logo
२०८१ बैशाख ८ शनिवार



एमाले स्थायी कमिटी बैठकमा नेताहरुको व्रिफिङ, भोलि बस्ने बैठक निर्णायक हुने

फिचर |
राष्ट्रिय |


एमाले स्थायी कमिटी बैठकमा नेताहरुको व्रिफिङ, भोलि बस्ने बैठक निर्णायक हुने


गोरखापत्र अनलाइन
काठमाडौं, साउन १६ गते । नेकपा (एमाले) को आन्तरिक विवाद समाधान हुन नसकेपछि भोलि आइतबार बस्ने स्थायी कमिटी बैठकले ठोस निर्णय गर्ने भएको छ । नेता माधवकुमार नेपाल पक्ष सहमतिमा आउन तयार नभएपछि एमालेले सो पक्षलाई छाडेर अघि बढ्ने निस्कर्षमा पुगेको हो ।

आज ३ बजे बसेको स्थायी कमिटी बैठकमा विघटित कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले अहिलेसम्म पार्टीको आन्तरिक समस्या समाधानको प्रयास र प्रगतिबारे बैठकमा व्रिफिङ गर्नुभएको थियो । नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पद त्यागेमा मात्र आफू एमालेसँग एक भएर जाने बटमलाइन सुनाउनु भएपछि पार्टीको आन्तरिक विवाद अब नसल्टिने करिब पक्का भएको छ । यद्यपि भोलिको बैठक अघिसम्म सहमतिको प्रयास जारी राख्ने नेता नेम्वाङले बताउनुभयो ।

बैठक भोलि आइतबार ३ बजेकालागि पुनः बोलाइएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो । आज करिब पौने घण्टा चलेको स्थायी कमिटी बैठकमा पार्टीको आन्तरिक विवाद समाधानकै विषयमा केन्द्रित भएर छलफल भएको नेता तामाङले जानकारी दिनुभयो । बैठकको तीन वटा प्रमुख एजेण्डा तय गरिएको भएपनि त्यस विषयमा छलफल हुन नसकेको उहाँले जानकारी दिनुभयो ।

नेता नेपालले एमाले पार्टीबाट अलग हुने निर्णय विघटित कार्यदलका सदस्यहरुलाई सुनाउनु भएपछि पार्टी एकताको सम्भावना करिब सकिएको विघटित कार्यदलका सदस्यहरुले बैठकमा ब्रिफिङ गर्नुभएको थियो । नेता नेपालले अलग पार्टी खोल्ने तयारी गर्नुभएपछि सो पक्षबाट कार्यदलमा रहेका सदस्यहरुले पनि आफ्नो कित्ता आज साँझसम्म क्लियर गर्ने तयारीमा रहनुभएको नेता तामाङले बताउनुभयो ।

माधव पक्षबाट कार्यदलको संयोजक रहनुभएका भीमबहादुर रावल, सदस्यहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीमप्रसाद आचार्य, घनश्याम भुषाल, नेता योगेश भट्टराई लगायतले एमाले पार्टी फुटको अवस्थामा पुगेमा एमाले नछाड्ने बताइसक्नुभएको छ । पार्टी उपाध्यक्ष बामदेव गौतम आन्तरिक रुपमा छलफलमा रहनु भए पनि एकता प्रयासमा निस्क्रिय देखिनुभएको छ । उहाँले पनि मूल पार्टीमा बस्ने कि नेता नेपालको पार्टीमा जाने विषयमा भोलिसम्म निर्णय लिनुहुने एमाले स्रोतले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?