logo
२०७८ कार्तिक ९ मंगलवार



पुगेन अझै प्रयास

विचार/दृष्टिकोण |


पुगेन अझै प्रयास


राजेन्द्रप्रसाद घिमिरे

पौराणिक ग्रन्थहरुमा समेत कुष्ठ रोगको उल्लेख भएको पाइन्छ । नेपालमा जनस्वास्थ्यको समस्याका रूपमा केही जिल्लामा अहिले पनि कुष्ठ रोगका बिरामी भेटिन्छन् । विशेषगरी तराईका केही जिल्लामा यो रोगको निवारण अझै हुन सकेको छैन । यद्यपि, संसारका धेरै देशमा यो रोग निवारण भइसकेको अवस्था छ । सन् २०१० मा नै नेपालमा कुष्ठ रोग निवारण भएको घोषणा गरिएको हो । निवारणको परिभाषाअनुसार प्रति दस हजार जनसङ्ख्यामा एक जनाभन्दा कम कुष्ठ रोगीका बिरामीको सङ्ख्या हुनुपर्छ । यस हिसाबले केही तराईका जिल्लालाई छाडेर हिमाली र पहाडी जिल्लामा कुष्ठ रोग निवारण भएको देखिन्छ । कुष्ठ रोग नियन्त्रण र निवारणका लागि सरकारी तथा गैरसरकारी तवरबाट धेरै पहिलेदेखि नै प्रयास भएको पाइन्छ ।
कुष्ठ रोग एक प्रकारको सूक्ष्म जीवाणु माइकोव्याक्टेरियम लेप्रेबाट छाला तथा स्नायुमा लाग्ने सरुवा रोग हो । श्वासप्रश्वास मार्गबाट एकअर्कामा सर्ने कुष्ठ रोग लामो समयसम्म समुदायमा रहने गर्छ । कुष्ठ रोग मुख्यगरी दुई प्रकारको हुन्छ, पौसी व्यासिलरी र मल्टी व्यासिलरी । मल्टी व्यासिलरीको तुलनामा पौसी व्यासिलरी कम सर्ने प्रकारको हुन्छ । यस रोगमा औषधि खाने अवधि पनि ६–१२ महिना मात्र हुन्छ ।
काठमाडौँको खोकनामा उन्नाइसौँ शताब्दीमा नै खोकना लेप्रोजेरियम स्थापना गरी संस्थागत रूपमा कुष्ठ रोग सेवाको सुरुवात गरिएको थियो । कुष्ठ रोग नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठनले नेपाल सरकारको समन्वयमा सन् १९६० मा नेपालमा कुष्ठ रोगीको सर्भेक्षण गरिएको थियो । सर्भे गरेको छ वर्षपछि कुष्ठ रोग नियन्त्रणका लागि नमुनाका रूपमा एकल औषधि ड्र्याप्सोन खुवाउने कार्यको सुरुवात भयो । ड्र्याप्सोन औषधिको सुरुवात गरेको करिब १६ वर्षपछि बहुऔषधि खुवाउने कार्यको थालनी गरेपछि कुष्ठ रोग नियन्त्रणमा सहज भयो ।
भर्टिकल प्रोजेक्टका रूपमा रहेको कुष्ठ रोग नियन्त्रण कार्यक्रमलाई सन् १९८७ मा प्राथामिक स्वास्थ्य सेवामा एकीकृत गरी सेवा सुचारु गरियो । सन् १९९१ मा कुष्ठ रोगलाई जनस्वास्थ्यको समस्याका रूपमा रहन नदिनका लागि कुष्ठ रोग निवारण गर्ने लक्ष्य निर्धारण गरी कार्य सञ्चालन गरियो । सन् २००० देखि २००१ सम्म दुई चरण गरी कुष्ठ रोग निवारण अभियान सञ्चालन गरी धेरै सङ्ख्यामा कुष्ठ रोगीको पहिचान गरियो । कुष्ठ रोगलाई सकेसम्म छिटो पहिचान गरी औषधि खुवाउन सकेमा कुष्ठ रोगबाट उत्पन्न हुने जटिलता र अपाङ्गतालाई न्यूनीकरण गरी अङ्गभङ्ग हुनबाट जोगाउन सकिन्छ । त्यसैगरी समुदायमा रोगी व्यक्तिबाट निरोगी व्यक्तिमा रोग सर्नबाट जोगाउन सकिन्छ । जसले गर्दा कुष्ठ रोग निवारण गर्न सकिन्छ । अभियानको माध्यमबाट धेरै सङ्ख्यामा कुष्ठ रोगीको पहिचान गरी व्यवस्थापन गरिएकाले सन् २००८ मा राष्ट्रिय स्तरमा रोगको प्रकोप प्रति दस हजार जनसङ्ख्यामा एकभन्दा कम भएकाले राष्ट्रिय स्तरमा निवारणको लक्ष्य प्राप्त भएको ठहर गरिएको थियो ।
