logo
२०८१ बैशाख ८ शनिवार



वैकल्पिक सिकाइः ग्रामीण क्षेत्रमा रेडियो कक्षा विस्तार गरिँदै

फिचर |
पढ्नै पर्ने |


वैकल्पिक सिकाइः  ग्रामीण क्षेत्रमा रेडियो कक्षा विस्तार गरिँदै


प्रकाश सिलवाल
काठमाडौँ, भदौ २५ गते । कोभिड–१९ को जोखिमपछि वैकल्पिक सिकाइ प्रणालीअन्तर्गत सञ्चालित रेडियो कक्षाको प्रसारणलाई विस्तार गरिने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ग्रामीण क्षेत्रमा रेडियोको पहुँच र प्रभावकारिता शहरी क्षेत्रमा भन्दा बढी देखिएकाले विद्यालय पुनः सञ्चालन भएपछि पनि रेडियो कक्षालाई निरन्तरता दिन थालेको हो । वैकल्पिक सिकाइ प्रणालीमा ग्रामीण क्षेत्रमा अन्य माध्यमका तुलनामा रेडियो प्रभावकारी पाइएको विभिन्न अध्ययनले देखाएको छ । बिजुली, इन्टरनेट र टेलिभिजनजस्ता साधन नभएका स्थानमा सूचना र शिक्षाका रेडियो भरपर्दाे साधन सावित भएको छ ।

हाल कक्षा ६ देखि १० सम्मका अनिवार्य र विभिन्न विषयमा श्रव्य पाठहरु तयार गरी प्रसारण गराइएको छ । केन्द्रले बनाएको स्वअध्ययन पुस्तकमा रेडियो सुनेर विद्यार्थीलाई गृहकार्य गराउन सकिने स्रोत सामग्री उपलब्ध छ । केन्द्रले विद्यार्थीलाई रेडियो कक्षामा टिकाइराख्न एउटा रेडियो कक्षालाई १५ मिनेटको हुने गरी नाटकीकरण, संवादात्मक र रमाइलो बनाइएको छ । गुड नेवर्सले सरकारसँगको समन्वयमा हुम्ला, मुगु, नुवाकोटलगायत १२ जिल्लामा कक्षा ८ का १८६ विद्यार्थीमा गरेको सर्भेले ८१ प्रतिशत विद्यार्थी रेडियो कक्षामा सहभागी हुने गरेको पाइएको छ । सहभागी विद्यार्थीमध्ये २९ प्रतिशतमा अति प्रभावकारी र ६६ प्रतिशतमा प्रभावकारी भएको पाइएको छ ।

कोभिड–१९ पछि नेपाल सरकारले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचका आधारमा दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको माध्यमबाट प्रभावकारी र व्यवस्थितरूपमा सिकाइमा निरन्तरता दिन आग्रह गरेको थियो । मन्त्रालयले गत जेठ १८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरी सो वर्षको असार १ गतेदेखि अनिवार्य कार्यान्वयन गरेको थियो । निर्देशिकामा रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन, स्वअध्ययन तथा अफलाइनका माध्यमबाट सिकाउन सकिनेछ । सबै किसिमको प्रविधिको पहुँच भएका, रेडियो वा टेलिभिजनमा पहुँच भएका, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका र इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थीका समूहमा वर्गीकरण गरी उनीहरुलाई त्यही परिवेशअनुसारको सिकाइ निरन्तरता दिन भनिएको छ ।

सो केन्द्रलेले हाल रेडियो नेपाल, सामुदायिक रेडियो प्रसारक सङ्घ (एको-याव), कान्तिपुर एफएमलगायतसँग सहकार्य गरी विद्यालय तहका अनिवार्य विषयलाई प्राथमिकता दिइ यस्तो कक्षा सञ्चालन गर्दै आएको छ । एको¥याबमा आबद्ध दुईसय एक रेडियोमार्फत् बिहान १० देखि ११ बजे र साँझ ५ देखि ६ बजेसम्म कार्यक्रम प्रसारण हुँदै आएको छ । शिक्षण सिकाइमा रेडियोको पहुँच र प्रभावकारिताका सम्बन्धमा एको¥याबले सातै प्रदेशका १९२ शिक्षक, अभिभावक र विद्यार्थीमा गरेको पछिल्लो अध्ययनमा ८८ प्रतिशतलाई कार्यक्रम प्रसारण हुने समय उपयोगी लागेको देखिएको छ ।


केन्द्रका निर्देशक माधव दाहालले हाल कक्षा ९ र १० का अनिवार्य विषयलाई बढी जोड दिइएका श्रव्य कक्षाहरु छिट्टै कक्षा ६ देखि १२ विस्तार गरिने बताउनुभयो । उहाँले सानो खालको मोबाइलमा पनि रेडियो सुन्न सकिने भएकाले यो माध्यम वैकल्पिक स्थितिमा उचित भएको पाइएको जानकारी दिनुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो कक्षा प्रभावकारी भएको स्रोताको प्रतिक्रिया पाइएको बताउनुभयो । ‘दूरशिक्षाअन्तर्गत प्रसारित शैक्षिक कार्यक्रम र रेडियो नेपालको प्रसारणको प्रभावकारिता’ विषयमा त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र सङ्कायमा स्नातकोत्तर तहमा शोधपत्र बुझाएका निर्देशक केसीले विषयगत श्रव्य पाठको प्रसारणलाई निरन्तरता दिइने जनाउनुभयो । सन् २०१९ मा गरिएको सर्वेक्षणमा रेडियो नेपालको ८९ प्रतिशत नेपाली जनसङ्ख्यामा पहुँच रहेको देखाएको थियो । यो संस्थाका सातै प्रदेशमा २५ रिले स्टेशन र छ वटा प्रादेशिक प्रसारण छ ।

एको-यावका महासचिव किशोरजङ्ग थापा सामुदायिक रेडियोहरु स्रोताको रोजाइमा भएकाले यसमार्फत शिक्षा्ण सिकाइ पनि प्रभावकारी भएको बताउनुभयो । सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासङ्घका महासचिव गुणराज मोक्तानले रेडियोमार्फतको सिकाइलाई थप प्रभावकारी बनाउन अभिभावकको सक्रिय भूमिका र शिक्षकको सहजीकरण हुनुपर्नेमा जोड दिनुभयो ।

नेपालमा राष्ट्रिय प्रसारण रेडियो नेपालले प्रवेशिका उत्तीर्ण नभएमा शिक्षकका लागि विसं २०३७ देखि ‘रेडियो शिक्षक’ तालिम कार्यक्रम सञ्चालन, प्रवेशिका उत्तीर्ण भएका शिक्षकलाई घन्टे तालिम सञ्चालन र २०६२÷०६३ मा अनिवार्य विषयका लागि एसएलसी सहयोग कार्यक्रम (दूर तथा खुला) सञ्चालन गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?