logo
२०८१ बैशाख ७ शुक्रवार



भारतीय फुटबलर सुनील क्षेत्रीले मेस्सीको कीर्तिमानलाई भङ्ग गरे

फुटबल |
खेलकुद |


भारतीय फुटबलर सुनील क्षेत्रीले मेस्सीको कीर्तिमानलाई भङ्ग गरे
तस्विर-स्क्रल डट इन


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २५ गते । भारतीय फुटबलर सुनील क्षेत्रीले फुटबलका महान खेलाडी लियोनल मेस्सीको अन्तर्राष्ट्रिय गोलको कीर्तिमान भङ्ग गर्नुभएको छ । उहाँले अन्तर्राष्ट्रिय फुटबलमा ७४ गोल गर्नुभएको छ । मेस्सीले हालसम्म ७२ गोल गर्नुभएको छ ।
मेस्सी अन्तर्राष्ट्रिय स्पर्धामा सबैभन्दा बढी गोल गर्ने चौथो सक्रिय खेलाडी हुनुहुन्छ । मेस्सीले अन्तर्राष्ट्रिय स्पर्धामा आफ्नो ७२ औं गोल विश्वकप फुटबल छनोट खेलमा चिली बिरुद्ध बिहीबार पुरा गर्नुभएको छ । मेस्सीपछि पोल्याण्डका रोबर्ट लेवाण्डोस्कीले ६६ गोल गर्दै सर्बाधिक गोलकत्र्ताको सूचीमा पाँचौं स्थानमा हुनुहुन्छ ।
क्रिष्टियानो रोनाल्डोपछि अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा बढी गोल गर्ने सुनील क्षेत्री दोस्रो सक्रिय खेलाडीको कीर्तिमान बनाउनुभएको छ । यूएईका अलि मखौत तेस्रो स्थानमा हुनुहुन्छ । उहाँले हालसम्म ७३ गोल गर्नुभएको छ । मखौतले विश्वकप फुटबल २०२२ छनोट खेलमा मलेसिया बिरुद्ध गत् साता आफ्नो ७३ औं गोल पुरा गर्नुभएको छ । क्रिष्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय स्पर्धामा १०३ गोल गर्नुभएको छ ।
३६ वर्षीय क्षेत्रीले विश्वकप फुटबल २०२२ को छनोट अन्तगर्त बङ्गलादेश बिरुद्धको खेलमा उक्त कीर्तिमान बनाउनुभएको हो । भारतले छनोट अन्तगर्त सोमबार अबेर राति सम्पन्न खेलमा बङ्गलादेशमाथि २–० को जित हात पार्दा क्षेत्रीको भूमिका निर्णायक रह्यो ।
खेलको ७९ औं मिनेटमा क्षेत्रीले अशिक कुरनियाँको क्रसलाई हेडरमार्फत् गोल गर्दै भारतलाई १–० को अग्रता दिलाउनुभयो । थपिएको समयमा क्षेत्रीले गोल थप्दा भारतले बङ्गलादेशमाथि २–० को जित हात पार्न सफल भयो । सुनील क्षेत्री भारतीय फुटबल टोलिका कप्तान समेत हुनुहुन्छ । भारतले पछिल्लो २० वर्षमा विश्वकप छनोटमा पहिलोपटक घर बाहिरको मैदानमा जित हात पारेको छ ।
बङ्गलादेशमाथि जितसँगै भारत समूह ई को तेस्रो स्थानमा उक्लेको छ । उसले सात खेलबाट छ अङ्क जोडेको छ । भारतले जुन १५ मा छनोट अन्तगर्तको आफ्नो अन्तिम खेलमा अफगानिस्तानको सामना गर्नेछ । विश्वकप छनोटबाट बाहिरिसकेको भारतले सन् २०२३ को एशियाली फुटबल प्रतियोगितामा छनोटका लागि संघर्षरत छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?