logo
२०८० चैत्र १५ बिहीवार

  सीसीएमसी बैठक  



क्यूआर कोडसहितको खोप प्रमाणीकरण कार्ड लागू गर्न प्रमको निर्देशन

मुख्य समाचार |


क्यूआर कोडसहितको खोप प्रमाणीकरण कार्ड लागू गर्न प्रमको निर्देशन



दीपक श्रेष्ठ
काठमाडौँ, साउन १५ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले क्यूआर कोडसहितको कोरोना खोप प्रमाणीकरण कार्ड लागू गर्न निर्देशन दिनुभएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले क्यूआर कोडसहितको खोप प्रमाणीकरण कार्ड प्रयोगमा ल्याउन निर्देशन दिनुभएको हो । कतिपय मुलुकमा कागजी प्रमाणीकरणलाई मान्यता नदिएकाले क्यूआर कोडसहितको खोप प्रमाणीकरण कार्ड प्रयोगमा ल्याउन आवश्यक भएको सीसीएमसीका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री देउवाले जोड दिनुभयो । सहसचिव तथा सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले केही दिनबाट नै खोप प्रमाणीकरण कार्डमा क्यूआर कोड प्रयोगमा ल्याइने जानकारी दिनुभयो । विदेश जाने श्रमिकले टेकुसहितका चार अस्पतालबाट कोरोनाको खोप प्रमाणीकरण कार्ड लिइरहेका छन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले कोभिडको तेस्रो लहर आउनसक्ने आंकलन गरिएको र यसको सफलतापूर्वक व्यवस्थापन गरेर नागरिकको सुरक्षा गर्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिनुभयो । उहाँले यो नियमित बैठक भएको र प्रधानमन्त्री देउवा आफैँ उपस्थित भएर कोरोना नियन्त्रणलाई उच्च प्राथमिकता दिनुभएको बताउनुभयो । उहाँले तत्काल लकडाउनमा जाने विषयमा कुनै तयारी नरहेको समेत स्पष्ट पार्नुभयो । उहाँले सरकारी कार्यालयबाट प्रदान गरिने सेवालाई सामाजिक दूरीसाथ व्यवस्थित गर्ने कार्य केही दिनपछि नै गरिने विश्वास व्यक्त गर्नुभयो ।
पुनः स्मार्ट लकडाउन प्रस्ताव
कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्दै जाँदा स्वास्थ्य मन्त्रालयले पुनः स्मार्ट लकडाउन गर्नुपर्ने प्रस्ताव अगाडि सारेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा मन्त्रालयले यस्तो प्रस्ताव अगाडि सारेको हो । सहसचिव तथा सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले कोरोना सङ्क्रमण बढ्दै गएको परिस्थितिमा पुनः ‘स्मार्ट लकडाउन’मा जानुपर्ने प्रस्ताव आए पनि त्यस सम्बन्धमा कुनै निर्णय नभएको जानकारी दिनुभयो । उहाँका अनुसार, मुलुकभर एकै खालको बन्दाबन्दी नगरी सङ्क्रमणका आधारमा क्षेत्र विभाजन गरी स्मार्ट बन्दाबन्दीमा जानुपर्ने सुझाव प्राप्त भएको छ । सोहीअनुसार जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले प्रभावित स्थानमा मात्र ‘स्मार्ट लकडाउन’ गर्न सक्ने भएका छन् । सो अवधारणाअनुसार एमसीसीको बैठकले टुङ्गो लगाइने प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?