logo
२०८० चैत्र १५ बिहीवार



प्रहरी नियामावली २०७१ संशोधनको प्रस्ताव अन्तिम चरणमा

फिचर |
खुला |


प्रहरी नियामावली २०७१ संशोधनको प्रस्ताव अन्तिम चरणमा
फाइल तस्बिर


देवबहादुर कुँवर
काठमाडौँ, साउन १५ गते । नेपाल प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न प्रहरी नियामावली २०७१ संशोधनको प्रस्ताव अन्तिम चरणमा पुगेको छ । यो प्रस्ताव तल्लो दर्जाका प्रहरी कर्मचारीका लागि लाभदायिक हुने अपेक्षा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार यो नियमावलीले प्रहरीको तल्लो तहको दर्जा ‘फालोर्स’ देखि प्रहरी नायव निरीक्षक (सई) सम्मलाई सम्बोधन गरेको छ । कार्यालय सहयोगी एवं फालोर्सलगायत श्रेणी विहीनलाई एकतहदेखि चौथोतहसम्म पदोन्नतिको ब्यवस्था गरेको छ ।

चौथो तहको कार्यालय सहयोगी एवं फालोर्सहरुले नायव सुब्बा सरहको तलव सेवा सुविधा पाउने छन् । सो दर्जालाई पनि सिनियर (वरिष्ठ) तथा जुनियर (कनिष्ठ) तहमा विभाजन गर्दा कामकारबाही तथा कमाण्डमा सहयोग पुग्ने देखिन्छ ।

त्यस्तै, प्रहरी हवल्दार दर्जालाई पनि वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार गरी तीन तहमा विभाजन गरिएको छ । वरिष्ठमा करीव एक हजार पाँचसय, हवल्दारमा पाँचहजार र सहायकमा १५ हजार हवल्दार रहने व्यवस्था गरिएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार, हवल्दारहरुको तह अनुसार बरिष्ठलाई एउटा रेखाले छुट्याएको तीन धर्का, हवल्दारलाई तीन धर्का र सहायकलाई एकधर्का अंकीत चिह्न भएको ‘विल्ला’ हुने छ । बरिष्ठ हवल्दारले संगठनभित्र ‘हवल्दार मेजर’ को कमाण्ड गर्ने छ ।

हवल्दार दर्जा विभाजनले ‘चेन अफ कमाण्ड’ पनि प्रभावकारी बन्ने अपेक्षा गरिएको छ । बरिष्ठ हवल्दारको कमाण्डमा नौजना, हवल्दारको कमाण्डमा सात जना र सहायक हवल्दारले चारजना सिपाहीको कमाण्ड गर्ने छन् ।
बरिष्ठ हवल्दारले निजामति सेवा अन्तरगत सुब्बा सरहको सेवासुविधा पाउने छन् । बरिष्ठ प्रहरी हवल्दार (बपह) र सहायक हवल्दारलाई (सपह) भनेर छुट्याइएको छ ।

त्यस्तैं, प्रहरी नायव निरीक्षक ( प्रनानी–सई ) दर्जालाई दुई श्रेणीमा विभाजन गरी बरिष्ठ नायव निरीक्षक र नायव निरीक्षक बनाइएको छ । बरिष्ठ नायव निरीक्षकहरुले अधिकृत (निजामति सेवा अन्तरगत तृतीय श्रेणी ) सरहको सेवा सुविधा पाउने छन् ।

प्रहरी बरिष्ठ नायव निरीक्षक तहको लागि तीन तारा, नायव निरीक्षकको दुई तारा र सहायक निरीक्षकको एकतारा रहेको ‘फूली’ को व्यवस्था गरिएको छ । प्रहरीमा राजपत्र अनकिङ्त श्रेणी अन्तरगत प्रथम श्रेणीमा सई, द्धितीयमा असई, तृतीयमा प्रहरी हवल्दार र चर्तुथमा जवान राखिएको छ ।

नेपाल प्रहरीको फालोर्सदेखि प्रहरी नायव उपरीक्षक डिएसपी तहसम्मका लागि एउटै पदमा आठवर्षसम्म सेवा गरी अवकास लिनुभन्दा एक महिनाअघि एकतह पदोन्नति गरी दज्र्यानी चिन्ह समेत लगाई विदाई गर्ने व्यवस्था गरिएको छ ।

अवकास लिदा पदोन्नति भएको दर्जाको सेवासुविधा प्राप्त हुने छ । शंसोधित नियमावली गृह, अर्थ र कानुन मन्त्रालय हुदै पुनः गृह मन्त्रालयमा पुगेको छ । मन्त्रालयले पनि स्वीकृतिका लागि आवश्यक कानुनी प्रक्रिया पुरा भइसकेको जनाएको छ ।

शंसोधित प्रहरी नियमावलीले तल्लो तहका प्रहरी कर्मचारीमा देखिएको बृत्तिविकाससंग सम्वन्धी असन्तुष्टि हट्ने र संगठन छोड्ने क्रम घट्ने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?