logo
२०८० चैत्र १५ बिहीवार



कर्मचारीहरुले सदैव देश जनताको पक्षमा काम गर्नुपर्छः अध्यक्ष ओली

राष्ट्रिय |


कर्मचारीहरुले सदैव देश जनताको पक्षमा काम गर्नुपर्छः अध्यक्ष ओली


गोरखापत्र अनलाइन
काठमाडौं, असोज २ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संगठन ‘नियत’बाट नभई ‘नीति र कर्तव्य’बाट निर्देशित हुनुपर्ने बताउनुभएको छ । नेपाल निजामति कर्मचारी संगठनको शनिबार यहाँ आयोजित राष्ट्रिय भेलामा अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।

देशको स्थायी सरकार कर्मचारी भएकाले सदैव देश जनताको पक्षमा काम गर्न तत्पर हुनुपर्ने अध्यक्ष ओलीले बताउनुभयो । “कर्मचारीले देश र जनताको पक्षमा कर्तव्य निष्ठाका साथ काम गर्नुपर्छ, कुन सरकार छ भन्ने सोच्नु हुँदैन” उहाँले भन्नुभयो । कर्मचारीलाई राष्ट्रसेवकको हैसियत प्राप्त भएकाले सेवामा तल्लिन हुनुपर्छ उहाँले सुझाव दिनुभयो ।

कर्मचारी स्वच्छताको प्रतीक बन्नुपर्छ भन्नुहुँदै उहाँले भ्रष्टाचारजन्य काम आफूले पनि नगर्ने र अरुलाई पनि गर्न दिन नहुने उहाँले बताउनुभयो । “प्रधानमन्त्री हुँदा भनेको थिएँ ‘म आफू पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ’” उहाँले स्मरण गर्नुभयो ।

महासचिव ईश्वर पोखरेलले मुलुकको राजनीति दुई ध्रुवमा बाँडिएको र एउटा ध्रुवको नेतृत्व एमालेका अध्यक्ष ओलीले गर्नुभएको बताउनुभयो । एकताको पक्षमा उभिने एमालेको चरित्र भएकाले पार्टीबाट अलग भएका विग्रहको धार समाप्त भएर जाने उहाँले बताउनुभयो । नेता नेपाल पक्षले अलग पार्टी गठन गरेपनि धेरै नटिक्ने उहाँले दावी गर्नुभयो । कर्मचारी संगठनलाई थप सुदृढ बनाउन लाग्न उहाँले संगठनमा आवद्ध कर्मचारीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’, नेता लालबाबु पण्डित, महेश बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रबाट अलग भएका नेता बादल समूहका अम्बिका धमलासहितका कर्मचारीहरु एमाले निकट कर्मचारी संगठनमा समाहित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?