logo
२०८१ बैशाख १३ बिहीवार



मैत्रीपूर्ण फुटबलमा नेपालले इराकको सामना गर्दै

फुटबल |
खेलकुद |


मैत्रीपूर्ण फुटबलमा नेपालले इराकको सामना गर्दै
तस्विर-एन्फा


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १५ गते । मैत्रीपूर्ण फुटबल खेलमा नेपालले इराकको सामना गर्दैछ । नेपाल र इराकबीचको खेल इराकको बसरास्थित अल फहा रङशालामा राति दश बजेपछि हुँदैछ ।
प्रशिक्षक अब्दुल्लाह अलमुतैरीको प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलिको यो पहिलो अन्तर्राष्ट्रिय स्पर्धा हो । उहाँले इराक बिरुद्धको मैत्रीपूर्ण फुटबल र विश्वकप फुटबल छनोटका लागि चयन गरेको २३ सदस्यीय टोलिमा युवाहरुले विशेष प्राथमिकता पाएका छन् । पुरानो र अनुभबी खेलाडीलाई आराम दिएर मैत्रीपूर्ण फुटबल र छनोट खेल खेल्न लागेको नेपाली राष्ट्रिय फुटबल टोलिका लागि यो राम्रो अनुभब र सिकाइ हुने प्रशिक्षक अलमुतैरीले विश्वास ब्यक्त गर्नुभएको छ ।
दुई टोलिबीच बिगत्को प्रदर्शनको आधारमा इराकी फुटबल टोलि बलियो देखिन्छ । नेपाल र इराकबीच हालसम्म तीन पटक अन्तर्राष्ट्रिय स्पर्धा भएको छ । तीनै अबसरमा इराकले जित हात पारेको छ ।
तर नेपालले इराकसँग करिब दुई दशकपछि खेल्न लागेको छ । सन् २००१ मा नेपालले इराकको सामना विश्वकप छनोटमा गर्दा २–४ ले हार बेहोरेको थियो ।
फुटबलको सर्बोच्च निकाय (फिफा)को विश्व वरियतामा समेत इराक उत्कृष्ट स्थानमा छ । यसअघि ७२ औं स्थानमा रहेको इराक फिफाले यसै साताको सुरुवातमा जारी गरेको नयाँ वरियतामा चार स्थान माथि उक्लेको छ । ऊ हाल ६८ औं स्थानमा छ ।
अर्कोतिर नेपाल फिफाको विश्व वरियतामा १७१ औं स्थानमा छ । नेपालले आफ्नो वरियतामा सुधार गरेको छैन् । तर नेपालले गुमाएको पनि छैन् । विश्वकप छनोटमा समूह सी मा रहेको इराक भने विश्वकप छनोट तालिकाको शीर्ष स्थानमा छ । उसले हालसम्म छनोट अन्तगर्तको पाँच खेल खेलेको छ । जसमध्ये तीनमा जित हात पारेको छ भने दुई खेल बराबरीमा टुंग्याएको छ । इराकसँगै विश्वकप छनोट समूहमा बहराइन, इरान, हङकङ र कम्बोडिया छन् ।
यता नेपाल भने विश्वकप फुटबल छनोटमा अष्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेइसँगै समूह बी मा छ । नेपाल तालिकाको चौथो स्थानमा छ । नेपालले छनोट अन्तगर्तको पाँच खेलमध्ये एउटामा मात्र जित हात पार्न सकेको छ । चार खेलमा हार बेहोरेको नेपाल इराक बिरुद्धको मैत्रीपूर्ण स्पर्धापछि कुवेतका लागि प्रस्थान गर्नेछ । कुवेतमा नेपालले छनोट अन्तगर्त दोस्रो चरणको खेलमा चाइनिज ताइपेइ, जोर्डन र अष्ट्रेलियाको सामना गर्नेछ ।
इराक बिरुद्धको मैत्रीपूर्ण खेल जित हार भन्दा पनि अनुभब र सिकाइको लागि राम्रो हुने प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले प्रतिक्रिया दिनुभएको छ । विश्वकप छनोट अघि अब्बल टोलिसँग हुन लागेको स्पर्धाले खेलाडीको स्तर समेत बुझ्न उपयुक्त हुनेछ ।

नेपालको सुरुवाती एघार
प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले खेल हुनुअघि आफ्नो प्राथमिकताका सुरुवाती एघारको सूची सार्बजनिक गर्नुभएको छ । किरणकुमार लिम्बू कप्तान तथा गोलकिपरका रुपमा यथावत रहनुहुनेछ ।
गौतम श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ र सुमन अर्याल डिफेन्डरको रुपमा प्राथमिकतामा परेका छन् । त्यसैगरी, मनिष डाँगी, पूजन उपरकोटी, सन्तोष तामाङ तथा अञ्जन विष्ट, नवयुग श्रेष्ठ र सुमन लामा टोलिमा सुरुवाती एघारमा स्थान सुनिश्चित गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?