logo
२०८० चैत्र १६ शुक्रवार



नेकपा (एस)को कमिटी विस्तार, तत्कालीन कार्ययोजना २०७८ पारित

फिचर |


नेकपा (एस)को कमिटी विस्तार, तत्कालीन कार्ययोजना २०७८ पारित


गोरखापत्र अनलाइन
काठमाडौं, असोज ७ गते । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा मंगलबारदेखि जारी केन्द्रिय कमिटी बैठक बिहीबार दिउँसो सम्पन्न भएको छ । बैठकले तीन सय एक सदस्यीय केन्द्रीय कमिटी गठन गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।

यसैगरी ७१ सदस्यीय पोलिट्ब्यूरो र ३५ सदस्यको स्थायी कमिटी गठन गरिएको प्रवक्ता समेत रहनुभएका खतिवडाले जानकारी दिनुभयो । सो दलको अध्यक्षमा माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नेता मुकुन्द न्यौपाने, सात उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथप्रसाद शाह र जयन्ती राई चयन हुनुभएको उहाँले बताउनुभयो ।

महासचिवमा वेदुराम भुषाल, उपमहासचिवहरुमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल चयन हुनुभएको छ । सचिवहरुमा नागेन्द्रप्रसाद चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्री चयन हुनुभएको सो दलले जनाएको छ ।

नेकपा (एस) को केन्द्रीय कमिटीमा सात उपाध्यक्ष भएपनि वडा तहसम्मको स्थानीय तहको कमिटीमा दुई उपाध्यक्ष रहने व्यवस्था मिलाइएको खतिवडाले बताउनुभयो । सो दलले केन्द्रीय परिषद् गठन गर्ने निर्णय गरिएको र यसमा प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रबाट कम्तिमा एक जना प्रतिनिधित्व हुनेगरी र केन्द्रीय आयोग विभाग र जनसंगठन विभागको आवश्यक प्रतिनिधित्व हुनेगरी सात सय एक सदस्य रहने निर्णय गरिएको उहाँले बताउनुभयो ।

सो दलको तीनवटा आयोगमा अनुशासन आयोग, निर्वाचन आयोग र केन्द्रीय लेखा आयोग रहने निर्णय गरेको छ । आयोगमा ३५ सदस्य रहने निर्णय गरेको छ । विषयगत विभागमा २५ सदस्य र केन्द्रीय सल्लाहकार एक सय ५१ सदस्य रहने व्यवस्था सो दलको बैठकले निर्णय गरेको छ ।

अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई अहिलेको अवस्थामा राष्ट्रहित अनकुलमा नभएको निष्कर्ष निकाल्दै सो दलले एमसीसीलाई राष्ट्रहित अनुकूल बनाई राष्ट्रिय र राजनीतिक सहमतिबाट मात्रै अगाडि बढाउन सकिने निर्णय गरेको प्रवक्ता खतिवडाले बताउनुभयो ।

जनताको बहुदली जनवाद (जबज) को मूल्य र मान्यतालाई आत्मसात् गर्दै अघि बढ्ने विषयमा बैठकमा छलफल भएको उहाँले बताउनुभयो । समग्रमा वर्तमान अवस्थामा देशको कम्युनिष्ट आन्दोलनको सत्य, तथ्य अवस्था अध्ययन गरी वामपन्थी शक्तिको एकताको पक्षमा पनि बैठकमा छलफल भई निष्कर्ष निकालिएको खतिवडाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?