logo
२०८० चैत्र १६ शुक्रवार



बेलायतमा सङ्क्रमणबाट मृत्युदर बढ्न थाल्यो, सामाजिक गतिविधिमा प्रतिबन्ध लगाउन सुझाव

अन्तर्राष्ट्रिय |


बेलायतमा सङ्क्रमणबाट मृत्युदर बढ्न थाल्यो, सामाजिक गतिविधिमा प्रतिबन्ध लगाउन सुझाव


लन्डन, कात्तिक ३ गते । बेलायतमा पछिल्लो समय कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएसँगै मृत्यु हुनेको सङ्ख्यामा पनि बृद्धि भएको छ । यहाँ गएको २४ घन्टामा कम्तीमा पनि २२३ जनाको ज्यान गएको छ ।यो मृत्यु यसै वर्षको गत मार्च ९ पछिकै सबैभन्दा धेरै हो । सात महिनाअघि त्यस दिन यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट कम्तीमा पनि २३१ जनाको ज्यान गएको थियो ।

उता यहाँ २४ घन्टा यतामात्र कोरोना भाइरसका करिब ५० हजार सङ्क्रमित भेटिएका छन् । मङ्गलबार यहाँका सङ्क्रमितहरु करिब ५० हजार जनाको नजिक पुगेको थियो । बेलायतका अधिकारीहरुले कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको देखिएको बताएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले सामाजिक क्रियाकलापमा प्रतिबन्ध लगाउन माग गरेका छन् ।

बेलायतका स्वास्थ्य वैज्ञानिकहरुले पनि यो सुझाव दिएका छन् । उनीहरुले यहाँ हरेक दिन करिब ५० हजार जना सङ्क्रमित भेटिनु र मृत्युदर पनि हरेक दिन २०० भन्दा माथि हुनुलाई गम्भीर भन्दै यहाँका सामाजिक क्रियाकलापमा प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन् । यहाँ गएको २४ घन्टायता करिब ४४ हजार जना सङ्क्रमित भएका छन् । योसमेत गरी यहाँ सङ्क्रमित हुनेको सङ्ख्या ८५ लाख पुगेको छ ।

महिनौँपछि यहाँ ठूलो सङ्ख्याका सङ्क्रमितहरु पाइएका भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले थप सतर्कताका लागि आग्रह गर्नुभएको छ । यहाँका स्वास्थ्य अधिकारीले यहाँ धेरै समयपछि मृत्यु हुनेको सङ्ख्या पनि बढ्न थालेको बताएका छन् । बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये सात हजार ७०० जना अझै पनि अस्पतालमै उपचाररत छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?