logo
२०८१ बैशाख ७ शुक्रवार



पोखरामा बाढी र पहिरोको वितण्डा: चार जनाको मृत्यु, तीन बेपत्ता, पाँच घाइते

फिचर |
पढ्नै पर्ने |
प्रदेश |


पोखरामा बाढी र पहिरोको वितण्डा: चार जनाको मृत्यु, तीन बेपत्ता, पाँच घाइते


एकराज गिरी

पोखरा, भदौ १७ गते । पोखरा महानगरपालिकाका छुट्टाछुट्टै चार स्थानमा गएको पहिरोेमा पुरिएर चार जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । त्यस्तै पहिरो परेर पाँच जना घाइते भएका छन् । बुधवार साँझ परेको भीषण वर्षासँगै पोखरा महानगरपालिका वडा नम्बर २० भलामको र्यालेचौरमा गएको पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । त्यस्तै सोही वडाको मुलाबारीमा पहिरोले घर पुरिँदा दुई जना बेपत्ता रहेको पोखरा महानगर २० का अध्यक्ष सिम गुरुङले जानकारी दिनुभयो । त्यस्तै महानगरकै वडा नम्बर ११ को काहुँमा पहिरोले घर पुरिदा एक जनाको मृत्यु भएको छ ।

पोखरा २० भलाममा ब्लकले बनेको एक तले घर पहिरोले पुर्दा घरधनी ४५ वर्षीय कृष्णकुमार श्रेष्ठ, उहाँकी पत्नी ३५ वर्षीया सुनुमाया तामाङ श्रेष्ठको मृत्यु भएको छ । कृष्णकुमारको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा र सुनुमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठकै ९ वर्षीय छोरा राजकुमार श्रेष्ठको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने ३ वर्षीय छोरा सन्तोष श्रेष्ठ बेपत्ता भएका छन् ।

टाउकोमा चोट लागेका राजकुमारको उपचार भइरहेको र अवस्था मध्यम रहेको छ भने बेपत्ता सन्तोषको हाल खोजी कार्य भइरहेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुभाष हमालले जानकारी दिनुभयो । पोखरा २० भलामस्थित टाउके स्वारामाथिको जंगलबाट रैकर, गिधारी खोर हुँदै र्यालेचौरसम्म करिब सात सय मिटर क्षेत्रमा पहिरो खसेको कास्की प्रहरीले जनाएको छ । उक्तबाट स्थानीय कुलप्रसाद बास्तोलाको धन्सारमा पूर्ण क्षति पुगेको छ भने रामजी पौडेलको गोठ, तेजप्रसाद बास्तोलाको घर, कृष्णकुमार पौडेलको घर र चित्रबहादुर क्षेत्रीको गोठमा क्षति पुगेको कास्की प्रहरी प्रवक्ता हमालले बताउनुभयो ।

यता वर्षाकै कारण घर पछाडिबाट पहिरो आउँदा पोखरा १० रामबजारमा भन्ज्याङ नमुना टोलस्थित ४२ वर्षीय लक्ष्य नेपालीको ब्लकले बनेको घर भत्कँदा नेपालीको मृत्यु भएको छ।

घटनापछि नेपालीलाई उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा लागिएकोमा राति १ः२८ मा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता, डिएसपी  हमालले जानकारी दिनुभयो । घटनामा नेपालीकी १४ वर्षीया छोरी सृष्टि नेपाली घाइते भई मणिपालमा उपचार भएकोमा बिहान ५ बजे डिस्चार्ज भएको प्रवक्ता हमालले बताउनुभयो। नेपालीकी श्रीमती र २ छोराहरूलाई सकुशल उद्धार गरी पोखरा ११ फूलबारीस्थित मामाको घरमा पठाइएको प्रहरीले जनाएको छ । यता पोखरा ११ बसेरीका एकदेव तिमिल्सिना, उहाँकी श्रीमती ३८ वर्षीया रितु तिमिल्सिना र छोरा १९ वर्षीय गिरीष तिमिल्सिना घाइते भएको प्रहरीले जनाएको छ । पहिरोमा परि पोखरा ११ बसेरीमा एक घर पुरिदा एकदेव तिमिल्सिना, उहाँकै श्रीमती रितु र शिरिष तिमिल्सिना घाइते हुनुभएको छ ।

बाढी र पहिरोले पोखरा महानगर ११ फूलबारीमा पहिरोले आठ घर जोखिममा परेका छन् भने एक जना घाइते हुनुभएको छ । पहिरोले घरको केही भाग पुरिँदा भाग्न खोज्दा रित तिमिल्सिना घाइते हुनुभएको पोखरा ११ का अध्यक्ष मोहनप्रसाद बास्तोलाले जानकारी दिनुभयो । राती ११ बजेर ४० मिनेटमा पहिरो आएको स्थानीय सीता कनोजले जानकारी दिनुभयो । पहिरोले आठ घर जोखिममा रहेको उहाँले बताउनुभयो ।

यस्तै अविरल वर्षाका कारण पोखरा महानगर वडा नम्बर ३ मा तीन वटा पक्की घर भासिएका छन् । पोखराको नदीपुरको सडक छेउमा रहेका पक्की घर भासिएको वडा अध्यक्ष रवीन्द्रबहादुर प्रजुले जानकारी दिनुभयो । छविलाल पुन, बलबहादुर पुन र देउबहादुर पुनको घर भासिएको हो । राती ११ बजे घर भासिएको थियो भने मानवीय क्षति नभएको कास्की प्रहरीले जनाएको छ । यसैबिच पोखराका विभिन्न ठाउँमा गएको बाढी र पहिरोको क्षति बारे पोखरामा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले स्थलगत जानकारी लिनुभएको छ । बिहीबार बिहानै उपप्रमुख गुरुङ भलामको र्यालेचौर, पोखरा ११ फूलबारी र पोखरा ३ नदीपुरमा पुगेर त्यहाँको अवस्था बारे जानकारी लिनुभएको थियो । बाढी र पहिरोबाट क्षति पुगेका परिवारलाई महानगरले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?