logo
२०८० चैत्र १६ शुक्रवार



सुपथ मूल्य पसल नाम मात्रका भएको गुनासो

अर्थ |


सुपथ मूल्य पसल नाम मात्रका भएको गुनासो


ललित बसेल

सुर्खेत, असोज २१ गते । चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल नाम मात्रका भएको गुनासो गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गरेका सुपथ पसलमा उपभोक्ताले बढी खोज्ने सामान पाइँदैनन् । खाद्यको पसलमा चामल, मासको दाल, सिमीको दाल छ तर मुसुरोको दाल दाल छैन ।
यस्तै, साल्ट  ट्रेडिङ कर्पोरेसनले सञ्चालन गरेका सुपथ मूल्य पसलमा नुनका पोका मात्रै छ । सर्वाधिक खपत हुने चिनी नै छैन । चिनी गत वर्ष पनि वितरण गरिएको थिएन ।
दुई वर्षअघिसम्म पाँच किलो चिनी लिन उपभोक्ता तँछाडमछाड गर्ने गर्थे, घण्टौँ लाइन बस्थे । कम्पनीले गत वर्षदेखि माथिबाटै नआएको भन्दै चिनी वितरण गर्न छोडेको छ । सुपथ मूल्य पसलमा चिनीको माग बढी हुने गर्दछ ।
खाद्य व्यापार कम्पनी कर्णाली प्रदेश कार्यालयले सुपथ मूल्य पसलमा चामल, मास र रहरको दाल मात्रै बिक्रीमा राखेको छ । अघिल्लो वर्ष कम्पनीले चामल र दाल सहुलियत मूल्यमा बिक्री गथ्र्याे । जुम्लाको सिमी धेरै खपत हुन्थ्यो ।
कम्पनीले सहुलियत मूल्यका लागि गरेको विज्ञापनमा मसुरोको दालको सूची छ । सुपथ मूल्य पसलमा भने मसुरोको दाल छैन ।
सपथ मूल्य पसलले अत्यावश्यक मानिने चिनी र तेलको बिक्री गरेका छैनन् । खाद्य व्यापार कम्पनीले वीरेन्द्रनगरमा चामलमा प्रतिक्विन्टल पाँच सय र दालमा पाँच रुपियाँ सहुलियत दिएको छ । कम्पनीले अरुवा मोटो चामलप्रति प्याक एक हजार २५ रुपियाँ, अरुवा सोना मन्सुली प्रतिप्याक एक हजार ३४१ रुपियाँ र स्टिम जिरा मसिनो चामल प्रतिप्याक एक हजार ४७५ रुपियाँमा बिक्री गर्दै आएको छ । त्यस्तै रहरको दाल प्रतिकिलो १७३ रुपियाँ र मासको दाल प्रतिकिलो १५९ रुपियाँमा बिक्री गर्दै आएको छ । कम्पनीले जुम्ली सिमी र मसुरोको स्टक सकिएका कारण बिक्रीका लागि नराखिएको जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?