logo
२०८१ बैशाख ११ मंगलवार



ऊरुग्वेको बोलिभियामाथि सहज जित

फुटबल |
खेलकुद |


ऊरुग्वेको बोलिभियामाथि सहज जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, असार ११ गते । ऊरुग्वे कोपा अमेरिका फुटबल प्रतियोगितामा बोलिभियामाथि सहज जित हात पारेको छ । गए राति अबेर सम्पन्न खेलमा ऊरुग्वेले बोलिभियामाथि २–० को जित हात पारेको हो । अङ्कतालिकाका चौथो स्थानमा रहेको ऊरुग्वेले क्वार्टरफाइनल पुग्न बोलिभिया र अर्जेन्टिनाबीचको समूहको अन्तिम खेल कुर्नुपर्ने हुन्छ । अर्जेन्टिना हाल शीर्षस्थानमा छ । चिली दोस्रो र पराग्वे तेस्रो स्थानमा छ ।
ऊरुग्वेको जितमा म्यान्चेष्टर यूनाइटेडका स्ट्राइकर एडिन्सन कभानीले महत्वपूर्ण एक गोल गर्नुभयो । ४० औं मिनेटमा बोलिभियाका डिफेन्डर जाइरो क्विन्टेरोसले आफ्नै पोष्टमा गोल गरेपछि ऊरुग्वेले १–० को अग्रता लिएको थियो । खेल सकिन ११ मिनेट मात्रै बाँकी छँदा फकुण्डो टोरसको क्रसलाई कभानीले गोलमा परिणत गर्नुभयो । त्यसअघि गोलको थुप्रै अबसर पाए पनि कभानीको प्रयास विफल हुँदै आएको थियो ।
जितसँगै ऊरुग्वे समूह ए को तेस्रो स्थानमा उक्लेको छ । चार खेलबाट उसले तीन अङ्क जोडेको छ । सोमबार ऊरुग्वेले समूह चरणको अन्तिम खेलमा पराग्वेको सामना गर्नेछ । अङ्कतालिकाको पुछारमा रहेको बोलिभियाले भने क्वार्टरफाइनलमा प्रबेशको सम्भावनालाई जीवित राख्न सोमबार नै समूहको शीर्षस्थानमा रहेको अर्जेन्टिनालाई हराउनुपर्ने हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?