ मिनेटमा पल पोग्बाले करिब २० मिटरबाट दर्शनीय गोल गरेपछि फ्रान्सको जित पक्का देखिन्थ्यो । खेलका ८१औँ मिनेटमा सेफेरोभिचले हेडमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै खेल रोमाञ्चक बनाउनुभयो ।
खेलको ९०औँ मिनेटमा स्थानापन्न खेलाडी मारियो गाभ्रानोभिचले डी बक्सबाहिरबाट बल गोलपोस्टमा छिराएर स्कोर ३–३ पारेपछि जितको सँघारमा पुगेको फ्रान्स हिस्स बन्यो । सन् २०१८ मा विश्वकप जितेको फ्रान्स दोस्रो पटक लगातार दुई प्रमुख प्रतियोगिता जित्ने अभियानमा थियो । फ्रान्सले सन् १९९८ मा विश्वकप जितेको दुई वर्षप्छि युरो कप पनि जितेर कीर्तिमान राखेको थियो । युरो कपको पछिल्लो संस्करणमा फ्रान्स फाइनलमा पोर्चुगलसँग पराजित भएको थियो ।

अतिरिक्त समयमा स्पेन विजयी
कोपनहेगन । क्रोसियाविरुद्ध हास्यास्पद आत्मघाती गोल र त्यसपछि ३–१ को अग्रता खेर फाले पनि स्पेन अतिरिक्त समयमा ५–३ ले खेल जितेर युरो २०२० को क्वाटरफाइनलमा पुग्न सफल भएको छ ।
अतिरिक्त समयमा अल्भारो मोराटा र मिकेल आयरजाबालले गोल गरेपछि क्रोसियामा शानदार पुनरागमन सफल हुन सकेन । युरोपेली कपको इतिहासमा यो दोस्रो सर्वाधिक गोल भएको खेल पनि बनेको छ । सन् १९६० मा भएको युरो कपको पहिलो संस्करणमा युगोस्लाभियाले फ्रान्सलाई ५–४ ले हराएको खेल अहिलेसम्म सर्वाधिक गोल भएको खेलका रूपमा रहेको छ ।
इन्जुरी समयमा मिडफिल्डर मारियो पासालिचले बराबरी गोल गरेपछि क्रोसिया अतिरिक्त समयको सुरुवातमा दुई पटक गोलको निकै नजिक पुगेको थियो तर त्यसपछि मोराटा र ओयरजाबालको गोलबाट क्रोसिया निराश बन्यो । खेलको एक सयौँ मिनेटमा मोराटाले गोल गर्नुभयो । जुन गोल निर्णायक सावित भयो ।
यसअघि युरो कपमा आफ्नो छविअनुरूप प्रदर्शन गर्न नसकेपछि मोराटा आलोचित बनिरहनुभएको थियो । उहाँलाई मार्ने धम्कीसमेत आएको थियो । मोराटाले गोल गरेको तीन मिनेटपछि ओयरजाबालबाट पनि गोल आयो । पछिल्ला दुई सस्ंकरणमा स्पेन प्रिक्वाटरफाइनलबाट बिदा भएको थियो तर यसपटक स्पेनले पछिल्ला दुई खेलमा पाँच–पाँच गोल गरेर आफ्नो आक्रमण क्षमता देखाएको छ ।
क्रोसियाले पनि लगातार दोस्रो खेलमा तीन गोल गरेरसन् २०१८ को विश्वकपमा फाइनलसम्मको यात्रामा राखेको कीर्तिलाई दोहो¥याउन सकेन । खेलको ८५औँ मिनेटसम्म स्पेन ३–१ ले अगाडि थियो तर मिस्लाभ ओर्सिच र पासाचिल (इन्जुरी सइम)ले गोल गरी खेललाई अतिरिक्त समयमा धकेल्नुभयो ।
खेलको २०औँ मिनेटमा गोन्जालेजको ब्याक पासमा गोलरक्षक उनाइ सिमनले बललाई नियन्त्रणमा लिन नसक्दा आत्मघाती गोल भएको थियो । खेलको ३८औँ मिनेटमा पाब्लो सराबियोले बराबरी गोल गर्नुभयो । त्यसपछि राइट ब्याक सिजार अपिलिकुएटाले खेलको ५७औँ मिनेटमा कोर २–१ पार्नुभयो । खेलको ७७औँ मिनेटमा फेरान टोरेजले स्पेनको अग्रता ३–१ बनाउनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?