logo
२०८० चैत्र १६ शुक्रवार



विद्युत्को तार भूमिगत गर्ने कार्य तीव्र

अर्थ |


विद्युत्को तार भूमिगत गर्ने कार्य तीव्र


भउचप्रसाद यादव

काठमाडौँ, पुस १४ गते । नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रणाली क्षमता अभिवृद्धि तथा सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्न विद्युत््को तार भूमिगत गर्ने कार्यलाई तीव्र पारिएको छ । अहिले दुईवटा ‘फेज’को ४० प्रतिशत काम सम्पन्न भइसकेको छ ।
प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार काठमाडौँ उपत्यकाको उत्तर तथा मध्य वितरण प्रणाली सुदृढीकरण आयोजना र काठमाडौँ उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत अहिले काठमाडौँमा विद्युत््को तार भूमिगत गर्ने कार्य भइरहेको छ ।

उत्तर तथा मध्य वितरण प्रणालीअन्तर्गत ४५ प्रतिशत काम सम्पन्न भइसकेको आयोजना प्रमुख अभिषेक अधिकारीले बताउनुभयो । चक्रपथबाहेकको बाँकी क्षेत्रको काम आर्थिक वर्ष २०७८/०७९ को असारसम्म सम्पन्न हुने उहाँको दाबी छ । काठमाडौँ उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख पीयूष मालाकारका अनुसार यस ‘फेज’को काम सुरु भएको दुई महिना पूरा भएको छ । सो काममा चार हजारवटा जग (फाउन्डेसन) निर्माण गर्नुपर्नेमा अहिलेसम्म दुई सयवटाको निर्माण सम्पन्न भइसकेको छ ।

त्यसैगरी, २२५ किलोमिटर तार बिछ्याउनुपर्नेमा अहिलेसम्म एक किलोमिटर बिछ्याउने काम सम्पन्न भएको हो । काठमाडौँ उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण ‘फेज’अन्तर्गत कोटेश्वर, बानेश्वर, जोरपाटी, बालाजु र कीर्तिपुर क्षेत्रमा तार भूमिगत गरिनेछ । पाँचवटै क्षेत्रको सर्वे सम्पन्न भइसकेको छ । हाल कीर्तिपुरबाट तार भूमिगत कार्य भइरहेको छ । तारलाई भूमिगत गर्न मेलम्चीको जस्तो बाटो खन्न नपर्ने र होरिजेन्टल डाइरेक्सन ड्रिलिङ (एचडीडी) प्रविधिको माध्यमबाट ठाउँ–ठाउँमा निश्चित दूरीमा ड्रिल गरेर तार भूमिगत गर्नुपर्ने भनिए पनि अहिले तार भूमिगत गर्न सडक खन्नुपरेको देखिएको छ । त्यसैगरी, एकैठाउँमा तल–माथि खानेपानी, ढलको पाइप बिछ्याइएकाले एचडीडी प्रविधिबाट ड्रिलिङ गर्दा ती पाइप फुट्ने भएकाले समेत सडक खन्नुपर्ने बाध्यता रहेको छ ।

तार भूमिगत भइसकेपछि त्यसको नियन्त्रण तथा अनुगमन नियन्त्रण कक्षबाट गरिनेछ । वितरण प्रणालीमा केही समस्या आए भने त्यसको सङ्केत प्राप्त हुने र नियन्त्रण कक्षबाटै मर्मत–सम्भार परिचालन हुने भएकाले जनशक्तिमा समेत उल्लेखनीय कमी आउने विश्वास प्राधिकरणकोे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?