logo
२०८० चैत्र १५ बिहीवार



अफगानिस्तानका शिक्षिकाहरु आफ्नो भविष्यका बारेमा चिन्तित

अन्तर्राष्ट्रिय |


अफगानिस्तानका शिक्षिकाहरु आफ्नो भविष्यका बारेमा चिन्तित


काबुल, असोज ४ गते । अफगानिस्तानका शिक्षिकाहरु आफ्नो भविष्यका बारेमा चिन्तित भएका छन् । शैक्षिक विषयमा अफगानिस्तानको तालिवान सरकारले तय गरेका नीतिहरुका कारण उनीहरु चिन्तित भएका हुन् ।

शिक्षा मन्त्रालयले छात्र र पुरुष शिक्षकहरुलाई मात्रै विद्यालय आउन सूचना जारी गरेपछि आफूहरु चिन्तित भएको शिक्षिकाहरुले बताएका छन् । मन्त्रालयले आइतबारदेखि लागू हुनेगरी कक्षा ७ देखि १२ सम्मका छात्र र पुरुष शिक्षकहरुलाई मात्रै विद्यालय जान सूचना जारी गरेको छ ।

सूचनामा हजारौँ छात्राको पढाइ तथा भविष्यका बारेमा केही उल्लेख नगरिएको पनि स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । साथै सूचनामा उनीहरुलाई कुनै निर्देशन नभएको भन्दै शिक्षिकाहरु चिन्तित भएको समाचारमा जनाइएको छ ।

शिक्षिकाहरुले आफूहरु परिवारमा निर्भर हुनुपर्दा पीडा महसुस भइरहेको बताएका छन् । राजधानी काबुलस्थित एक विद्यालयमा पस्तो भाषा विषय अध्यापन गराउने एक शिक्षिकाले आफूलाई विद्यालयले नबोलाएको बताउनुभयो ।

विद्यालय फर्किने बारेमा आफूहरुलाई कुनै सूचना छैन, कुनै जानकारी नहुँदा अन्याेल सृजना भएको छ, उहाँले भन्नुभयो । उहाँले विद्यालयमा गएर अध्यापन गराउन नपाउँदा आर्थिक सङ्कटसँगै मनोवैज्ञानिक समस्या उत्पन्न भएको बताउनुभयो ।

उहाँको जस्तै अरु धेरै शिक्षिकाहरुको समस्या र गुनासो पनि उस्तै रहेको समाचारमा जनाइएको छ । संयुक्त राष्ट्रसङ्घीय निकाय युनिसेफ र युनेस्कोले पछिल्लो दुई दशकमा अफगानिस्तानको शिक्षाक्षेत्रमा धेरै उपलब्धि भएको जनाएका छन् ।

सन् २००१ देखि यता महिला साक्षरता दरमा पनि ठूलो वृद्धि भएको युनेस्कोको प्रतिवेदनमा उल्लेख गरिएको छ । सुरुमा महिला साक्षरता दर १७ प्रतिशत रहेकोमा अहिले ३० प्रतिशत पुगेको युनेस्कोले जनाएको छ ।

त्यसैगरी विद्यालय जाने छात्राहरुको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको युनेस्कोका अधिकारीहरुले बताएका छन् । सन् २००१ मा उच्च शिक्षामा सहभागी छात्राहरुको सङ्ख्या पाँच हजार रहेकोमा सन् २०१८ मा ९० हजार पुगेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?