सन् २०१० मा राष्ट्रिय स्तरमा कुष्ठ रोग निवारणको परिभाषाबमोजिम नेपालमा कुष्ठ रोग निवारण भएको घोषणा गरियो । राष्ट्रिय स्तरमा निवारण भए पनि जनसङ्ख्या उच्च भएका तराईका जिल्लामा प्रति दस हजारमा एकभन्दा बढी कुष्ठ रोगी पहिचान भएको हुँदा जिल्लागत तथ्याङ्क विश्लेषण गर्दा सबै जिल्लामा निवारण भएको स्थिति छैन । कुष्ठ रोगलाई समाजले हेर्ने धारणामा परिवर्तन गर्न अझ सकिएको छैन । यो रोगबाट प्रभावित व्यक्ति वा कुष्ठ रोगीलाई समाजले भेदभाव, लाञ्छना, अवहेलना गर्ने परिपाटी अझै पनि छ । जसका कारण कुष्ठ रोग प्रभावित व्यक्ति वा कुष्ठ रोगीले आफ्नो रोग लुकाएर राख्ने गरेको पाइएको छ । जबसम्म कुष्ठ रोगीलाई अन्य सरुवा रोगहरू जस्तै टाइफाइड, मलेरिया, आउँ, रगतमासीजस्ता रोगका रूपमा लिने गरिँदैन, तबसम्म यो रोग गाउँबस्ती, समुदाय, टोलमा जनस्वास्थ्य समस्याका रूपमा रहन्छ । जसले गर्दा घर, टोल तथा समुदायमा रोगी व्यक्तिबाट अन्य स्वस्थ व्यक्तिमा सर्छ । कुष्ठ रोगको लक्षण बेलैमा थाहा पाई स्वास्थ्य संस्थामा गई जँचाउन सकेमा र पहिचान गरी उपचार तथा व्यवस्थापन गरेमा एकआपसमा सर्नबाट सजिलै बचाउन सकिन्छ । कुष्ठ रोग निवारणका लागि सरकारी संयन्त्रका साथसाथै गैरसरकारी सङ्घसंस्थाको उल्लेखनीय साथ सहयोग रहँदै आएको छ । विशेषगरी विश्व स्वास्थ्य सङ्गठन, लेप्रोसी मिसन नेपाल, नेपाल लेप्रोसी ट्रस्ट, आईएनएफ, एनएलआर, विकास नेपाल, पार्टनरसिप फर न्यु लाइफ नेपाल, लेप्रोसी रिलिफ एसोसिएसन नेपाल र आइडिया नेपालजस्ता सङ्घसंस्था बढी सक्रिय रहेका छन् ।
ती संस्थाले कुष्ठ रोगका बारेमा जनचेतना जगाउने, छिटोभन्दा छिटो रोग पहिचान गरी उपचारमा संलग्न गराउने, रोगको जटिलता हुनबाट बचाउने, जटिलता भइसकेको प्रभावित व्यक्तिलाई आवश्यक उपचारको व्यवस्था मिलाउने, सरकारी स्वास्थ्य संयन्त्रलाई सबलीकरण गर्ने कार्य गर्दै आएका छन् ।
महिला स्वास्थ्य स्वयंंसेविका तथा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने, कुष्ठ रोग प्रभावित व्यक्तिलाई सङ्गठित गरी जीविकोपार्जनका लागि टेवा पु-याउने, कुष्ठ रोग प्रभावित व्यक्तिहरूको हकअधिकारको वकालत गर्नेजस्ता गतिविधिमा समेत ती संस्थाहरूको महìवपूर्ण भूमिका रहँदै आएको छ ।
मुलुकबाट जतिसक्दो चाँडो कुष्ठ रोग निवारण गर्न शङ्कास्पद बिरामीको स्वास्थ्य परीक्षण छिटो गराउनुपर्छ । रोगको पहिचान गरी उपचारमा छिटो लैजानुपर्छ । बिरामीको सम्पर्कमा आएका घरपरिवारका सदस्य, छिमेकी सदस्य तथा विद्यालय, कार्यालय, उद्योग, कलकारखानामा कार्यरत सबै व्यक्तिको कन्ट्याक्ट टे«सिङ तथा छाला रोगको स्क्रिनिङ क्याम्प सञ्चालन गरिनुपर्छ । जसले गर्दा रोगले फैलने अवसर प्राप्त गर्दैन ।
कुष्ठ रोगको प्रमुख लक्षण तथा चिह्नहरूमध्ये शरीरको कुनै पनि भागमा लाटो फुस्रो दाग देखिनु हो । छाला बाक्लो वा छालामा गिर्खा देखिनु, शरीरको बाहिरी स्नायु सुन्निनु तथा दुख्नु हो । कुष्ठ रोग भन्नेबित्तिकै आमनागरिक तथा सर्वसाधारणले अङ्गभङ्ग भएको, हातगोडाको औँला झरेको तथा नाकको डाँडी धसिएको सम्झने गर्छन् । रोगमा जटिलता हुनुअगावै स्वास्थ्य परीक्षण गराई उपचार गरेको खण्डमा जटिलता हुन र अङ्गभङ्ग हुनबाट जोगाउन सकिने साथै सामान्य जीवनयापन गर्न सकिन्छ । तथ्यमा आधारित भई कुष्ठ रोगप्रति सचेत हुन सकेमा सरकारले लिएको लक्ष्य हासिल गर्न सकिने र सबै समुदायमा कुष्ठ रोग निवारण गरी जनस्वास्थ्य समस्याका रूपमा नभई सन् २०३० सम्म नेपालले राखेको लक्ष्य शून्यमा झार्न सकिने छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?