logo
२०८१ बैशाख ८ शनिवार



 बाजुरामा यातायात बन्द, खच्चर मार्फत खाद्यान्न ढुवानी 

फिचर |
प्रदेश |


 बाजुरामा यातायात बन्द, खच्चर मार्फत खाद्यान्न ढुवानी 


शेरबहहादुर सार्की
बाजुरा, भदौ २७ गते । गत जेठदेखि बाजुरामा लगातार परेको झरीका कारण सडकको ठाउँ-ठाउँमा पहिरो बग्न थालेपछि साँफे मार्तडी लोकमार्ग अझै सुचारु हुन सकेको छैन ।

लामो समयदेखि सडक सुचारु नहुँदा बाजुराका स्थानीयहरूलाई खाद्यान्न ढुवानी गर्नुका साथै आउजाउ गर्न निकै सास्ती खेप्दै आउनुपरेको छ ।

पहिरोले लोकमार्ग बन्द भएपछि सदरमुकाम मार्तडीका व्यापारीहरूले पहिलेझैँ खच्चरमा सामान ढुवानी गर्दै आएका छन् । व्यापारीहरूले यसरी खच्चर मार्फत सामान ढुवानी गर्दा उपभोक्ताहरू चर्को मूल्यमा सामान खरिद गर्न बाध्य भएका छन् । सडक पहिरोमा परिणत भएपछि यहाँका अधिकांश किसानले बारीमा उत्पादन गरेका तरकारी पनि बजारमा पुऱ्याउन पाएका छैनन् ।

बारीमा उत्पादन भएको तरकारी बेचेर यो वर्षको दसैँ खर्च गर्ने सोच बनाएको थिए तरकारी फल्यो तर अझै सडक सुचारु नहुँदा बजारमा पुऱ्याउन नसकेपछि अब के गरेर दसैँ मनाउने भन्ने चिन्ता लागेको खप्पतड छेडेदहका स्थानीय पदम रावतले बताउनुभयो ।
गत जेठ महिनाबाट अवरुद्ध बन्दै गएको साँफे-मार्तडी लोकमार्ग अहिले सम्म पनि खुल्न नसकेपछि बाजुराका स्थानीयवासिन्दालाई आवागमन गर्न निकै सास्ती खेप्नुपरेको स्थानीय प्रकाश नेपालीले बताउनुभयो ।

माथिबाट चट्टानसहितको  पहिरोले  लोकमार्ग  अवरुद्ध भएपछि विभिन्न मालवाहक ट्रक तथा मोटरसाइकल बेतालमाण्डौ, बल्देमै रोकिएको बूढीगङ्गा नगरपालिका –२ बल्देका स्थानीय व्यापारी बलबहादुर थापाले बताउनुभयो ।
लोकमार्गको  तलमाथि दुवै तिरबाट  पहिरो  खसेपछि सडक विभागले जेसीभी प्रयोग गर्दै आए पनि वर्षाका कारण सडक सुचारु हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बाढी पहिरोका कारण यो वर्ष बाजुराका सडक तहसनहस परेकोले त्यसलाई सफाइ गर्न प्रत्येक महिना स्काइभेटर प्रयोग गर्दै आएको भए पनि पानी पर्न नरोकिएपछि सडक सुचारु गर्न  निकै समस्या भएको सडक डिभिजन साँफेले जनाएको छ । 
पहिरोले लोकमार्ग अवरुद्ध सडक सुचारु गर्न भौतिक पूर्वाधार विकास तथा सडक डिभिजन साँफेलाई जानकारी गर्दै आएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?