logo
२०८० चैत्र १५ बिहीवार



महामारी नियन्त्रण कार्ययोजना (सम्पादकीय)

विचार/दृष्टिकोण |




कोरोना महामारी नियन्त्रण अहिलेको मुख्य विषय हो । सरकारको प्राथमिकतामा पनि महामारी नियन्त्रण नै रहेको छ । सरकारले असोज मसान्तसम्ममा एक तिहाइ र चैत मसान्तसम्ममा सम्पूर्ण नागरिकलाई खोप लगाइसक्ने योजना सार्वजनिक गरेको छ । यसै क्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार ‘सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणसम्बन्धी २३ बुँदे नीतिगत प्रतिबद्धता र कार्ययोजना’ सार्वजनिक गर्नुभयो ।
कोभिड–१९ विरुद्ध लड्न खोप नै पहिलो सर्त हो । विगत डेढ वर्षदेखि फैलिएको महामारी नियन्त्रण गरी जनजीवन सहजीकरण र सामान्यीकरण गर्न खोप अति आवश्यक छ । महामारी सुरु भएयता सरकारको प्राथमिकतामा नियन्त्रण तथा खोपको उपलब्धता नै पर्दै आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म ९७ लाख ८२ हजार मात्रा खोप प्राप्त भइसकेको छ । यसमध्ये १० लाख मात्रा कोभिसिल्ड र ४० लाख मात्रा भेरोसेल खरिद गरिएको हो । हालसम्म प्राप्त खोपमध्ये १५ लाख ३४ हजार मात्रा जोन्सन खोप छ, जुन एक मात्रा लगाए पुग्छ । सरकारले असोज मसान्तसम्ममा एक करोड दुई लाख मात्रा र माघसम्ममा थप तीन करोड २३ लाख मात्रा आउने जनाएको छ । यसैमा बालबालिकाका लागि ६० लाख फाइजर खोप खरिद गर्ने लक्ष्य छ । यो हिसाबले माघसम्ममा पाँच करोड २२ लाख ८२ हजार मात्रा खोप प्राप्त हुनेछ । योमध्ये एक करोड ३० लाख मात्रा खरिद गरिने भएको हो । ४० लाख मात्रा मोडर्ना खोप खरिदवापतको रकम विश्व बैङ्कमार्फत भुक्तानी भइसकेको छ भने कोभ्याक्स, गाभीअन्तर्गत लागत सहभागितामा एक करोड ३० लाख मात्रा आउने अपेक्षा गरिएको छ । बाँकी खोप अनुदानमा प्राप्त हुनेछ । हालसम्म करिब ४२ लाखले पहिलो मात्रा र १२ लाखले दोस्रो मात्रा लगाइसकेका छन् । यसबाहेक एक मात्रा मात्रै लगाए पुग्ने जोन्सन खोप आठ लाखभन्दा बढीलाई लगाइसकिएको छ । पूर्ण मात्रा लगाउनेको सङ्ख्या २० लाखभन्दा बढी छ ।

कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या अपेक्षित रूपमा घट्न सकेको छैन । झण्डै डेढ महिनायता दैनिक तीन हजारको हाराहारीमा नयाँ सङ्क्रमित थपिइरहेका छन् । लामो समयदेखि सङ्क्रमण दर २०÷२२ प्रतिशतको हाराहारीमै रहँदै आएको छ जब कि भारतमा सङ्क्रमितको सङ्ख्या पाँच प्रतिशत मात्रै छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३२ हजार नाघेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरलगायत १४ जिल्लामा उपचार गराइरहेका सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा बढी छ । २१ जिल्लामा दुई सयभन्दा बढी सङ्क्रमित छन् । निषेधाज्ञा खुकुलो बनाइएको र नागरिकले स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याइँ गरेका कारण फेरि सङ्क्रमितको सङ्ख्या बढ्ने चिन्ता थपिएको छ । अहिले सङ्क्रमित भएर अस्पताल आउनेको सङ्ख्या दिनहुँ बढिरहेको र अस्पतालका शøया भरिन थालेका छन् । यसले नेपालमा कोरोना महामारीको तेस्रो लहर सुरु हुन लागेको सङ्केत गर्छ । खोप लगाउने काम व्यापक बनाइएको छ तर खोप केन्द्र अव्यवस्थित छन् र खोप वितरणमा चरम लापरबाही देखिएको छ । यहीँबाट सङ्क्रमण फैलनसक्ने देखिएको छ ।

स्वास्थ्य राज्यमन्त्रीको कार्ययोजनाले महामारी नियन्त्रणको आगामी कदमबारे स्पष्ट पार्छ । महामारी नियन्त्रणमा महìवपूर्ण मानिएको खोपको आवश्यक मात्रा प्राप्त गर्न भने निकै चुनौतीपूर्ण छ । चार करोड २५ लाख मात्रा खोप हात परिसकेको छैन । रकम तिरिसकेको खोप दिन भारतीय कम्पनीले इन्कार गरेको उदाहरण ताजै छ । खरिद गरिने वा अनुदान र कोभ्याक्स सुविधाअन्तर्गत आउने खोप समयमै प्राप्त गर्न कूूटनीतिक माध्यमलाई सक्रिय बनाउन आवश्यक छ । खोपले मात्रै सङ्क्रमण रोक्दैन । खोप लगाए पनि स्वास्थ्य मापदण्ड पालनामा जनचेतना फैलाउने, कडाइ गर्ने र नागरिकलाई सचेत बनाउने काम सँगसँगै अगाडि बढाउनुपर्छ । परीक्षणलाई व्यापक बनाउनुका साथै सम्भावित तेस्रो लहरसँग जुध्न अस्पताल श-या, अक्सिजन, औषधि उपकरणको प्रबन्ध गर्नेतर्फ सम्बद्ध निकायको समयमै ध्यान जानुपर्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?