logo
२०८० चैत्र १६ शुक्रवार



चाडबाडले नाकामा भीडभाड, जमुनाहबाट दैनिक १५ सय भित्रदै

प्रदेश |


चाडबाडले नाकामा भीडभाड, जमुनाहबाट दैनिक १५ सय भित्रदै


सिराज खान
नेपालगञ्ज, असोज ८ गते । दशैं तिहार जस्ता ठूला चाडहरु नजिकिंदै गर्दा एक पटक फेरि भारतबाट दैनिक ठूलो सङ्ख्यामा नेपाली जमुनाह नाका भएर स्वदेश फर्किन थालेका छन् ।
नेपालगञ्जको जमुनाह नाका भएर हिजोआज दैनिक १५ सयभन्दा बढी नेपाली स्वदेश फर्किरहेको जमुनाह प्रहरीले जनाएको छ ।
दशैं तिहारजस्ता महत्वपूर्ण चाडपर्व नजिकिएसँगै रोजगारीको शिलशिलामा भारतका विभिन्न शहर पुगेका नेपाली चाडपर्व मनाउन स्वदेश फर्किने क्रम केहीदिनयता अत्याधिक बढेको जमुनाह प्रहरीका इन्चार्ज पूर्ण खत्रीले बतानुभयो ।
ती मध्ये अधिकांश लुम्बिनी तथा कर्णाली प्रदेशका विभिन्न पहाडी जिल्लाका युवा रहेको इन्चार्ज खत्रीले बताउनुभयो ।आफ्नो देशमा काम नपाएपछि रोजीरोटीका लागि ठूलो संख्यामा यस क्षेत्रका नेपाली युवा भारत जाने गरेका छन् । मौसमी रुपमा भारत जानेहरु महत्वपूर्ण चाडपर्व र खेतीपातीको समयमा भने स्वदेश फर्किने गर्छन् ।
अहिले उनीहरुसंगै कोरोना पनि भित्रिने आशङ्का रहेकोले नाकामा रहेको स्वास्थ्य डेस्कमा ज्वरो चेकजाँच गर्ने तथा शङ्का लागेमा वा ज्वरो देखिएका एन्टिजेन परीक्षणमार्फत कोरोना जाँच गर्ने गरिएको छ ।
नेपालीहरु धेरै ठूलो संख्यामा फर्किरहेकोले नाकामा स्वास्थ्य चेकजाँचमा निकै समस्या भैरहेको नाकास्थित स्वास्थ्य केन्द्रले जनाएको छ ।
उता, स्वदेश फर्किदै गरेका नेपालीलाई नाकामा भारतीय तथा नेपाली सुरक्षाकर्मीबाट दुर्व्यवहारसँगै रकम असुली लगायत अनावश्यक झमेला बेहोर्नुपरेको गुसानो पनि फर्किनेहरुले सुनाउने गरेका छन् ।
भारतीय सुरक्षा बल एसएसवी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले चेकजाँचका नाममा कहिले काँही रकम समेत असुल्ने गरेको उनीहरुको दुखेसो छ ।
तर प्रहरीले भने उनीहरुको सहजयात्राका लागि आफुहरुले सहजीकरण गर्दै आएको जनाएको छ । जमुनाह प्रहरीका इन्चार्ज खत्रीका अनुसार नाकास्थित प्रहरीले कुनै प्रकारको रकम असुली नगरेको बरु सहजीकरण गरेर सुरक्षित आउन दिएको बताउनुभयो ।
उहाँले केही रिक्साचालकहरुले भने उनीहरुलाई ठग्ने गरेको र धेरै बढी भाडा असुली गर्ने गरेको गुनासो भने आउने गरेकोले सो बारेमा पनि प्रहरीले निगरानी गरेको बताउनुभयो ।
भारतबाट फर्किएका नागरिकलाई गन्तव्यसम्म पुर्याउनेदेखि उनीहरुको गुनासो सम्वोधनका लागि जमुनाह नाकामा तत्काल नागरिक सहायता कक्ष सञ्चालनको तयारी  भइरहेको जमुनाह प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?