logo
२०८१ बैशाख १३ बिहीवार



रियल मड्रिडको ला लिगाको उपाधि जित्ने सम्भावना कायमै

फुटबल |
खेलकुद |


रियल मड्रिडको ला लिगाको उपाधि जित्ने सम्भावना कायमै
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ३१ गते । रियल मड्रिडले स्पेनिस ला लिगाको उपाधि जित्ने सम्भावनालाई बल पुग्ने गरी जित निकालेको छ । गए राति सम्पन्न ला लिगा अन्तगर्त ग्रनाडा विरुद्धको खेल रियल मड्रिड ४–१ को फराकिलो अन्तरले जित हात पारेको छ । जितसँगै रियल मड्रिड अङ्क तालिकाको दोस्रो स्थानमा उक्लेको छ । समान ३६ खेलबाट रियल मड्रिडले ७८ अङ्क जोडेको छ । रियल मड्रिड शीर्ष स्थानको एटलेटिको मड्रिडभन्दा दुई अङ्कले पछाडि छ भने बार्सिलोनालाई दुई अङ्कले उछिनेको छ । प्रतियोगितामा अझै दुई खेल खेल्न बाँकी छ ।
डिफेन्डिङ च्याम्पियन रियल मड्रिडको जितमा लुका मोड्रिकले सुरुवाती गोल गर्दै १७ औं मिनेटमा १–० को अग्रता दिलाउनुभयो । मिग्वेल गुटिरेजको पासलाई गोलको दिशा दिँदै रोड्रिगोले पहिलो हाफको थपिएको समयमा गोल गर्दै अग्रतालाई दोब्बर पार्नुभयो ।
७१ औं मिनेटमा जर्ग मोलिनाले ग्रनाडाका लागि गोल गर्दै खेल २–१ को स्थितिमा ल्याउनुभयो । तर ७५ औं मिनेटमा इडेन हजार्डले अल्भारो ओड्रिजोलाका लागि गोल गर्ने अबसर जुराएपछि रियल मड्रिडले ३–१ को अग्रता बनाउन सफल भयो । ७६ औं मिनेटमा ४० गजबाहिरबाट करिम बेञ्जिमाले गोलपोष्ट रिक्त रहेको अवस्थाको फाइदा उठाउँदै गर्नुभएको प्रहार गोलमा परिणत भएपछि रियल मड्रिडले ४–१ को सहज र आरामदायी जित सुनिश्चित गर्न सफल भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?